नेपाल र नेपालीको सम्बृद्धिकोे तगारो भनेको पहिलो भ्रष्ट राजनीतिक नेतृत्व र यसको कर्मचारीतन्त्र हो। राजनीति, सेवा, धर्म, व्यापार र व्यवसाय सबैतिर मौलाएको यो कर्मचारीतन्त्र नै भष्टाचारको जग हो। माथिको आदेश (चाकरी)बाट चल्ने यो संयन्त्रले भनसुन, चलखेल र आफ्ना मान्छेको मात्र भाषा बुझ्छ।
***
यसको एउटै वाद हुन्छ त्यो हो कृपावाद र यही नै हो भाग्यवादको सांस्कृतिक जड। यस्तो बिषबृक्षको जड नफालेसम्म आम नागरिकले महसुस गर्ने सम्बृद्धि देखाउने कुरा सोम शर्माको सपनामात्र हो। अहिलेको नयाँ शक्तिको ढाँचा हेर्दा यो प्रवृत्तिभन्दा धेरै भिन्न देखिँदैन।
अन्ततः बाबुराम भट्टराईको अभियान भनेर चिनिएको नयाँ शक्ति राजनीतिक पार्टीमा रुपान्तरण भएको छ। ‘अबको निकासः आर्थिक विकास’, सुन्दैमा सटिक र आकर्षक छ यो नयाँ पार्टीको नारा। अरु पुराना पार्टीभन्दा फरक देखाउन निकै कसरत भएको देखिन्छ खासगरी यो पार्टीको शब्द चयन। अहिलेका मूल प्रवाहका राजनीतिक पार्टीहरू र तिनको नेतृत्वले यो देशमा सुसाशन र सम्बृद्धि ल्याउन सक्छ भन्नेमा अब धेरैले विश्वास गर्न नसकेको अवस्थामा नयाँ शक्तिप्रतिको आकर्षण स्वाभाविक छ र यही कुरा बुझेर होला बाबुरामजी र उहाँका सहयोगीहरूलाई छुट्टै र छिट्टै नयाँ पार्टी बनाउने हतारो भएको। सँगै, राजनीतिक बृत्त तथा पुराना पार्टीहरूमा राजनीतिलाई संग्लो बनाउनुपर्ने आवश्यकताबारे सार्थक बहस नहुँदै त्यतैबाट पलायन भएका राजनीतिका पुरानै खेलाडीकोे तीब्र दबाबमा यो पार्टी बनाउने हतारो भएको छनक समेत देखिन्छ।
अहिले राजनीतिको बजारमा यसका बारे धेरै टिका–टिप्पणी सुरू भएका छन्। नकारात्मक रुपमा यो पार्टी गठनको तामझाम हेर्दा यो कुनै नयाँ शक्ति हुने छाँट देखिँदैन भन्ने धेरै नै छन्। विज्ञापनदेखि नै बाबुरामजीलाई एक्लो वृहस्पतिको रुपमा प्रस्तुत यो पुरानै व्यक्तिवादी तथा चमत्कारिक राजनीतिमा विश्वास गर्छ भन्ने कुरा देखाइँदैछ। राजनीतिका सबै पुराना खेलाडीको आर्शीवाद थापेर स्थापना भएको यो पार्टी ढिलोचाँडो पुरानै शक्तिपिठको भक्त हुन आतुर देखिन्छ है भन्नेको पनि कमी छैन।
हुन त यसका अगुवाहरूले सदियौंदेखि उत्पीडन झेलेका लाखौं दलित, आदिवासी, जनजाति तथा सीमान्तकृतको साथ पाउने आस गरेका छन् तर के बिर्सेका छन् भने यसले बाँड्दै गरेको सम्बृद्धिको सपनाभित्र यी समुदाय अटाउँदैनन्। साथै कतिपय यसका नेताहरू तिनै समुदायको अधिकारको लडाइँ लडेको इतिहास भजाएर नयाँ शक्तिका भण्डारे हुने सपना बोकेर तँछाडमछाड गरेका छन् भनेर यसलाई कुरीकुरी गर्नेको पनि कमी छैन।
