युरोपियन च्याम्पियनसिपमा खेलेका आफ्ना अन्तिम १३ खेलमा अपराजित स्पेन आफ्नो त्यो यात्रा कायम राख्न आज मैदान उत्रँदैछ। स्पेनले सन २००८ र २०१२ को च्याम्पियन ट्रफी उचालेको थियो।
नेपाली समयअनुसार शुक्रबार राति १२ बजेर ४५ मिनेटमा हुने स्पेन र टर्कीबीच खेल हुँदैछ। समूह डी अन्तर्गत अंक तालिकाको शीर्षमा रहेको स्पेन र पुछारमा रहेको टर्कीबीच स्टेड डे नाईस रंगशालामा आमनेसामने हुनेछ।
पहिलो खेलमा स्पेनले चेक रिपब्लिकलाई १-० ले पराजित गरेको थियो भने टर्की क्रोयोसियासँग सोही अन्तरमा पराजित भएको थियो। खेलमा टर्कीलाई पराजित गर्न सके स्पेन अन्तिम १६ को नजिक पुग्नेछ भने प्रतियोगितामा रहिरहन टर्कीलाई जित आवश्यक छ।
दुवै टिमबीच भएका अन्तिम ७ वटा प्रतिस्पर्धामा स्पेनले ४ वटामा जित हात पारेको छ भने टर्कीले एउटा मात्र खेल जितेको छ। दुवै टोलीबीच भएका प्रतिस्पर्धामा २ वटा खेल नतिजाविहीन भएका थिए। युरोपियन च्याम्पियनसिपमा टर्कीले खेलेका अन्तिम १३ खेल मध्ये ३ खेलमा मात्र जित निकाल्न सकेको छ। जसमा ८ मा हार र २ बराबरी थिए।
स्पेनका प्रशिक्षक भिसेन्ट डे बास्केले प्रतिक्रिया दिदै भनेका छन्, ‘टर्की राम्रो टिम हो भन्नेमा शंका छैन तर हामीले पहिलो खेलमा ३ अंक बटुलिसकेकाले यस खेलमा पनि त्यही लय कायम राख्दै अन्तिम १६ मा पुग्ने सम्भावना बलियो पार्नेछौ,’ उनले थपे, ‘टर्कीले दिने चुनौतीका लागि हामी पूरै तयार छौं।
त्यस्तै टर्कीका प्रशिक्षक फतल्हा तेरिमले आफूहरूको पहिलो हार क्लब फुटबल खेले सरह भएको प्रतिक्रिया दिँदै भनेका छन, ‘हामीले आफ्नो नेचुरल खेल खेल्न सकेनौं भने स्पेनले हामीलाई निकै चुनौती दिनेछ।’