युरो कपले यतिबेला फुटबल र फुटबल प्रेमीलाई आकर्षित गराएको छ। मिनी विश्वकप भनेर चिनिने युरो कपले नेपालमा असर नपार्ने कुरै भएन।
व्यक्तिपिच्छेका आ–आफ्ना देश छन्, खेलाडीका ‘फ्यान’ छन्। सर्वसाधारण मात्रै हैन, फुटबल खेलाडीमा पनि यो लागू हुन्छ।
नेपाली फुटबलका चर्चित खेलाडीहरूले युरो कपलाई कसरी नियालिरहेका छन्? उनीहरूको रोजाइमा पनि आ–आफ्नै देश र खेलाडी छन्। कुन टिम मनपर्छ, खेलाडी मनपर्छ निर्धक्क भन्न सक्छन्।
युरो कपको सुरुवातीमै रसियासँग बराबरी खेलेको इङ्ल्याण्ड र वाइन रुनीलाई नेपालका धेरै स्टारले मन पराएका रहेछन्। विश्वबिजेता जर्मनी पनि नेपाली स्टारले मन पराएको अर्को टिम हो। युरो कपको सुरुवातीमै जर्मनीले जित हासिल गरेको छ।
पूर्वकप्तान हरि खड्का नाम चलेको टिमको ‘पोजिसन’ हेर्ने गर्छन्। खासमा खेलाडी र खेल्ने तरिकाको हिसाबले उनको नजर अहिले जर्मनीमा परेको छ।
२०१४ को विश्व बिजेता भएको कारण र आगामी विश्वकपमा पनि उसैमाथि बढी भरोसा गरिएको कारण आफू जर्मनीको ‘फ्यान’ भएको खड्का बताउँछन्। खड्काको बुझाइमा विश्वबिजेतालाई कम्तीमा चार वर्ष र त्यसअवधिमा भएका खेलमा धेरैले ‘वाच’ गरेका हुन्छन्। जर्मनीको खेल अर्को विश्वकप महत्वपूर्ण हुने खड्का बताउँछन्।
‘नाम चलेको प्लेयर छन्। सबै खेलाडी एक से एक क्षमतावान छन्,’ खड्का भन्छन्, ‘अरु टिम जस्तो अर्जेन्टिना, पोर्चुगलमा एक जना खेलाडीले पुरै खेल ड्राइभ गरिरहेको अवस्था हुन्छ, तर जर्मनीमा सबै खेलाडी खेललाई ड्राइभ गर्न सक्षम छन्।’
खड्काको दोस्रो नजर आयोजक फ्रान्स हो। फ्रान्सका सबै खेलाडी युवा उमेरका भएकाले उनलाई फ्रान्स पनि मन परेको हो। त्यसपछि उनको रोजाइको टिम इङ्ल्याण्ड हो। त्यहाँ पपुलर लिग हुन्छन्।
नेपाली राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङ पनि इङ्ल्याण्डका ‘फ्यान’ हुन्। इङ्ल्याण्ड त्यसमाथि खेलाडी वाइन रुनी त झनै मनपर्छ। जितोस् हारोस् भन्नेसँग उनको सरोकार छैन। तर आफूले मन पराएको टिमले जितोस् भन्ने नै हुन्छ।
आफन्त, नातागोता ब्रिटिशका लाहुरे भएकाले यो देशप्रति उनको सहानुभूति सानै उमेरदेखि रह्यो। ‘खासमा हाम्रो समुदायबाट ब्रिटिश लाहुरे धेरै छन्, आफन्तहरू पनि छन्,’ उनले भने, ‘त्यसैले त्यो देशै मलाई मन परेको हो।’
सानो उमेरमा लाहुर जाने हिसाबले इङ्ल्याण्ड मन पराए, पछि फुटबल खेलाडी बने। फुटबल बुझ्दै जाँदा सबैभन्दा बढी प्रिमियर लिग इङ्ल्याण्डमा हुँदा रहेछन्। नेपाली फुटबलमा चम्किन थालेपछि गुरूङ इङ्ल्याण्ड र रुनीका ‘फ्यान’ भए।
‘फुटबल खेल्न थालेँ, फुटबलमा अलि प्रगति गर्दै गएपछि प्रिमियर लिग फलो गर्न थालेँ,’ उनी भन्छन्, ‘खेल्ने वातावरण नै धेरै राम्रो रहेछ इङ्ल्याण्डमा, म उतै गएर पनि म्याच हेरेको छु।’ अर्को, खेलाडी पनि नयाँ अनुहारका छन्, त्यसमाथि रुनी अनुभवी खेलाडी मानिन्छन्, त्यसैले इङ्ल्याण्डलाई आफ्नो समर्थन रहेको गुरुङ बताउँछन्।
बङ्गलबन्धु गोल्डकपमा नेपाली राष्ट्रिय टोलीको जित र त्यसमाथि पनि स्ट्राइकरको ह्याट्रिकले नेपाली फुटबल र खेल प्रेमीहरूमा नयाँ उत्साह छायो। भर्खर म्याच फिक्सिङमा पूर्व कप्तानसहित खेलाडीहरू परेर बेइजती कमाएको नेपाली फुटबल टोलीका सामु नवयुगको ह्याट्रिक ‘सनसनी’ थियो। उनले नेपाली फुटबलमै नयाँ उत्साह छरिदिए।
त्रिभुवन आर्मी क्लबसँग अनुबन्धित श्रेष्ठ स्पेनका ‘फ्यान’ रहेछन्। स्पेनले युरो कप जित्दादेखि मन पर्न थालेको रहेछ। ‘स्पेनको टिमवर्क मनपर्छ। खेल्ने स्टाइल मनपर्छ,’ श्रेष्ठले भने।
ट्रेनिङमा रहनुपर्छ, त्यसैले उनी सबै म्याच हेर्न पाउँदैनन् तर चलेको टिमको खेल हेर्न छुटाउँदैनन्। जर्मन, फ्रान्स र इङ्ल्याण्ड पनि उनको नजरमा परेका टिम हुन्।
नेपाली राष्ट्रिय टोलीका चर्चित युवा स्ट्राइकर बिमल घर्तीमगर वेल्जियमका ‘फ्यान’ हुन्। उनी आफैं वेल्जियम फुटबलमै अनुबन्ध रहेका कारण पनि उनलाई वेल्जियम धेरै राम्रो लाग्छ। इटालीसँग वेल्जियम २–० ले पराजित हुँदा बिमललाई खल्लो नहुने कुरै थिएन।
वेल्जियमपछि उनलाई इङ्ल्याण्ड मन पर्छ। इङ्ल्याण्डमा नाम चलेका खेलाडी छन्। रुनी बिमललाई मनपर्ने चलेका खेलाडीमध्ये एक हुन्।
‘खासमा मलाई मन पर्ने टिम अर्जेन्टिना हो। तर युरो कपमा अर्जेन्टिना छैन,’ बिमल भन्छन्, ‘म वेल्जियममै खेल्ने कारण पनि मलाई वेल्जियम बढी मन परेको हो।’ युरो कप सुरूदेखि नै उनी हेरिरहेका छन्। चलेका टिमको खेल छुटाउँदैनन्। ‘सबै नछुटाइ हेर्न भ्याइँदैन, कहिले के कहिले के परिरहेको हुन्छ,’ उनले भने, ‘तर चलेका टिमको गेम छुटाउँदिनँ।’