त्यस्तै, यो विदेशमा रहेका, सहरिया, उपरितहका केही बुर्जुवा वर्ग जसले सामाजिक सञ्जालमार्फत राजनीतिका चियापसले गफबाट संसार परिवर्तनको डिङ हाँक्छन् उनीहरूलाई गफगाफ गर्ने केही मसला मिलेको छ। साथै यो पुराना पार्टीहरूका संस्थापनबाट प्रताडितहरूका लागि एकछिनको बिसौनी र धारेहात लगाउने थलो बनेको छ। त्योभन्दा माथि यसका केही नेताहरू पार्टी राजनीतिलाई मह काड्न सके हात चाट्न पाइने उपयुक्त थलो ठान्ने लोभी लालचीहरू छन् भन्नेको पनि ठूलै धुइरो छ।
नयाँ शक्तिको बहस, अभियान र पार्टी बनिसक्दा पनि धेरै खैरो पक्षहरू बाँकी नै छन्। हेरौं यसका केही खैरा पक्ष।
मैले केही पहिले पनि एउटा लेखमा चर्चा गरेको थिएँ। नेपाल र नेपालीको सम्बृद्धिकोे तगारो भनेको पहिलो भ्रष्ट राजनीतिक नेतृत्व र यसको कर्मचारीतन्त्र हो। राजनिति, सेवा, धर्म, व्यापार र व्यवसाय सबैतिर मौलाएको यो कर्मचारीतन्त्र नै भष्टाचारको जग हो। माथिको आदेश (चाकरी)बाट चल्ने यो संयन्त्रले भनसुन, चलखेल र आफ्ना मान्छेको मात्र भाषा बुझ्छ। यसको एउटै वाद हुन्छ त्यो हो कृपावाद र यही नै हो भाग्यवादको सांस्कृतिक जड। यस्तो बिषबृक्षको जड नफालेसम्म आम नागरिकले महसुस गर्ने सम्बृद्धि देखाउने कुरा सोम शर्माको सपनामात्र हो। अहिलेको नयाँ शक्तिको ढाँचा हेर्दा यो प्रवृत्तिभन्दा धेरै भिन्न देखिँदैन।
कर्मचारीतन्त्रको पुनर्गठनको उदाहरणीय प्रस्तुतिबिना भष्टाचारविरूद्धको लोकपाल, लोकलाज छोप्ने सैद्धान्तिक अस्त्र भन्न त सकिएला तर व्यवहारमा भने यो हजुरबाको लगौटीजस्तो हुन्छ, लगाउनु भएको छ र पनि छेक्देैन। यसका बारेमा नयाँ शक्ति केही बोलेको सुनिएको छैन। यसले के देखाउँछ भने नयाँ शक्ति पनि पुराना पार्टीहरूले जस्तै यही कर्मचारीतन्त्रबाटै आफ्नो भाग्य अजमाउन चाहन्छ।
नयाँ शक्तिले भनेझैं अहिलेसम्म भएका सकारात्मक परिर्वतनलाई संस्थागत गर्दै नयाँ युगको थालनी गर्न भने अब ढिला हँुदैछ। यसमा कुनै दुविधा छैन। तर जति ढिला भए पनि अहिलेको नेपाली समाजको समस्या र जटिलताको स्पष्ट चित्र र त्यसका आधारमा सम्बृद्धिको फराकिलो र दुरगामी दृष्टिकोणसहितकोे असल नियत भएको राजनीतिक नेतृत्व विकास गर्ने खाकाबिना यसको सुरुवातले हामीलाई धेरै पर पुर्याउँदैन। अहिलेसम्मका यसका अभिव्यक्ति, प्रस्तुत सोच र क्रियाकलाप हेर्दा यसतर्फ धेरै गम्भीर देखिँदैन।
बाबुरामजी आफैंको १८० डिग्रीको रुपान्तरण जुन आफैंमा विवादित छ। परम्परागत ढर्रामै हामीलाई ‘राम बनाइदेऊ, तिमीलाई रामराज्य दिउँला’ भन्नमै उद्दत देखिन्छ। उदाहरणका लागि २५ वर्षमा संसारकै धनी देश बनाउने कुरा गरेर अहिलेका धनी भनिएका देश कसरी धनी भएका हुन् भन्ने नै नबुझेजस्तो कुरा गरिएको छ, यो आफैंमा भ्रामक छ। विकास र सम्बृद्धिलाई गोलमटोल रुपमा प्रस्तुत गरिएको छ। अहिलेको जस्तो धेरै आकांक्षा बोकेको विकासपथबाट आम नेपालीको सम्बृद्धि सम्भव छैन। हैन, नयाँ शक्तिको बाटो फरक छ भने त्यो के हो सबैले थाहा पाएको राम्रो हुन्थ्यो होला।
