‘एक सातासम्म यो औषधि लगाउनू, सँगै नसुत्नू ......’ नव विवाहित दम्पत्तिलाई सल्लाह दिँदै थिएँ, मोवाइलमा आएको एसएमएस नोटिफिकेसनले मेरो ध्यान खिच्यो।
हेरेँ, ‘डा.मिराज इज सिरियसली इन्ज्युर्ड, कम एज सुन एज पोसिवल’-डा खरेल। एसएमएस डा.मिराजले उपचार गराइरहेको मेडिकल कलेजबाट आएको थियो।
एसएमएस देखेपछि म छाँगाबाट खसेजस्तै भएँ। मैले जे नहोस् भनेर रात दिन प्रार्थना गरिरहेथेँ, त्यही भयो कि भन्ने आशंका भयो। ढुकढुकी बढ्यो, पसिना फुट्न थाल्यो। अझै दश बाह्र जना प्यासेन्ट वेटिङमा छन्। अब के भनेर उठौँ? म अलमल्लमा परेँ। एकैछिन है भन्दै उठेर डाइरेक्टरको कोठामा गएँ र एसएमएस देखाएँ। डाइरेक्टरले सेट भन्दै निधारमा हात लगाए। उनले एकछिन सिधा मलाई हेरे र भने, ‘डा.निरू, यु सुड गो इमिडिएट्ली।’
ऊ मेरो ब्वायफ्रेन्ड हो भन्ने कुरा डाइरेक्टरबाहेक कसैलाई थाहा थिएन। मिराज एम.एस. गरेर आएको एक वर्ष जति मात्र भएको छ। हामीले एक अर्काको मन भित्र बसेर एउटै भविष्यको सपना देख्न थालेको पाँच महिना जति भयो। डा.मिराजको परिवारलाई मैले चिने पनि औपचारिक परिचय छैन।
ब्याग टिपेर म तुरून्तै हिँडेँ। खुट्टा लडखडाइरहेका थिए। मलाई डाइरेक्टरसँग रिस पनि उठ्यो। यस्तो बेला उनले मेरो गाडी लिएर जाऊ भन्नु पथ्र्यो, त्यत्तिकै उठेर हिँडे।
हुन त मलाई मेडिकल कलेजमा मिराजलाई पठाएकै चित्त बुझेको थिएन। आफ्नै अस्पतालमा सुविधा हुँदाहुँदै उसलाई त्यहाँ पठाउनु नहुने हो। डाइरेक्टरले अनावश्यक हल्ला हुन्छ र प्यासेन्टमा गलत इन्फर्मेसन जान्छ भनेर त्यहाँ जाने सल्लाह दिएका थिए।
केही दिन रेजिडेन्टका रूपमा काम गर्न मेडिकल कलेजमा गएको भनेर उपचारका लागि भर्ना गरिएको थियो। हेर्दा ऊ विरामी जस्तो छैन्, तर डिप्रेसनमा गइसकेकाले केही दिन आराम पनि हुन्छ उपचार पनि, भनेर यसो गरिएको थियो।
उसलाई त्यहाँ बस्ने व्यवस्था गर्न म र डाइरेक्टर नै गएका थियौँ। त्यसै कारणले मलाई एसएमएस पठाएको हुनुपर्छ।
पार्किङमा पुगेँ, स्कुटर चलाउने आँटै आएन। ट्याक्सी लिएर निस्केँ, ट्राफिक जामले उकुसमुकुस पार्यो। उसलाई के भयो होला भन्ने खुल्दुली भयो। डा.खरेललाई फोन गरेँ, तपाईँ तुरुन्त आउनुस् न मात्र भनेको बुझेँ, फोनको सिग्नल राम्रो थिएन। मिराज कतै लडेर घाइते भएको भए त केही थिएन, उपचार भइहाल्छ। सुसाइड एटेम्ट गरेको भए निकै डेन्जर भयो। हुन त डिप्रेसनमा यस्तो हुनसक्छ, तर ऊ यो अवस्थामा त नपुग्नुपर्ने हो।
