प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संविधानको कार्यान्वयनलाई बेवास्ता गरेर राज्यको ढुकुटी दुरुपयोग गर्नमा केन्द्रीत भएको आरोप लगाएका छन्।
संखुवासभाका एकै परिवारका तीन जना सगरमाथा आरोहीको सम्मानमा सांसद् दिपक खड्काले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा काँग्रेस सभापति देउवाले जारी भएको ८ महिना वितिसक्दा पनि प्रधानमन्त्री ओलीले संविधानको कार्यान्वयनलाई पूरै उपेक्षा गरेको बताएका हुन्। उनले संविधान कार्यान्वयनप्रति गम्भिर हुनुको साटो प्रधानमन्त्री ओली घरघरमा ग्याँसका पाइपलाइन पु¥याउने तथा रेल र पानीजहाज चलाउने झुटा आश्वासन बाँड्नमा सीमित भएको आरोप पनि लगाए। ।
काँग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीमाथि राज्यको सम्पतिलाई पार्टीको जस्तो सम्झेर दुरुपयोग गरेको आरोप समेत लगाए। दाताहरुले दिएको रकम खर्च गर्न नसकेपछि प्रधानमन्त्री ओलीले भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निमाणमा पार्टी समर्थित एनजीओहरुमार्फत राज्यकोषको दुरुपयोग गर्न खाजेको आरोप लगाउँदै यसमा प्रधानमन्त्रीलाई कुनै हालतमा सफल हुन नदिने बताए। उनले पुनर्निर्माणको नाममा राज्यकोषको दुरुपयोग रोक्नका लागि काँग्रेसले जस्तोसुकै कदम चाल्ने चेतावनी दिए।
कार्यक्रममा पार्टीका नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्री ओलीमाथि संविधानलाई धरापमा पार्न खोजेको आरोप लगाए। उनले प्रधानमन्त्री ओलीबाट गाउँपालिका, नगरपालिका र प्रदेशको निर्वाचन नगरीकन संसद्को निर्वाचन गर्ने अभिव्यक्ति आएको र त्यो अभिव्यक्ति संविधानलाई नै धरापमा पार्ने आशयको भएको बताए।
कार्यक्रममा संखुवासभाको मकालु गाविसका एकै परिवारका सगरमाथा आराहीहरु लाक्पा शेर्पा, मिङ्मा गेलु शेर्पा र मिङमा किपा शेर्पालाई सम्मान गरिएको थियो।