अर्को कुरा नेपालको सम्बृद्धिको जग के हो? बेला–बेलामा धेरै विकासे र नेताले भाषणमा भन्ने कुरा कृषि, उर्जा र पर्यटन हो। नयाँ शक्तिको पनि योभन्दा भिन्न छैन होला। तर यसका लागि कस्तो ढाँचा छ र यसको कार्यान्वयन कसरी हुन्छ? यसले कसरी र कहिलेसम्म हामीलाई कहाँ पुर्याउँछ? यसका लागि हामीले कस्तो दीर्घकालिन रणनीति अपनाउने हो? कसैको आधिकारिक दस्तावेज छैन। नयाँ शक्ति पनि यसको अपवाद रहेन। कृषिको आधुनिकीकरण र ग्रामीण औधोगिकीकरणमा आधारित पुँजीवादी विकास नै नेपालको सम्बृद्धिको जग भएकोे चर्चा गरेको सुनिन्छ तर ओरालो लागेको नेपालको कृषिको संक्रमणको व्यवस्थापन र कृषिको दीर्घकालीन रुपान्तरणको चित्रबिना यी सबै हावादारी गफमात्र हुन्। के छ कृषिक्षेत्रको रुपान्तरणको चित्र? यसैबाट थाहा हुन्छ को कति पानीमा छ। नयाँ शक्तिले पनि आफूलाई नापिहेरोस्।
अबको शासन कस्तो हुने भन्ने कुरामा नयाँ शक्तिका नेतागढले बेला–बेला चर्चा गरेको सुनिन्छ, खासगरी प्रतक्ष्य चुनावको चर्चा। नयाँ शक्तिको गर्ने भनेको लोकतन्त्रको अभ्यास के हो र कसरी हुन्छ भन्ने कुरा स्पष्ट नभएसम्म यो प्रस्ताव धेरै व्यक्ति केन्द्रित देखिन्छ। अहिलेको मतदानमा आधारित लोकतन्त्रले मात्र हाम्रो विविधतापूर्ण तर विभेदमा मौलाएको समाजको राजनीतिक नेतृत्व गर्ने कुराले हाम्रो लोकतन्त्रको जग बलियो हुन सक्दैन किनकि हाम्रो समाजको राजनीतिक चेतनास्तरमै ठूलो खाडल छ। यस्तो अवस्थामा नयाँ शक्तिले भनेजस्तो नेतृत्व समावेशीमात्र भएर पुग्दैन यसले सिंगो समाजलाई लोकतान्त्रिकरण गर्ने अभिभारासँगै राजनीतिक चेतना बढाउने दायित्व पूरा गर्नु पर्नेछ। यसमा नै अबको राजनीतिप्रतिको विश्वास कायम हुने हो तर यी कुरा नयाँ शक्तिको पनि प्रष्ट छैन।
अर्को कुरा, अहिले नयाँ शक्तिमा देखिएका केही अनुहारले धेरै मानिसलाई त्यसको नजिक आउन बिच्क्याएको छ।
खासगरी आफू सत्तामा हुदा केही नगर्ने र त्यसमा पश्चातापसम्म नगरेको यस्तो चैते जमातले नयाँ राजनीतिक बहसको कुरा गरेकोमा कति पत्याउने हो भन्ने अहिले धेरैलाई लागेको छ। आम जनसमुदायले फरक भन्ने अनुभूति गर्न सक्नेगरी पार्टी संगठन निर्माण नभएसम्म भष्ट राजनीतिबाट आजित आम मानिसले ढाँटको मानो खाई पत्याउनु भनेर पर्खिनुको विकल्प छैन। यी र यस्तै खैरा आकृतिलाई मेटाउन सके नयाँ शक्तिले केही गर्छ र अब त केही हुन्छ कि भन्ने आश पलाउँथ्यो कि?
