पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई डेराबाट निकाल्न माग गर्दै ललितपुर जिल्ला अदालतमा निवेदन परेको छ। बागडोलका रविभक्त विष्टले आफ्नो घरमा बस्दै आएका यादवलाई अन्यत्र सारिदिन माग गर्दै आइतबार निवेदन दर्ता गराएका हुन्।
निवेदनमा विष्टले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाएका छन्। उनले हालसम्म बक्यौता रहेको रकम भराइपाउँ भन्दै निवेदन दिएको ललितपुर जिल्ला अदालतले जनाएको छ।
विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित भएपछि यादवलाई गत कात्तिक १२ गतेदेखि विष्टको घरमा मासिक १ लाख ३० हजार रुपैयाँ भाडामा सारिएको थियो। त्यसयताको भाडा सरकारले तिरेको छैन।
मन्त्रिपरिषदले गत चैत २६ मा यादव बस्दै आएको घरको भाडा राष्ट्रपति कार्यालयमार्फत भुक्तानी गर्ने निर्णय गरे पनि विष्टले त्यो नपाएको गुनासो निवेदनमा गरेका छन्।
विष्ट पन्ध्र दिनअगाडि निवेदन लिएर ललितपुर जिल्ला अदालत पुगेका थिए। श्रेस्तेदार बाबुराम दाहालले सरकारले घर बहालमा दिएको करार सम्झौता नदेखिएकाले अदालतले हेर्न नमिल्दै भन्दै निवेदन दरपीठ गरिदिएका थिए।
विष्टले शुक्रबार पुनः अदालत गएर इजलासमै निवेदन दिएका थिए। न्यायाधीश सूर्यनाथप्रकाश उपाध्यायले उक्त निवेदन दर्ता गर्न आदेश गरेपछि आइतबार यो निवेदन दर्ता भएको हो।