निकै डर लाग्नथाल्यो, हातगोडा कामेको अनुभव भयो। मन हतारिएको छ, जाम खुल्ने सुरसार नै छैन।
नेपाल आउनु केही समय अघिदेखि ऊ मेरो फेसबुक फ्रेण्ड बनेको थियो। एम एस गरेर अमेरिकाबाट फर्किएपछि मैले अलि बढी चासो दिएँ। सम्बन्ध बढाएँ र उसलाई म काम गरेकै अस्पतालमा काम गर्ने वातावरण मिलाएँ। ऊ मबाट प्रभावित भयो। सँगै लन्च खाने, घुम्न जाने र सुख दुःखका अनुभूति साटासाट गर्ने साथी बन्यो।
यस्तै रसिला सम्बन्ध र भावनात्मक समझदारीले हामीलाई एउटै छतमुनी अँगालो मारेर जीवन गुजारेका कल्पनामा बहकिन प्रेरित गर्दै थियो ।
एम.डी. गरेर मात्र लगनगाँठो कस्ने उद्देश्य पूरा गर्ने क्रममा म तीन दशक हाराहारीको उमेर उक्लिदै थिएँ भने ऊ पनि यस्तै अठोट र सपनाहरु पूरा गर्दै एम.एस. गरेर फर्किएको थियो। हाम्रो करियर राइट ट्रयाकमा अघि बढेको महसुस भएकाले मैले एक मुटु दुई शरीरको परिकल्पना गर्दै उसलाई प्रपोज गरेकी थिएँ। उसले एक वर्षको समय मागेको थियो।
ऊ भन्थ्यो, ‘मेरो एम.एस.का लागि बुबाले धेरै सम्पत्ति सक्नुभएको छ, मैले केही त व्यवस्था गरिदिनै पर्छ। बिहेको खर्च पनि बुबासँग आश गर्दा मेरो स्वाभिमान के होला?’
कुरा ठीकै थियो, तर परिस्थिति उसले भने जस्तो थिएन। पारिवारिक मात्र होइन, सामाजिक उल्झनहरू पनि उसको अगाडि ताँती लागेका थिए।
ऊ एउटा राम्रो सर्जन भएर आएको थियो। जनरल सर्जरीका लागि ऊ छिट्टै पपुलर भयो। तर, यो कुरा उसलाई कहिलेकाहीँ निल्नु न ओकल्नु जस्तो हुन्थ्यो। उसका बाबुआमाले सडकमा उभिएर बस कुरेको मन पर्न छाड्यो। अझ त्यसमाथि नयाँ बंगलाको चर्चा पनि हुन थाल्यो।
उसले बाध्य भएर किस्ताबन्दीमा गाडी किन्यो। घर परिवार र नातेदार सवैले उच्चस्तरको व्यवहारको अपेक्षा गर्नथाले। उसको नियमित आम्दानीले नपुग्ने भयो। बिहानदेखि बेलुका अवेरसम्म खटिँदा ऊ लखतरान पर्न थाल्यो। अमेरिकाको अस्पतालमा चर्चित सर्जनहरुको टिममा काम गरेको, उसलाई यहाँको काम गर्ने शैली पटक्कै मन परेन। सर्जरी प्रोटोकल र टाइम मेनेजमेन्ट चुस्त लागेन। यसबाट ऊ शुरु देखि नै तनावमा थियो। ऊ भन्थ्यो, ‘लागेको बानी चेन्ज गर्न निकै गाह्रो हुँदो रहेछ।’
‘परिस्थिति बदलिएन भने आफैँलाई बदल्नु पर्छ डक्टर’, म मस्किदै भन्थेँ। ‘म तिमिलाई त बदल्छु अरूलाई भन्न सक्दिनँ’, भन्दै हाँसेर मलाई अंगालो मार्न आईपुग्थ्यो। म भाग्न खोजेको नाटक गर्थेँ, ऊ तानेर गाला चिमोट्थ्यो।