त्यसो त यसका खैरा पक्ष मात्र छैनन्। केही जबरजस्त सकारात्मक सन्देश भएको जिकीर पनि मननयोग्य नै छन्। अहिलेसम्म कुनै राजनीतिक वादले नेपालको सम्बृद्धि सम्बोधन गर्न सकेन तसर्थ बदलिएको परिस्थितिमा पुराना वादभन्दा उत्तम वाद जन्माउनु पर्छ भन्ने कुरा घत पर्दो नैे छ। हुन त यो अलि अमूर्त नै छ। उदाहरणका लागि सम्बृद्धिको बाटो छेकेको एउता मुख्य सवाल नेपालको भूमिसुधारबारे यो पार्टी के भन्ला? कौतुहलता नै छ। राजनीतिको मूलधारमा ऊर्जाशली युवा पुस्तालाई आकर्षित गर्दै यसको नेतृत्व हस्तान्तरण गर्नु पर्दछ भन्नेमा धेरैको सहमति छ।
दिल्लीका मुख्यमन्त्री केजरीवालको सिको गर्दै बागमती सफाई अभियानमा होमिएको नयाँ शक्तिले प्रधानमन्त्री ओलीको बोलीमा लय मिलाउँदै कम्तीमा नेपालको आर्थिक सम्बृद्धिको कुरा उठाएको छ र यो संयोगमात्र हैन भने यसले एमालेपथ समात्न खोजेको छ। नयाँ शक्तिको सांकेतिक आशय के देखिन्छ भने यसले ओलीले भनेजस्तो एमाले बाहेकका राजनीतिक शक्तिलाई धक्का दिनेमात्र नभई नेपालको सम्बृद्धिका लागि एमालेसँगै मिलेर सम्बृद्धिको ढोका खोल्न सकिन्छ भन्नेतर्फ उन्मुख देखिन्छ भनेर उत्साही हुनेहरू पनि छन्। एमालेले आफ्नो आन्तरिक लोकतन्त्र र तराई-मधेश हेर्ने सोचमा के कस्तो फेरबदल ल्याउँछ र नयाँ शक्तिबारे ओलीको सदभावलाई समग्रमा यो पार्टीले ग्रहण गर्ला, त्यसैमा यो सम्भावनाको चुरो अड्केको छ।
अन्त्यमा, हाम्रो सम्बृद्धिको यात्रामा बदलिएको परिवेशमा नयाँ ढंगले राजनीतिलाई परिभाषित र परिमार्जन गर्दै अघि बढनुको विकल्प छैन तर सँगसँगै विचारणीय पक्ष के छ भने अहिलेकै नेपाली समाजको चेतना स्तरमा आन्तरिक विवादहरूको व्यवस्थापन र विश्व परिवेशमा खासगरी दुई ठूला छिमेकीबीचको एक आपसको सम्मान, पहिचान र सहयात्राको सन्तुलन चुनौतीपूर्ण छ। यो कुरा प्रभावकारी बनाउन परस्पर निर्भरताको मूल्य मान्यता, आफ्नै मौलिकतामा आधारित सम्बृद्धिका आधारहरूको पहिचान र परिचालनको दूरदृष्टि र मार्गचित्र, नेतृत्वको संरचना र राजनीतिमा लाग्नेहरूको व्यक्तिगत आचरणमा समेत निर्भर हुनेछ। यी कुरालाई आत्मसात गरेमा नयाँ राजनीतिक यात्राको नेतृत्व गरेर नयाँ शक्तिले पुरानालाई धक्का दिन सक्छ। नयाँ शक्ति पार्टी आफैंलाई साथै आफूलाई फेर्नुपर्ने दबाबमा रहेका पुराना राजनीतिक पार्टीहरूलाई लोकतान्त्रिक, सुशासित, पारदर्शी र नागरिकप्रति उत्तरदायी बनाउन दबाब दिँदै अघि बढेमा मात्र सफल हुनसक्छ।