मधेसी बुद्धिजीवी तुलानारायण साह आफ्नै गाउँका देवनारायण मरिकको घरमा शुक्रबार बिहान पहिलो पटक गए।
सप्तरी गोइठीस्थित उनको गाउँका डोम जाति हुन् देवनाराण। जब साह देवनारायणको आँगनमा पुगे, उनका छोरा घरभित्र लुकिहाले। पछि मात्रै थाहा पाए, ती बालक त साहलाई पुलिस ठानेर लुकेका रहेछन्।
राज्यसँग मधेसी बालकको त्यस्तो धक साहका लागि नौलो होइन। उनी तराईको विभेदलाई लिएर गरिने टीकाटिप्पणीको जरो उखेल्न भनेरै देवनारायणको आँगनमा पुगेका थिए।
‘म तपाईंको घरमा चिया खान आएको,’ साहले देवनारायणसँग भने।
यस्तो सुनेर उनीहरुको अनुहारको रंग नै उड्यो।
‘हुन पनि म उनीहरु हाम्रो गाउँ आएको ३० वर्षपछि त्यो आँगनमा पुगेको थिएँ,’ साहले सेतोपाटीसँग भने, ‘मैले कुरा बुझाएपछि भने उनीहरु खुसी भए।’
मधेस समाजको जातीय छुवाछुत र विभेद अन्त्यका लागि आफू उनको आँगनमा आएको साहले देवनारायणसँग भनेका थिए। आफू कथित उपल्लो जातको भएर जानअन्जान देवनारायण र उनको समुदायमाथि गरेको अन्यायका लागि माफी माग्न साह त्यहाँ पुगेका थिए।
‘आजसम्म हाम्रो पुर्खाले बसालेको रीतिले मैले पाएको विशेष सुविधाकै कारण तपाईंले भोग्नुपरेको अन्यायका लागि क्षमा माग्न आएको,’ तुलानारायणले यसरी माफी मागेका थिए।
के भन्ने के अलमलमा परेकी देवनारायणकी श्रीमती भित्र छिरिन्। उनको घरमा दूध रहेनछ। रित्तो भाँडो लिएर गाउँतिर हिँड्नै लाग्दा साहले भने, ‘रातै चिया बनाउनुस् न!’
साह मरिकको आँगनमा भएको हेर्न गाउँलेहरु पनि आइपुगेका थिए। आफूलाई सधैँ सानो जातको सम्झिएर खुम्चिएका दलितहरुको अनुहारमा खुसी देखेर साह दंग परे। ‘हामीले कथित उपल्लो जातको भएर पाएको विशेष अधिकारका लागि माफी मागेर सामाजिक समस्या हटाउने सानो प्रयास गरेका हौं,’ साहले भने, ‘म यहाँ बसुन्जेल दलित समुदायको घरमा गएर माफी माग्ने छु।’
तराईको कुरा गर्दा सधैँ आरोप लाग्ने गर्छ, मधेसमा छुवाछुत ज्यादा छ, महिला हिंसा ज्यादा छ। यस्ता आरोप उनीहरुले काठमाडौँमा ज्यादा सुनेका थिए। उनीहरुलाई थाहा थियो यस्तो सामाजिक समस्या तराईमा धेरै छ। ‘राजनीतिक अधिकारका कुरा गर्दा खास गरी हामीलाई यस्तो आरोप लगाइने गरिएको थियो,’ उनले भने, ‘पहाडमा पनि यस्ता विभेद छन् तर मधेसको कुरा उठ्दा पहाडलाई देखाएर त हामी बाँच्ने कुरा भएन। त्यसैले मधेसको राजनीतिक अधिकार प्राप्तिका लागि सामाजिक समस्याविरुद्ध पनि काम गर्नुपर्छ भनेर यो अभियान चलाइएको हो।’
केही दिनअघि अधिवक्ता दिपेन्द्र झा, पत्रकार प्रशान्त झा, राकेश मिश्र लगायतले विभेदका लागि क्षमा माग्ने अभियान सामाजिक सञ्जालमार्फत सुरु गरेका हुन्। सामाजिक परिवर्तनका लागि आफूहरुले यस्तो अभियान सुरु गरेकोअधिवक्ता दिपेन्द्र झाले सेतोपाटीलाई बताए।
‘हामी देश बनाउने प्रक्रियामा छौँ तर मधेस लगायतका ठाउँमा धेरै जाति विशेष, लिङ्ग या समुदायले आफूलाई तल्लो दर्जाको सम्झिने गर्छन्,’ झाले भने, ‘उनीहरु भावनात्मक रुपमै पनि धेरै पीडित छन्, त्यो कतै न कतै हामी उपल्लो जाति र विशेषा भनिएका समुदायका कारण भएको हो। नयाँ सुरुआत गर्न विगतमा भएका विभेद हटाउने पहिलो सुरुआत के गर्न सकिएला सोच्दै थियौँ, यो अभियान सुझ्यो।’
उनीहरुले जेठ २६ गते पहिलोपटक माफी मागेर मैथिली, हिन्दी र नेपालीमा फेसबुक स्टाटस पोस्ट गरे। जसमा लेखिएको थियो- दलित, मुस्लिम, थारु, महिला र सीमान्तकृत समुदायविरुद्ध पुस्तौंदेखि भएको ऐतिहासिक, अमानवीय, अमर्यादित व्यवहार तथा भेदभावमा मेरो संलग्नताका लागि म विनम्र माफी माग्दछु। यो उत्पीडक संरचनाको लाभ मेरो परिवार र मैले पनि प्राप्त गर्दै आएका छौं। सामाजिक, सांस्कृतिक तथा धार्मिक विभेद, आर्थिक शोषण र सीमान्तकृत समुदायविरुद्ध हुने व्यक्तिगत अपमानपूर्ण व्यवहारविरुद्ध लड्न म आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रण गर्दछु। म यो ऐतिहासिक अन्याय सच्याउने सबै प्रयासहरुलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। न्याय, समानता तथा अधिकारकf लागि हुने संघर्षमा उहाँहरुलाई मेरो साथ रहिरहने बाचासमेत गर्दछु।
विशेष सुविधा पाउनेहरु सबैले यसरी आजसम्म अन्यायमा परेकासँग माफी माग्ने हो भने त्यसले तिक्तता हटाएर सद्भाव कायम गर्न सजिलो हुने झाको विश्वास छ। यो अभियान राजनीतिक तहबाट भएको अभियान हैन। राजनीतिक माग राख्दा धेरैले उनीहरुलाई तराईको विभेदका सवालहरुमा के गर्यौ भनेर सोधेपछि उनीहरुसँग उत्तर थिएन। त्यसैले मधेसबारे लेख्ने बोल्नेहरुले नै सुरु गरेको अभियान हो।
‘तर विस्तारै राजनीतिक दलहरुले पनि यस अभियानमा आउनु हुनेछ भन्ने लाग्छ किन भने यो साँच्चै आवश्यक छ,’ अधिवक्ता झाले भने।