भूकम्पपीडित परिवारलाई सरकारले काठ उपलब्ध गराउने भएपछि सिन्धुपाल्चोकमा मागको लागि निवेदन पर्न थालेको छ। विनाशकारी भूकम्पबाट क्षति भएको भूकम्पपीडितको घर निर्माणको लागि पीडित परिवारलाई काठको समस्या पर्ने भएपछि सरकारले भूकम्पपीडितको लागि ९० प्रतिशतमा काठ उपलब्ध गराउने भएपछि पीडितले निवेदन दिएका हुन् ।
सिन्धुपाल्चोकमा पीडित परिवारको आवास निर्माणको लागि सरकारले काठ दिने भएपछि जिल्लाको आठ ओटै इलाका वन कार्यालय र जिलला वन कार्यालयमा पीडितहरुको काठ माग निवेदन पर्न थालेको हो । सरकारले काठ उपलब्ध गराउने घोषणा गरेपछि जिल्लामा ४० हजार लाभग्राही पीडित परिवारको माग निवेदन परेको जिल्ला वन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
पीडितको लागि काठ दिने सरकारको घोषणा र वन तथा भु.संरक्षण मन्त्रालयले भूकम्पपीडितहरुको लागि काठ आपुर्ति र व्यवस्थापन २०७२ कार्यविधि सार्वजनिक गरि दफा ११ को निर्णय अनुसार वन कार्यालयलाइ पीडितहरुको काठ माग निवेदन लिन मन्त्रालयले निर्देशन दिएको वन कार्यालयले जनाएको छ । हामीलाइ निवेदन लिने कार्य विधि आइुसकेको छ । कार्यविधि अनुसार यो विषयमा एक पटक प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडिको संयोजकमा बैशाख २६ गते बैठक बसेर जिल्लातहमा कसरी व्यवस्थापन गर्ने विषयमा निर्णय भएको सहायक वन अधिकृत शंकरराज गिरीले बताए । पीडित परिवार अथवा लाभग्राही परिवारको यकिन विवरणका साथै आफूलाइ आवश्यक पर्ने काठको माग गरेर निवेदन दिनुपर्ने व्यवस्था छ ।
अहिले सरकारी मापदण्ड अनुसार लाभग्राही परिवारले सालको काठ मात्र माग गर्न पाउने र आफूलाइ पायक पर्ने इलाका वन कार्यालयमा निवेदन दिन पाउने व्यवस्था मिलाइएको गिरीले जानकारी दिए । केन्द्रिय वन विभागले जिल्लामा परेको निवेदनलाइ पठाउन ताकेता गरेको छ । तर सिन्धुपाल्चोक जिल्लाको हकमा सबै गाउँ विकास समितिको लाभग्राहिहरुको नामवलि आइनसकेकोले निवेदन पठाउन समस्या आएको छ ।