अम्बर गुरुङ र उनको टोलीले नेपालमा पहिलोपटक दिएको सांगीतिक प्रस्तुतिमा रत्नशमशेर थापा पनि सहभागी थिए। ०१३ सालदेखि नै गीत लेख्न थालेका थापाको परिचय त्यतिबेला चल्तीका गीतकारका रूपमा बनिसकेको थियो।
गुरुङले त्यतिबेला दिएको प्रस्तुति अझै झल्झल्ती सम्झिरहन्छन् थापा। ‘अम्बरजीले त्यतिबेला ‘नौ लाख तारा उदाए’ साँच्चै बेजोड गाउनुभएको हो,’ थापाले पाँच दशकअघिका गुरुङलाई सम्झँदै भन्छन्, ‘राजा महेन्द्रले ‘वान्स मोर’ भनेपछि त उहाँको चर्चा एक्कासि चुलियो।’
एउटा गीतकारलाई आफ्नो रचना राम्रो संगीतकार, अझ राजाले नै मन पराएको संगीतकारले कम्पोज गरिदेओस् भन्ने चाहना हुँदो हो, तपाईंलाई त्यस्तो भयो कि भएन?
‘भएन,’ सेतोपाटीको प्रश्नमा थापा भन्छन्, ‘मेरो बानी पहिल्यैदेखि जस्तोसुकै संगीतकार होस्, मेरो गीत रेकर्ड गराइदे भन्ने थिएन। मेरो मान्यता थियो, जसले आफ्ना लागि भनेर माग्छ, उसले मात्र सिर्जनाको सदुपयोग गर्न सक्छ। त्यसैले अम्बरजीसँग पनि मैले त्यस्तो कामना गरिनँ।’
रत्नशमशेरको अर्को उस्तै स्वभाव थियो, जस्तै मन परे पनि भेटी नहाल्ने। उनी सकेसम्म सबैसँग दुरी राख्थे। अम्बरको प्रस्तुति मन परे पनि उनले भेट्ने इच्छा देखाएनन्। पछि उनले चर्चा सुने, ‘राजाले यतै बस्नु भन्दा दार्जिलिङको आर्ट एकेडेमीको काम तुरुन्तै छोड्न नमिल्ने भएकाले अम्बर गुरुङ उतै फर्किए।’
यी दुईबीच अप्रत्यक्ष चिनजान भने पहिलेदेखि नै रहेछ। भारतमा प्रतिबन्ध लागेको गीत ‘नौ लाख तारा उदाए’बाट यस गीतका संगीतकार अम्बर गुरुङको चर्चा सुनिसकेका थिए। गुरुङले पनि नारायण गोपालको संगीत तथा स्वरमा रत्नशमशेर थापाको गीत ख्याल गरिसकेका थिए। ०१७ सालमै थापाका ‘ए कान्छा ठट्टैमा यो वैश जान लाग्यो’ लगायतका गीत चर्चित थिए।
पछि थापा र गुरुङ बाक्लोे संगतमा रहँदा गुरुङले थापासँग भनेछन्, ‘रत्नजी मलाई तपाईंको गीत त उतै सप्पै थाहा थियो नि। सारै मन पनि परेको थियो।’
त्यति मात्र होइन, गुरुङले विश्व बल्लभमार्फत् थापासँग दुईवटा गीत पनि मागिसकेका रहेछन्। पछि त्यो रेकर्ड भएन। थापा भन्छन्, ‘रेकर्ड नभए पनि पछि अम्बरजीले बेलाबेला सुनाइरहनुहुन्थ्यो। म्युजिक इन्स्ट्रुमेन्टबिना नै कम्पोज गरेर उहाँले नौलो प्रयोग गर्नुभएको थियो।’
त्यसो त थापाको भनाइमा यी दुईबीच जति पनि ‘सांगीतिक प्रोजेक्ट’ मा काम भए, ती सबै आफैंमा प्रयोग थिए। ‘भलै मेरो शब्दमा उहाँका प्रयोग सबै रेकर्ड हुन पाएन,’ थापा भन्छन्, ‘तर हामीले जति काम ग¥यौं त्यति नै हाम्रा लागि सुखद छ।’
...
