चितवनको नारायणगढ–मुग्लिन सडकअन्तर्गत चण्डिभञ्याङ–६ कालीखोलामा शुक्रबार साँझ पहिरो खसेर अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ।
चिवतनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक बसन्त कुँवरले पहिरो पन्छाएपछि रातिदेखि सवारी आवागमन सञ्चालनमा आएको जानकारी दिए।
उनका अनुसार रोकिएका सवारी गन्तव्यतर्फ गएका छन्। साँझ सोही खण्डको चार किलो भन्ने स्थानमा समेत पहिरो खसेको थियो।
दुवै क्षेत्रको पहिरो हटाइएको प्रहरीले जनाएको छ। उक्त सडकमा पछिल्लो समयमा दैनिकजसो पहिरो खसेर अवरुद्ध हुँदै आएको छ।
सोही क्षेत्रमा राति गाडीसमेत बिग्रिएर सवारी आवतजावत प्रभावित भए पनि अहिले भने पूर्ण रुपमा सञ्चालनमा रहेको छ। रासस