मकवानपुरको हेटौंडास्थित गौटारमा जन्मिएका २५ वर्षका सुवास परियार सानैमा बुवा आमासँग काठमाडौं आए। हेटौंडामा जन्मिए पनि उनी काठमाडौंमै हुर्के। त्यसपछि १९ वर्षकै उमेरमा उनले ड्राइभिङ सिके। जुंगाका रेखी बस्दै खेरी ट्याक्सी चलाउन सिकेका उनीसँग गाडी भने थिएन। रोजगारीका लागि ट्यक्सीको खोजी शुरु गरे।
पाँच जनाको परिवारका जेठा छोरा सुवासमा परिवारको लालनपालनको अभिभारा पनि थियो। बुवा मजदुरी गर्थे, आमा गृहणी र भाइ बहिनी स्कुल पढ्ने उमेरका। केही महिनाको पर्खाइपछि उनको भाग्यले साथ दियो। कलंकीमा एकजना साहुको ट्याक्सी चलाऊन पाएँ, परिवारको मुखमा माड राख्न केही सहज भयो।
झन्डै ५ वर्ष त्यसरी नै ट्याक्सी चलाए। कहिले साहूको बचन त कहिले कमाइ नहुने। उनको जिन्दगीको हैरानी सकिएन। त्यसपछि ट्याक्सी चलाएर बस्नु भन्दा विदेशै गएर कमाउने अठोट लिए। लाखौं सपना बोकेर कतारतिर हानिए।
१८ महिना कतारमा मजदुरको रुपमा काम गरे। तर त्यहाँ पनि सोचे जस्तो भएन, भनेको भन्दा काम तलब पाए । बचत खासै नहुने, अनि घरपरिवारबाट पनि टाढा भएर बस्नु पर्ने। बरु आफ्नै देशमा दु:ख सुख ब्योहोर्छु भन्ने अठोटसाथ नेपाल फर्किए। ६ महिना अघि ट्याक्सी चालकको पुरानै पेशा शुरु भयो। उनका बाबु ठमेलमा सिलाइँकटाईको काम गर्छन। सुवास र उनका बाबुको कमाइले जेनतेन परिवारको लाई पेट पालिदै थियो। उन्का भाई बहिनी पढ्दै थिए।
बिहीवार झिसमिसै उनी माथि बज्रपात पर्यो।
रातभर ट्याक्सी चलाउने सुवास बिहीवार विहान साढे तीन बजे कलंकीबाट (बा १ ज ८२०६ नम्बरको ट्याक्सी) यात्रु कौशलटार पुर्याएर फर्कदै थिए। कोटेश्वरको ओरालोमा आइपुगेपछि दुईजना केटाहरुले हात दिए। उनले ट्याक्सी रोके। 'हामी कलंकी जानु पर्ने लान्छौ भाइ?' उनीहरुले सोधे, 'कति हो पैसा?'।
'मैले म कलंकी नै हिडेको हो दाइ, रित्तै जानुभन्दा तपाईहरुलाई २ सयमा लगि दिन्छु?' सुवासले उनीहरुलाई भने।
'मैले ट्याक्सीको ढोकामात्रै के खोल्ने भ्याएको थिएँ। पछाडि रहेको एकजनाले छिटो छिटो गर भन्यो। त्यत्ति भन्नवित्तिकै अर्कोले एक बोतल पेट्रोल ट्यासीभित्र छर्किदियो। मैले आत्तिदै के गरेको मात्र भन्न के भ्याएको थिए उनीहरुले आगो लगाए। म धन्न जसोतसो ट्याक्सीबाट बाहिर निस्कन पाए,' उनले भने, 'एकछिन त के गर्ने के गर्ने भन्ने भयो। ट्याक्सी मेरै अघि जल्यो, मेरो मुटुले ठाउँ छोड्यो।'
ट्याक्सीमा आगो लगाउने नेकमा माओवादी (विप्लवका) कार्यकर्ता हुन्।
'बिदेशबाट फर्किएर आफ्नै देशमा ट्याक्सी चलाउँदै थिए, झन्डै जिउदै जलाए,' सेतोपाटीसँग सुवास भने,‘बल्ल बल्ल राम्रो हुँदै थियो। निकै पछि ट्याक्सी पाएको थिए। तर त्यो नि आगो लगाइदिए। अब चलाउने ट्यासी पनि पाइँदैन। के गर्ने? बढो तनाव भयो।’
जवजव सुवास केही गर्न खोज्छन्, उनको जीवनले अबरोध भोगेको छ। ‘जतिबेला राम्रो काम कमाइ हुन थालेको हुन्छ त्यतिबेला यस्तो बज्रपात पर्छ, उनले भने, ‘अब कहिले ट्याक्सी पाइने हो। तपाईले देखिहाल्नु भयो नी, म यस्तो देखिन्छु अनि साहूले पत्याउँदैनन्। गाह्रो हुने भयो।’