नेपाल निजामती आधिकारीक ट्रेड युनियनको पदाधिकारी कांग्रेस, एमाले र एमाओवादी पार्टीले छान्ने भएका छन्। आफ्नो पक्षमा भारी मत आएपछि ट्रेड युनियन अध्यक्ष को बन्ने एमाले निकट कर्मचारी संगठनमा ‘रस्साकस्सी’ चलेको छ।
गत साता सम्पन्न निर्वाचनमा एमालेले सबैभन्दा बढी मत ल्याएको थियो। एमाले निकट कर्मचारी संगठनले आफ्नो भागमा अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र आठ वटा सदस्य पाउने निर्वाचन समितिले टुंगो लगाइसकेको छ।
त्यसैगरी, कांग्रेस निकट कर्मचारी संघले महासचिव र ६ जना सदस्य पाउने भएको छ। नेकपा माओवादी केन्द्र निकट कर्मचारी संगठनले सचिव र २ सदस्य पाउने छ। ‘निर्वाचन समितिले टुंगो लगाइसकेकोले अब कुन पदमा कसलाई पठाउने विषयमा छलफलपछि निर्णय हुन्छ,’ कांग्रेस निकट कर्मचारी संघका अध्यक्ष सुबोध देवकोटाले सेतोपाटीसँग भने, ‘हामी आफैं छलफल गरेर टुंगो लगाउँछौं।’
देवकोटाका अनुसार शनिबार कर्मचारी संघले पदाधिकारी छनोट गर्दैछ। शनिबार संघको बैठक बोलाइएको छ। ‘पार्टीको सहानुभूति हुन्छ नै तर हामी आफैं छान्छौं,’ उनले भने।
एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले असार २ र ३ गते बैठक बोलाएको छ। बैठकमा छलफल हुने र त्यसमा निष्कर्ष निकालिने भनिए पनि अध्यक्षमा लगभग टुंगो लागिसकेको स्रोतले जनाएको छ ।
संगठनका वर्तमान अध्यक्ष पुण्य ढकालले अध्यक्षमा आफ्नो दाबेदारी प्रस्तुत गरिरहेका छन्। आफ्नो नेतृत्वमा संगठन रहँदा देशव्यापी जित हासिल गरेकाले उनले नै अध्यक्ष दाबी गरिरहेका हुन्।
‘मै हुँ सेनापति, किनभने मैले युद्ध जितेँ,’ ढकालले भने, ‘मेरो नेतृत्वको संगठनले देशभरि जितेकाले मैले स्वभाविक रुपले पाउनुपर्छ।’ उनका प्रतिस्पर्धी गणेश बस्नेत छन्।
ढकालका अनुसार पार्टीबाट सल्लाह भएरै अध्यक्षको टुंगो लाग्छ। ‘पार्टीनिकट संगठन भएकाले उताबाट स्वभाविक रुपमै सल्लाह भएर हुन्छ।’
एमाओवादी निकट कर्मचारी संगठनका अध्यक्ष हरि रावलका अनुसार पदाधिकारी टुंगो लगाउन जेठ २८ गते बैठक राखिएको छ। ‘पार्टी, संगठन दुबैले छलफल गरेपछि टुंगो लगाउने हो,’ उनले भने।
नेकपा माओवादी केन्द्र पार्टीबाहेक रहेका कर्मचारी संगठनले अब ट्रेड युनियनको अधिकार गुमाएका छन्। मधेसी दलनिकट र वैद्य माओवादी निकट कर्मचारी संगठन त्यो गतिविधिबाट अलग भएका हुन्।
कर्मचारी युनियनको चुनावमै थ्रेस होल्ड व्यवस्था गरिएको थियो। दस प्रतिशत मत नल्याउने संगठनले कुनै पद नपाउने व्यवस्था बनाइएको थियो। अब ती संगठनले आफ्नो अस्तित्व गुमाएका छन्।