बेलायतले संविधानको कार्यान्वयनबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग चासो राखेको छ। नेपाल भ्रमणमा रहेका बेलायको विदेश मन्त्रालयका सचिव सर साइमन म्याकडोनाल्ड र अर्न्तराष्ट्रिय विकास सहयोग नियोग (डिएफआइडी)का सचिव मार्क लोककले बुधबार विहान सिंहदरबार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरी संविधानको कार्यान्वयनबारे चासो राखेका हुन्।
उनीहरूले संविधानप्रति असन्तुष्टि जनाउँदै मधेशवादी र आदिवासी जनजाति सम्बद्ध केही दलले आन्दोलन गरिरहेको सन्दर्भमा पनि चासो राखेका थिए। जवाफमा प्रधानमन्त्री ओलीले संविधानमा कुनै पनि समस्या नरहेको र असन्तुष्ट दलहरुलाई उनीहरुका मागका सम्बन्धमा छलफलका लागि सरकारले वार्ताको आव्हान गरेको बताएको प्रधानमन्त्रीका विदेश मामिला विज्ञ गोपाल खनालले जानकारी दिए।
बेलायती सचिवद्वयले प्रधानमन्त्री ओलीसँग नेपालको आर्थिक विकासका योजनाबारे पनि चासो राखेका थिए। उनीहरुले नेपाल आर्थिक रुपमा सम्पन्न होस् भन्ने बेलायती चाहना रहेको र पुरानो मित्रका नाताले त्यसका लागि सहयोग गर्न पनि इच्छुक रहेको भन्दै लगानीको सुरक्षाका बारेमा जिज्ञासा राखेका थिए।
नेपालसँग दौत्य सम्बन्ध कायम भएको २ सय वर्ष पुगेको अवसरमा नेपाल आएका बेलायती सचिवद्वयले विभिन्न राजनीतिक दलका नेताहरुलाई पनि भेट्ने कार्यक्रम छ ।