अफगानिस्तानको काबुलमा सोमबार भएको आत्मघाती आक्रमणमा ज्यान गुमाएका १२ नेपालीको शव काठमाडौं ल्याइँदैछ।
नेपाल वायु सेवा निगमको विमान करिब दिउँसो ३ बजे काठमाडौं आइपुग्नेछ। परराष्ट्र मन्त्रालयका अनुसार उक्त विमानमा २४ नेपाली कामदार पनि घर फर्किएका छन्। सरकारले यसअघि नेपाल फर्कन चाहने नेपालीहरूलाई सम्पर्क गर्न भनेको थियो।
एयरबस ३२०–२३३ सो जहाजमा अफगानिस्तानबाट नेपाल फर्किन चाहने अन्य नेपालीलाई निःशुल्क ल्याउने व्यवस्था गरिएको थियो। पाकिस्तानका लागि कार्यवाहक नेपाली राजदूत तीर्थराज अर्यालले अफगानिस्तान पुगेर सो कार्यका लागि संयोजन गरिरहेका छन्।
यसैबीच काबुल आक्रमणमा घाइते भएका थप पाँच नेपालीलाई बुधबार भारतको नयाँदिल्ली लगिएको छ।
शव बुझ्दा प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री कमल थापा, मन्त्रीहरू र राजनीतिक दलका नेता तथा अन्य मृतकका आफन्त विमानस्थल जाने कार्यक्रम छ।
एयरपोर्टमा बिमान ल्याण्ड भएपछि मृतकहरूको शव पोष्ट मार्स्टमका लागि शिक्षण अस्पताल लगिने भएको छ। त्यसपछि सबैको शव ल्याएपछि मृतकका परिवारको इच्छाअनुसार काठमाडौँमा हस्तान्तरण गर्ने वा जिल्लामा पुर्यायाइदिने व्यवस्थासमेत गृह मन्त्रालयमार्फत भएको छ।