पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले इटाली युरो कप २०१६ को उपाधिको बलियो दाबेदार टोली भएको दाबी गरेका छन्।
युरो कप छनोटका कुनै पनि खेल नहारेको इटालीलाई रोनाल्डोले अप्रत्याशितरुपमा एक उपाधिको दाबेदार टोली भएको दाबी गरेका हुन्।
‘इटाली युरो छनोटमा कुनै खेल नहारेको टोली हो। त्यसैले फ्रान्स, जर्मनी र स्पेन जस्तै इटाली उपाधि दाबेदार टोली मध्येको एक बलियो टोली हो,’ रोनाल्डोको विश्वास छ।
‘आयोजक राष्ट्रको नाताले फ्रान्सले राम्रो प्रदर्शन गर्न सक्नेछ, ऊ पनि उपाधिकै दाबेदार टोली हो,’ रोनाल्डोले टाइम्स अफ इन्डियासँग भनेका छन्।
युरो कपमा विश्व विजेता टोली जर्मनी पनि रहेको छ, त्यसैले ऊ सधै उपाधिको दाबेदार टोली हो। जर्मनी पछिल्ला दुई युरो कपको संस्करणमा एकपटक २००८ मा फाइनल पुगेर चुकेको छ भने २०१२ मा सेमिफाइनलबाटै घर फर्किएको थियो।
रोनल्डोको टोली पोर्चुगल समूह ‘एफ’मा आइसल्याण्ड, अष्ट्रिया र हंगेरीसँगै छ।