दाङमा आज राति अज्ञात समूहले दुई वटा एनसेलको टावरमा आगजनी गरेको छ। आइतबार बिहान करिब ३ बजे तुलसीपुर १० डाँडा खुटी र धनौरी ९ रगैंचास्थित एनसेलको टावरमा अज्ञात समूहले आगजनी गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिए।
पाण्डेका अनुसार डाँडा खुटीस्थित टावरमा आगजनी गरेपछि स्थानीयले मिलेर आगो नियन्त्रणमा लिएका थिए। त्यसपछि स्थानीयको खबर लगतै प्रहरी र शसस्त्र प्रहरी समेत पुगेर आगो नियन्त्रणमा लिएपछि क्षति कम भएको पाण्डेले बताए।
प्रहरीका अनुसार डाँडाखुटीमा गरिएको आगजनीबाट जेनेटरबाट गएको तार मात्रै जलेको छ अरू क्षति भएको छैन।
धनौरीस्थित रंगैचाको टावरमा भने बढी क्षती भएको छ। त्यहाँ जेनेटर सहित अन्य उपकरणहरुमा समेत क्षती पुगेको प्रहरीले बताएको छ। पाँच जनाको संख्यामा आएका अज्ञात समूहले आगो लगाएर भागेको स्थानीयले जानकारी दिएका छन्।
आगो नकेपा माओवादी विप्लव समुहले लगाएको एनसेलका पदाधिकारीहरुले आशंका गरेका छन्। तर नेकपा माओवादीका जिल्ला सेक्रेटरी सितलले भने आफूहरुको त्यसमा संलग्नता नरहेको दाबी गरेका छन्। उनले भने ‘जस्ले जे सुकै गरोस् राज्यले हामीलाई नै देखाउनु अन्यथा होइन,’ उनले हाँस्दै थपे, ‘हामी त भ्रष्ट,दलालहरुको भण्डाफोरमा लागेका हौं। राष्ट्रियता संरक्षणमा लागेका हौं। अहिले यत्ति बुझ्नुहोस्।’