प्रहरीले कारण नखुलाएरै वीरगन्जका आठ जना डाक्टरलाई हिरासतमा लिएपछि यहाँस्थित सबैजसो अस्पतालका ओपिडी सेवा बन्द गरिएको छ। उनीहरुलाइ वीरगन्जस्थित नारायणी उपक्षेत्रीय र नेशनल मेडिकल कलेजबाट पक्राउ गरिएको हो। आक्रोशित चिकित्सकहरुले तत्काल यसबारे चित्तबुझ्दो जवाफ नआए आजैदेखि आकस्मिक सेवा पनि बन्द गर्ने बताएका छन्।
शुक्रबार बिहान नौदेखि दस बजेको बीचमा अचानक अस्पताल पुगेको प्रहरी टोलीले डा. कुशराज गिरी, डा. सरोज सिंह, डा. पन्नालाल पटेल, डा. अरुणकुमार गुप्ता, डा. दिनेश साह, डा. रहुल्लाह खान, डा. इर्साद उल्हक र डा. निमेष रमणपाललाई हिरासतमा लिएका थिए। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको उक्त टोलीले गिरफ्तार गरेका डाक्टरहरूलाई पानीटंकीस्थित जिल्ला प्रहरी कार्यालयमा राखेको छ।
आफूलाई कुनै जानकारी नदिएर केन्द्रबाट आएको टोलीले यो कारबाही चलाएको हुनाले तत्काल यस विषयमा केही प्रतिक्रिया दिन नसकिने जवाफ जिल्ला प्रहरी प्रमुख एसपी राजुबाबु श्रेष्ठले दिएका छन्। ‘यस विषयमा कुनै जानकारी पाएपछि बताउँछु,’ उनले भने, ‘हाल चिकित्सकहरूलाई नियन्त्रणमा राखिएको छ।’
पक्राउ गर्नेले कुनै जानकारी नदिए पनि वीरगन्जमा भने यतिबेला यी चिकित्सकको प्रमाणपत्रको आधिकारिकतालाई लिएर पक्राउ गरिएको हुनसक्ने चर्चा फैलिएको छ। जबकि पक्राउ परेका चिकित्सकमा नेपालकै मान्यताप्राप्त शिक्षण संस्थाबाट उत्तीर्ण भएकाहरु पनि छन्।
पक्राउ पुर्जी पनि नदिएर अपहरण शैलीमा चिकित्सक पक्राउ गरिएको भन्दै यहाँका डाक्टरले यतिबेला वीरगन्ज अस्पताल र नेशनल मेडिकल कलेज लगायतको ओपिडी बन्द गराएका छन्। छिट्टै कारबाहीको जानकारी नदिए आजैदेखि आकस्मिक सेवासमेत ठप्प गर्ने चिकित्सक संघको नारायण अञ्चलका निवर्तमान अध्यक्ष रविन्द्र सिंहले बताएका छन्।