भूकम्पमा बाबु र बहिनी गुमाएकी कुबिन्डेकी उर्मिला सापकोटा भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता गराउन लाभग्राहीलाई सघाइरहेकी छन्।
चौतारा नगरपालिका ६ र ७ नम्बर वडा कार्यालय रहेको कुबिन्डेको देउरालीमा असिनपसिन गर्दै लाभग्राहीको सम्झौतापत्रमा विवरण भर्न सघाइरहेकी उर्मिलालाई भने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सार्वजनिक गरेको लाभग्राहीको सूचीमा समेटिएको छैन, आजको अन्नपूर्णमा रेवती सापकोटाको खबर छापिएको छ।
'हेर्नुस् न यति धेरै मानिस हुनुहुन्छ। उहाँहरूलाई सघाउनु पनि परेको छ। हाम्रो आफ्नै सूचीमा नाम रहेनछ। त्यही भएर यहाँ उजुरी पेस गर्दैछु', उनले भनिन्, 'इन्जिनियरले हाम्रो भत्किएको घरको फोटो खिचेका थिए। फित्ताले भग्नावशेष घर नापेर पनि लगेका थिए तर लाभग्राहीको सूचीमा हाम्रो नामै रहेनछ।'
उनले केही वर्षअघि नै सवारी दुर्घटनामा आमालाई गुमाएकी थिइन्। भूकम्पमा बाबु अर्जुन सापकोटा र बहिनीलाई गुमाइन्। घर भत्किँदा पुरिएकी उर्मिलालाई केही घन्टापछि गाउँलेले निकालेका थिए। त्यतिबेला उनका भाइ रमेश वैदेशिक रोजगारीका क्रममा मलेसिया थिए। भूकम्पपछि गाउँमा आएका रमेश फेरि मलेसिया फर्किएका छन्।
'भाइ इन्जिनियर पढ्न चाहन्छ तर कसरी पढाउने ? ' तीन भाइकी अभिभावक बनेकी उर्मिला कान्छो भाइ सम्राटलाई पढाउने उपाय खोज्दै प्रश्न गर्छिन्। उर्मिलासँगै गाउँमा बसिरहेका सम्राट १२ कक्षाको नतिजा पर्खिरहेका छन्। अर्का भाइ उमेश काठमाडौंमा छन्। आर्थिक अवस्था नाजुक हुँदा तनावमा रहेकी उर्मिलालाई जनहित ग्रामीण सेवा समितिले सामाजिक परिचालकका रूपमा दिएको रोजगारीले अलिक सघाउ पुर्याएजस्तो भएको छ।
लाभग्राहीसँग अनुदान सम्झौता गराउन सहयोग गर्न उर्मिलालाई स्वयंसेवकका रूपमा सोही संस्थाले परिचालन गरेको हो। त्यहाँ स्वयंसेवकका रूपमा कुनै राजनीतिक दलका कार्यकर्ता थिएनन्। सरकारका प्रतिनिधिका रूपमा वडा सचिव स्वरूपसिंह तामाङ र सामाजिक परिचालक मीना शर्मा मात्रै थिए।
गैरसरकारी संस्था महासंघ सिन्धुपाल्चोक शाखाका सचिव राजेन्द्र शर्माले अन्नपूर्णसँग भने, 'हामीले आफ्नो कार्यक्षेत्र भएका गाउँमा स्वयंसेवकका रूपमा आफ्ना कर्मचारीलाई परिचालन गर्ने निर्णय गरेका छौं।' पुनर्निर्माण प्राधिकरणले स्वयंसेवक परिचालन गरिदिन समाजका विभिन्न पक्षलाई आह्वान गरेको थियो।
सिन्धुपाल्चोकमा यतिबेला २५ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) कार्यरत छन्। केही समयअघिसम्म ५४ वटा आईएनजीओ कार्यरत थिए। गैरसरकारी संस्था परिचालन गर्ने चौतारा घोषणापत्रको कार्ययोजनाअनुसार एनजीओ तथा आईएनजीओ परिचालित रहेको शर्माले बताए। सिन्धुपाल्चोकका राजनीतिक दलले पनि स्वयंसेवक परिचालन गर्ने निर्णय गरेका थिए तर व्यवहारमा देखिँदैन।