२०२६ सालदेखि अम्बर गुरुङ नेपाल बस्न थाले पनि गुरुङ र थापाबीचको सम्बन्ध केही वर्ष ‘हाई–हेल्लो’ मा सीमित भयो। केही वर्षपछि उनीहरूको भेट दिल्लीमा भयो, जसले उनीहरुबीचको सम्बन्धमा व्यावसायिकता भित्र्यायो।
गुरुङ ‘मनको बाँध’ फिल्मको संगीतका लागि दिल्ली पुगेका थिए भने थापा स्वास्थ्योपचारका लागि। गुरुङसँग पहिलो भेट कहाँ र कसरी भयो भन्ने सम्झनामा नरहे पनि दिल्लीको भेट भने उनलाई याद छ। भन्छन्, ‘म नेपाली दूतावासभित्र एक कर्मचारीसँग गफिँदै थिएँ, अम्बरजी पनि टुप्लुक्कै आइपुग्नुभयो। एकछिन त हामी अचम्मित! बाहिर निस्किएर क्याफेमा कफी खायौं। अम्बरजीले त्यही क्याफेमा भन्नुभयो, ‘रत्नजी अब नेपाल गएर म्युजिकमा केही काम गरौं।’
फरकफरक समयमा उनीहरू नेपाल फर्किए। गुरुङ त्यतिबेला ज्ञानेश्वरमा डेरामा बस्थे। थापा गुरुङको डेरामा पुगे। चिया गफ हुँदै गर्दा गुरुङले भनेछन्, ‘रत्नजी, मेरो दिमागमा एउटा धुन आइरहेको छ सुन्नुहुन्छ?’
थापाले स्वीकृति जनाएपछि गुरुङले हार्मोनियममा धुन सुनाउन थाले। थापाले बीचैमा रोकेर भने, ‘मलाई एउटा कापी र कलम चाहियो।’
‘म प्रायः धुन तुरुन्तै टिप्न सक्छु र अक्सर शब्द पनि फुरिहाल्छन्,’ थापा गुरुङसँगको पहिलो प्रोजेक्ट सम्झन्छन्, ‘अम्बरजीले धुन सुनाउनेबित्तिकै दुई लाइन त्यहीँ लेखेँ :
स्वप्नील आँखाभरी मुस्काउँछन् सपनाहरु
वैंशालु भाकाभरी रमाउँछन् विपनाहरु।’
बाँकी लाइन उनले घरमा आएर लेखे र भोलिपल्टै बुझाए।
थापाको गीत लेखन प्रक्रिया अक्सर संगीतकारले धुन सुनाएपछि हुने गर्छ। यो गीत पनि धुन सुनाएपछि लेखिएको थियो। पछि गुरुङले धुनमा शब्द भर्न थाले।
गुरुङले थापासँग भने, ‘एउटा अक्षर चाहियो।’
‘अम्बरजीकै घरमा यो गीत बनाउँदै गर्दा होहल्ला थियो,’ थापा भन्छन्, ‘यो मेरो ‘ब्याड ह्याविट’ले पनि राम्रै काम गर्छ। चौथो खिली सल्काउने बेला झट्ट दिमागमा आयो, ‘स्वप्नील आँखाभरी मुस्काउँछन् सपनाहरु’ को बीचमा ‘लौ’ राख्ने। त्यसपछि बन्यो,
स्वप्नील आँखाभरी लौ मुस्काउँछन् सपनाहरु
वैंशालु भाकाभरी लौ रमाउँछन् विपनाहरु।’
त्यसपछिका नमिलेका लाइनमा पनि थापाले आफैंले यसरी नै ‘ट्रिटमेन्ट’ गरेपछि अम्बर गुरुङले भनेछन्, ‘वाह! रत्नजी। तपाईंसँग म्युजिक सेन्सचाहिँ गज्जबको रहेछ।’
त्यसपछिका गीतमा पनि गुरुङ थापालाई ट्रिटमेन्टमा काम लगाउँथे। आफूले डिजाइन गरेको धुनमा थापाका शब्द ठ्याक्कै नमिल्दा गुरुङ ‘रत्नजी!’ भनिहाल्थे। उनी घोत्लिन सुरु गर्थे अनि गीतको मर्म नबिग्रने गरी शब्द फाल्ने, थप्ने गर्थे।
