युरो कपमा डेब्यु गरिरहेको आइसल्यान्डले हंगेरीसँग बराबरी खेलेको छ।
१-० ले अगा८ रहेको आइसल्याण्ड ऐतिहासिक जित नजिक पुगिसकेको थियो। मध्यान्तर अगाडि ४० औँ मिनेटमा सिगुर्दसनले पेनाल्टीमा गरेको गोलले अग्रात लिएको आइसल्यान्डले त्यो अग्रतालाई अन्तिम दुई मिनेट बचाउन सकेन।
निर्धारित समयको खेल सकिन अब २ मिनेट मात्र बाँकी रहेको बेला आइसल्यान्डका साएभार्स्सानले बल क्लियर गर्ने क्रममा आफ्नै पोस्टभित्र बल छिराएपछि हंगेरीले अंक खोस्न सफल भयो।
यसअघि आइसल्यान्डले पहिलो खेलमा पनि पोर्चुगललाई बराबरीमै रोकेको थियो। आइसल्याण्डले खेल जिते अन्तिम १६ मा प्रवेश गर्ने करिब पक्का हुने थियो भने हंगेरीले जिते एक खेल अगावै अन्तिम १६ मा स्थान बनाउने थियो। तर बराबरीले दुवैलाई केही गाह्रो बनाइदिएको छ। आजै भएको अर्को खेलमा पोर्चुगलले अष्ट्रियासँग बराबरी खेलेपछि समूहको खेल रोमाञ्चक मोडमा पुगेको छ।
योसँगै समूहमा हंगेरी चार अंकसहित शीर्षस्थानमा रहेको छ भने आइसल्यान्ड र पोर्चुगलको समान दुई अंक छ। अस्ट्रियाले भने एक अंकमात्रै जोडेको छ।