इक्वेडरलाई पराजित गर्दै आयोजक राष्ट्र अमेरिका कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेश गरेको छ।
शुक्रवार बिहान सेन्चुरी लिंक फिल्ड वासिङ्टनमा भएको पहिलो क्वाटर फाइनल खेलमा इक्वेडरलाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक राष्ट्र अमेरिका सेमिफाइनल प्रवेश गरेको हो।
अमेरिका सन् १९९५ पछि पहिलो पटक कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेश गरेको हो।
खेलको २२ औँ मिनेटमा क्लिन्ट ड्याम्सेले गोल गर्दै अमेरिकालाई सुरुवाती अग्रता दिलाए।
पहिलो हाफमा १–० को अग्रता लिएको अमेरिकाले खेलको ६५ औँ मिनेटमा ग्यासी जार्देसले गोल गर्दै अग्रता दोब्बर पारे।
खेलको ७४ औँ मिनेटमा इक्वेडरका लागि मिकेल एन्टिनियो अरोयोले गोल गर्दै अग्रता २–१ मा झारेका थिए।
बाँकी समयमा दुवै टोलीले गोल गर्न नसकेपछि अमेरिका २–१ ले विजयी हुँदै प्रतियोगिताको सेमिफाइनल पुग्ने पहिलो टोली बन्यो।