थापा भन्छन्, ‘अम्बरजी भन्नुहुन्थ्यो, म आफैं गीत लेख्ने, संगीत भर्ने र गाउने हुँदा पनि आफैंले लेखेका गीतमा कर्ड समात्दैन। तपाईंको गीतमा चाहिँ झ्याप्पै समात्छ।’
थापाको यो गीत गुरुङकी चेली अरुणा लामाले पनि सुनिछन्। त्यतिबेला दार्जिलिङबाट आएका गायक–गायिकालाई रत्न रेकर्डिङले चारवटा कोटा दिन्थ्यो। एकल गायनका लागि ठिक्क पारेको गीतमा अरुणाले पनि गाउन मन गरेपछि गीत अम्बर गुरुङ र अरुणा लामाको स्वरमा रत्न रेकर्डिङबाट रेकर्ड भयो।
यसरी अम्बर गुरुङ–रत्नसमशेर थापाको पहिलो प्रोजेक्टले मूर्तरुप लियो।
रत्नशमेशरको घर कमलपोखरी, अम्बरको डेरा ज्ञानेश्वर। नजिक–नजिक परेकाले घर/डेरामा आउजाउ चल्न थाल्यो। घन्टौंसम्मको चिया गफमा उनीहरू संगीतबारे गफिन्थे। दोस्रो गीतका लागि पनि गुरुङले सुनाएको धुनमै थापाले गीत लेखे। त्यसपछि भने म्युजिक नेपालका सन्तोष शर्माले प्रस्ताव ल्याए, ‘रत्नशमेशर थापाको शब्द, अम्बर गुरुङको संगीतमा दुईटा एल्बम निकाल्ने।’
गुरुङले धुन जन्माउन थाले, थापाले शब्द भर्दै गए। दसवटा गीत तयार भयो। ‘दोभान’ शीर्षकमा म्युजिक नेपालले एल्बम निकाल्यो। जसमा अरुणा लामा, दीप श्रेष्ठ, रविन शर्मा, सुक्मित गुरुङले स्वर दिएका छन्।
यी दुईको भेटमा संगीतकै चर्चा हुन्थ्यो। अम्बरले धुन सुनाउन छाड्थेनन। थापा पनि लेख्नमा रोकिन्थेनन्। ‘म हेल्दी च्यालेन्ज जति पनि स्वीकार्न सक्ने,’ थापा भन्छन्, ‘अम्बरजीले मेरो अगाडि चुनौति खडा गरिदिनुहुन्थ्यो, मलाई चुनौति पूरा गर्नैपर्ने।’
गुरुङले सुनाएका धुनका लागि थापाले प्रेमगीत मात्र लेखेनन्, रिसर्च नै गरेर गीतमा इतिहास, किंवदन्तीका कथा पनि लेखेछन्। तर रेकर्ड भने हुन पाएन।
थापाले गुरुङसँगको सामीप्यमा रहँदा के कति गीत लेखे, गुरुङले कस्ता धुन बनाए। के कस्ता सिर्जना गरे भन्ने ‘रेकर्ड’ त यी दुवैसँग छैन, न अडियोमा न त लिखित। तर, थापा ७७ वर्षको उमेरमा उबेला आफूले लेखेका शब्द गुरुङको धुनसहित अझ पनि खर्ररै भनिदिन्छन्। भएको रेकर्ड त्यत्ति हो।
‘हामी दुवैको बानी उस्तै, कलेक्सन नगर्ने,’ थापा भन्छन्, ‘करिब पचासवटा गीत त रेकर्ड हुनै पाएन। कारण थियो, आर्थिक अभाव। ती गीतमा अम्बरजीले साँच्चै बेजोड प्रयोग गर्नुभएको थियो।’
यो जोडीले एउटा÷एउटा गीतमा मात्र होइन, नेपाली संगीतमा एउटा छुट्टै शैलीको गीत भित्र्यायो। त्यो थियो, ‘क्वायर’। पश्चिमा राष्ट्रमा चर्चित यो संगीतलाई नेपाली भूमिमा भित्र्याउनु आफैंमा प्रयोग भइहाल्यो।
