अन्तिम समयमा आएर राष्ट्रपति विद्यादेवी भण्डारीको दक्षिणी छिमेकी भारतको भ्रमण रद्द गरेको सरकारले उपराष्ट्रपति नन्दबहादुर पुनको उत्तरी छिमेकी चीनको भ्रमण स्वीकृत गरेको छ।
मन्त्रीपरिषद्को बुधबार सिंहदरबारमा बसेको बैठकले उपराष्ट्रपति पुनले यहि जेठ २८ गतदेखि गर्न लागेको चीन भ्रमण स्वीकृत गरेको हो। उपराष्ट्रपति पुनले असार २ गतेसम्म चीनको भ्रमण गर्ने कार्यक्रम छ। उपराष्ट्रपतिमा निर्वाचित भएयता पुनको यो पहिलो विदेश भ्रमण हो।
मन्त्रीपरिषद् बैठकले आर्थिक वर्षको अन्तिम समयमा दुई जना सचिवको सरुवा गरेको छ। बैठकले सिंचाइ मन्त्रालयका सचिव अनुप उपाध्यायलाई विज्ञान तथा प्रविधि र विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई सिंचाइ मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले जानकारी दिए।
मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृह जिल्ला झापाकी सिन्धु उप्रेतीलाई १६ लाख ५६ हजार रुपैयाँ दिने निर्णय समेत गराएका छन्। उप्रेती २०६२/०६३ सालको जनआन्दोलनकी घाइते भएको र उनको हाल थाइल्याण्डमा उपचार भइरहेको भन्दै प्रधानमन्त्री ओलीले थाइल्याण्डस्थित नेपाली दूतावासमार्फत उप्रेतीलाई १६ लाख ५६ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गराएका हुन्।
बैठकले स्वास्थ्य मन्त्रालय अर्न्तगत तीन जना कर्मचारीको बढुवाको निर्णय गरेको छ। बैठकले स्वास्थ्य निरीक्षण समूहको ११ औं तहमा भोगेन्द्रराज डोटेल, झलक शर्मा पौडेल र चन्द्रदेव महतोको बढुवा गरेको हो।