उसको कामको चर्चासँगै अस्पतालमा बिरामीको संख्या ह्वात्तै बढ्यो। तर आम्दानी बढेको थिएन। बढ्दो काम र फाइनान्सियल मेनेजमेन्टको प्रेसरले ऊ बढी नै तनावग्रस्त देखियो। ऊ अलि निरास देखिन थाल्यो। मसँग पनि त्यति हाँस्न छोड्यो, खाना र निन्द्रा पनि कम हुँदै गयो। जतिखेर पनि थकित र उत्साहहिन देखिन थाल्यो। डाइरेक्टरले केही दिन घुम्न आऊ भने। तर उसले यो वर्ष म फिक्स्ड बजेट भित्रै बस्छु, प्यासेन्टहरुको प्रेसर पनि छ भनेर टार्यो।
उसले केही दिन डिप्रेनको औषधि चलायो र फ्रेस पनि भयो। सिचुएसन नर्मल ट्याकमा आउँदै थियो, एउटा अनपेक्षित घटनाले उसलाई फेरि डिप्रेसनमा धकेलिदियो।
७६ वर्षका विरामीको अपरेसनका क्रममा मृत्यु भयो। सुगर र विपि दुवै हाई छ, उमेर पनि बढी भएकाले रिस्क निकै छ, औषधिले नै मेनेज गर्ने कि? भनेर उसले विकल्प नदिएको होइन। विरामीका छोराले डा‘साव अपरेसन गरिदिनुस् अरू भगवान भरोसा भनेर रिक्वेस्ट गरे पछि मात्र उसको टिमले तयारी गरेको थियो।
ऊ सर्जरीका सवै प्रोटोकल पूरा नगरी काम गर्दैनथ्यो। अपरेसनकै क्रममा प्रेसर यसरी लो हुँदै गयो कि मेनेज गर्नै नपाई डेथ भयो। यस घटनाले ऊ निकै चिन्तित बन्यो। एक वर्षको अवधिमा यो उसको पहिलो असफलता थियो। उसको निरासा देखेर डाइरेक्टरले भने, ‘हेर डा.मिराज सवै विरामीलाई बचाउने प्रयास गर्नु हाम्रो कर्तव्य हो, तर सधैँ सफलता पाइँदैन, एक दुई प्रसेन्ट फेलियर हुनसक्छ। डन्ट वरी, वि विल मेनेज इट।’
नभन्दै मृतकका परिवारलाई बोलाएर सम्झाइयो। ठिकै छ त, हाम्रो भाग्य यस्तै रहेछ भनेर फर्किका थिए।
भोलिपल्ट सिचुएसन चेन्ज भो। डाक्टरको लापरबाहिले विरामीको मृत्यु भनेर समाचार आयो। अस्पताल पुग्नासाथ मुन्द्रेसहितको हुलले डाइरेक्टरलाई घेरे। लापरवाही गर्ने डाक्टरलाई कारबाही गर्ने, माफी मगाउने, क्षतिपूर्ति दिनुपर्ने जस्ता मागहरु देखे पछि भने डा.मिराज निकै हतास बन्यो।
उसले पीडायुक्त भावमा मलाई सोधेको थियो, ‘डा.निरू मैले कहाँनिर लापरबाही गरेँ त? यत्रो मेहनत गरेँ, मेडिकल साइन्सले दिएका सवै उपाय अपनाएँ, मलाई नै यत्रो चार्ज?’ उसका ओठ थर्थराए। भावुक बनेर बोल्दाबोल्दै गलाअवरुद्ध पार्यो। उसले बढी नै फिल गरेछ।
मैले भनेँ, ‘डा मिराज तिमी यति सिरियस नबन, यहाँ त यस्तो भइरहन्छ, यो अमेरिका होइन। हिजो चित्त बुझाएर जानेहरू आज कुनै दलालले उचालेर आएका हुनसक्छन्। यो सल्भ भइहाल्छ, दिस इज नट अ नेक्लिजेन्स, इट्स जस्ट कम्पिलिकेसन, चिन्ता नगर।’