क्वायर भन्नाले कोरस भन्ने पनि बुझिन्छ। दुई वा सोभन्दा बढी गायक–गायिकाले यसमा गीत गाउँछन्। लेखिएको शब्द गाउने तरिका पनि अरू गीतभन्दा अनौठो हुन्छ। मूलतः धार्मिक समूहबाट उत्पत्ति भएको मानिने यो संगीतको विधा बेलायती साम्राज्यवादको विस्तारसँगै एसियाली मुलुकमा भित्रिएको थियो। पश्चिमा संगीतमा पनि दख्खल राख्ने गुरुङले संगीतको यो विधालाई टपक्क टिपेर नेपाल भित्र्याए र नाम दिए, ‘संगगान।’
यस सम्बन्धमा गुरुङले भनेका छन्, ‘क्वायरलाई नेपालीमा के भनेर सम्बोधन गरिने हो अझै विवादित नै छ। किनभने नेपाली सांगीतिक, संस्कृति तथा पारम्परिक परिवेशदेखि यो बाहिर पर्यो। तथापि हामीले यसलाई ‘संगगान’ भनेर नाम दियौं।’
गुरुङले क्वायरलाई नेपालका लागि गाह्रो विधा मानेका छन्। उनले ‘स्वराञ्जली’ एल्बममा लेखेका छन्, ‘भोकलिज्म वा गायन प्रविधि पाश्चात्य संगीत प्रणालीमा भएजस्तो स्वर विभाजन नेपालमा नभएकाले सीमित साधनभित्र कुच्चिएर संगीत रचना गर्न अप्ठ्यारो र महिनौं अभ्यास गर्नुपर्छ। तै पनि नेपाली संगीतमा एउटा गाह्रो कार्य होस् भन्ने प्रयासस्वरुप फुटकर गीतदेखि खण्डकाव्यसम्म हामी उठेका छौं। यद्यपि नेपाली संगीतमा महाकाव्य लेखिन बाँकी नै छ। यति गर्न पनि हामीले कठिनाई सामना गर्नुप¥यो।’
क्वायर संगीत एल्बममा आउनेजस्तो गीत थिएन। गुरुङ नेपाल प्रज्ञा प्रतिष्ठानमा छँदा २०४९ चैत ३१ (न्यू इयर इभ) का लागि गुरुङको अवधारणाअनुसार ‘इन्द्रधनुषीय सन्ध्या’ मा १४ गायक र १४ गायिकाले क्वायर प्रस्तुति दिएका थिए। पछि ०५४ सालमा निजी तवरबाट पनि क्वायर प्रस्तुति आयोजना गरियो। यसमा भने १२ गायक र १२ गायिकाले स्वर दिएका थिए।
यी दुवै प्रस्तुतिलाई जोडेर पछि ‘स्वराञ्जली’ नाममा नेपालमा पहिलोपटक क्वायर एल्बम निस्कियो। आठ गीत समावेश एल्बममा ६ गीत रत्नशमेशरले लेखेका छन् भने २ गीत अम्बर आफैंले लेखेका हुन्।
थापा ०४९ सालको न्यू इयर इभको क्वायर प्रस्तुति सम्झन्छन्, ‘हामीले यसमा शान्तिलाई बढी लक्ष्य गरेका थियौं। त्यसबाहेक प्रकृति, राष्ट्रिय भावना, प्रेमलगायत विषय समेटेका थियौं। यसलाई धेरैले मन पराए। कार्यक्रममा आएका नेपाली भाषै नबुझ्ने विदेशी राजदूतले समेत तारिफ गरेको कार्यक्रम थियो त्यो।’
क्वायरबाहेक थापा र गुरुङ जोडीले रेडियो नेपालमा पनि अनौठो प्रयोग गर्न भ्याए। कार्यक्रमको नाम थियो, ‘सयपत्री साँझ’। त्यो जनकपुर चुरोट कारखाना लिमिटेडको सहयोगमा सञ्चालित १५ मिनेट लामो मासिक शृंखला थियो, जसमा अम्बर गुरुङ लाइभ प्रस्तुत हुन्थे। गीत लेख्थे, रत्नशमशेरले।
