विभिन्न हिंसामा परेका पीडित महिला तथा बालबालिकालाई न्याय दिलाउनका लागि राखिने ‘सुरक्षित घर’ को पर्वत सदरमुकाम कुश्माबजारमा निर्माण सुरु भएको छ ।
समाज र परिवारबाट पीडित र अपहेलित भई न्यायका लागि जिल्लास्थित न्यायिक निकायमा आउने महिला तथा बालबालिकाका लागि मुद्दा टुङ्गो नलाग्ने बेलासम्म खान बस्नको व्यवस्था गर्न सुरक्षित आश्रयस्थल बनाउन लागिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक गङ्गा पन्तको विशेष पहल, लैङ्गिक हिंसा निवारण जिल्ला समन्वय समितिको संयोजनमा उक्त आश्रयस्थल बनाउन लागिएको हो । भवन निर्माणका लागि स्थानीय सरोकारवाला निकायले साथ दिएपछि झन्डै रु दुई करोडको लागतमा भवन निर्माणकार्य सुरु भएको छ ।
भवन निर्माणका लागि विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्था, क्लबले आर्थिक सङ्कलनका लागि तीव्रता दिएका छन् । १४ कोठा र हलसहितको निर्माण हुने भनिएको तीनतले भवन निर्माणको जिल्लाका तीन वटा सांसद, जिल्ला विकास समिति, कुश्मा नगरपालिकालगायतले आर्थिक सहयोग गरेको निर्माण समितिका अध्यक्ष लोकनाथ आचार्यले जानकारी दिए।
हालसम्म झन्डै रु ३० लाख रकम सङ्कलन भएको आचार्यले जानकारी दिनुभयो । जिल्ला विकास समिति पर्वतले रु १० लाख, कुश्मा नगरपालिकाले रु पाँच लाख सहयोग गरेका छन् ।
त्यस्तै सांसदहरु अर्जुनप्रसाद जोशी र कल्पना चापागार्इंले रु तीन/तीन लाख र अन्य सङ्घसंस्था र व्यक्तिबाट आर्थिक सङ्कलन जारी रहेको छ । शारीरिक र मानसिक रुपमा हिंसामा परेका बालबालिकालाई संरक्षण गरी राख्ने भवन नहुँदा महिला प्रहरीको कोठामा राख्नुपर्ने बाध्यता भएको र अब उक्त आश्रयस्थल निर्माण सम्पन्न भएलगत्तै यस्तो समस्या पनि समाधान हुने भएको छ ।
यसैबीच उक्त भवनको शनिबार पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले शिलान्यास गर्नुभएको छ । सो अवसरमा बोल्दै उहाँले भवन जति छिटो सम्पन्न गर्न सक्यो त्यति नै छिटो जिल्लाका हिंसापीडित महिला तथा बालबालिकाले राहत पाउने भएकाले समयमै सम्पन्न गर्न आग्रह गरे। रासस