नभन्दै अपरेसन खर्च नलिने शर्तमा दुई घण्टापछि लास लिएर गए। घटना साम्य भयो। तर डा. मिराजले साह्रै चित्त दुखायो। म किन नेपाल फर्किएँ? भन्नसम्म पुग्यो। भोलिपल्टको मिटिङमा यो विषय एउटा एजेण्डा बन्यो। तर डा मिराजलाई असह्य भयो, उठेर एक्सक्यूज मि भन्दै ओपिडितिर लाग्यो।
विस्तारै उसले काम घटायो, ऊ सुस्त भयो। काम छ भनेर केही दिन घरै वस्यो । ऊ गम्भीर डिप्रेसनतिर पुगेको निष्कर्ष आयो। अपरेसनहरु स्थगित गरिए। तर यसको वास्तविकता बाहिर ल्याइएन। अपरेसन गर्ने डाक्टरलाई नै डिप्रेसन भयो भन्दा विरामीमा नराम्रो सन्देश गई विजनेसमै असर पर्छ भन्नेभयो। स्थितिलाई गोप्य राख्दै उसलाई मेडिकल कलेजमा उपचारका लागि पठाइयो।
यो विचमा मैले उसँग भेट्न पनि सकिनँ, फोनमा ऊ धेरै बोल्न चाहेन। ऊ निकै निरास भएको मैले महसुस गरेकाले भोलि शनिबार भेट्न जाने सोच्दै थिएँ। आज एक्कासी यस्तो मेसेज आयो ।
जाम पार गर्दै ट्याक्सीले एक घण्टामा मेडिकल कलेज पुर्यायो। त्यहाँ पुग्दा उसका बाबुआमा आइसकेका रहेछन्। उनीहरुको हृदयविदारक रूवाईले मलाई रियालिटी बुझ्न समय लागेन।
डा.खरेलले मलाई देख्नासाथ अध्याँरो अनुहार लगाएर, शरी डा.निरू, बढी उता छ भन्दै लगे। मेरा खुट्टाहरुले मलाई थेग्न सकिरहेका थिएनन्। तर मैले आफ्नो पीडा र भावना त्यहाँ व्यक्त गरिरहनु ठीक थिएन। अरूको लागि त म अस्पतालको सहकर्मीबाहेक केही थिइन।
उसको बेडमुनि औषधिका थुप्रै खोलहरु फालिएका थिए। डा खरेलले भने, ‘डा निरू उसले मेडिसिनको ओभर डोज लिएर सुसाइड गर्यो।
म थचक्क मेचमा बसेँ। चुहिन लागेका आँसुलाई आँखैमा टिलपिल पार्दै पुछेँ। घाँटीको हिकहिकलाई भित्रै दवाएँ।
हाम्रो अस्पतालका डाइरेक्टर पनि आइपुगे। म मिराजको लास नियालेर अन्तिम विदा माग्दै थिएँ। उनीहरुले विस्तारै केही कुरा गरे र निष्कर्ष सुनाए। डा निरु, यो धेरै सिरियस केस हो। यसले दुवै अस्पताल बद्नाम हुनसक्छ। यसको असर तिमि बुझ्न सक्छ्यौ । डेथ सर्टिफिकेटमा हर्टअट्याक लेखिदै छ। तिमीले त्यही अनुसार बुझ। यति भनेर डाक्टर खरेलले एउटा चिट दिए।
यो उसको सुसाइड नोट थियो। उसले मेरो वारेमा कहीँ केही उल्लेख गरेको थिएन। सायद उसले मलाई मायाँको बन्दनबाट मुक्त गरेको थियो।
त्यसमा केवल यत्ति लेखिएको थियोः
आमा म तपाईँलाई धेरै मायाँ गर्छु।
हजुरकै प्रेरणाले म डाक्टर बनेँ, विश्वास गर्नुहोस्, मैले आफ्नो काममा कहिल्यै लापरबाही गरिनँ।
यो दुनियाँ साह्रै सानो र संकुचित रहेछ। म बाच्न चाहन्थेँ तर सकिन, शरी ल । (डा मिराज