‘अवस्था कस्तो थियो भने चुरोटको विज्ञापन गर्नु पनि हुन्थेन, गर्नु पनि पर्थ्यो,’ थापा भन्छन्, ‘किनकि पैसा चुरोट कम्पनीले दिन्थ्यो। कम्पनीले निकाल्ने चुरोटको ब्रान्डको नाम कतै न कतै घुसाउनुपथ्र्यो। तर सुन्नेलाई थाहा दिनुहुन्थेन। सिम्बोलमा खेल्नुपर्थ्यो।’
***
रत्नसमशेर थापाले अम्बर गुरुङसँग मात्र काम गरेनन्। थापाका शब्दमा अम्बरका छोराले पनि धुन भरे।
अम्बर रत्नशमशेरलाई भन्ने गर्थे, ‘तपाईं मेरो इन्टिमेट साथी मात्र होइन, परिवारकै सदस्यजस्तो हुनुहुन्छ।’
गुरुङ मात्र होइन, थापा पनि उनलाई उत्तिकै अन्तरंग साथी मान्छन्। यति अन्तरंग हुँदा पनि उनले छनकसम्म पाएनन्, गुरुङको मस्तिष्कमा संगीतबाहेक अरु के–के चल्थ्यो?
‘हामी जहिले भेटे पनि संगीतबाहेक अरु कुरा त एकदमै कम हुन्थ्यो,’ थापा भन्छन्, ‘हामी पूर्वीयदेखि पश्चिमा संगीतसम्मका कुरा गथ्र्यौं। धेरैजसो कुरा त म बुझ्दिनथेँ। उहाँमा नेपाली संगीतलाई अन्तर्राष्ट्रियस्तरमा लैजान सकिन्छ भन्ने विश्वास थियो।’
गुरुङको एउटा अर्को स्वभाव उनलाई झनै अद्भुत लाग्दो रहेछ।
दार्जिलिङजस्तो विकसित ठाउँमा हुर्किएका अम्बर गुरुङले नेपालजस्तो अभावै अभाव भोग्नुपर्ने ठाउँमा जीवन बिताउँदा गुनासो गरेको थापाले कहिल्यै थाहा पाएनन्। ‘अम्बरजीले न आस राख्नु भो न गुनासो नै,’ थापा भन्छन्, ‘मैले त उहाँको दिमागमा संगीतबाहेक अरु कुरा चलेको थाहै पाइनँ।’
थापाले गुरुङलाई केही साताअघि एउटा कार्यक्रममा भेटेका थिए। जहाँ गुरुङ कोट, दौरासुरुवाल र दुवोको मालामा दुलाहाझैं सजिएका थिए। गुरुङलाई सम्मान गरिएको कार्यक्रमका वक्ता थिए, थापा। कार्यक्रममा उनले गुरुङसँग जोडिएका याद ताजा गरी सुनाएका थिए।
तारन्तारको अस्पताल बसाइ, थुप्रै रोगसँग जुधिरहँदा पनि अम्बरको अनुहारमा आस र गुनासो छनकसम्म भेटेनन्। गुरुङको अनुहारमा उबेलाकै ताजापन भेटे, जतिबेला उनले गाएका थिए, ‘नौ लाख तारा उदाए।’
उनले उबेलाकै अम्बर देखे। जसको अनुहारमा उनले कहिल्यै आस र गुनासोको संकेतसम्म देख्थेनन्। उनलाई यस्तो लाग्थ्यो, शान्त अनुहार तर अझै पनि संगीतको झंकार।
मंगलबारको शान्त रातमा अम्बर झनै शान्त भएका छन्।
कमलपोखरीस्थित घरको शान्त कोठामा राखिएको एउटा पुरानो क्यासेट भने बजिरहन्छ, ‘स्वप्नील आँखाभरी लौ मुस्काउँछन् सपनाहरु.....’