परराष्ट्र मन्त्रालयले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलन नेपाल मै हुने बताएको छ।
आइतबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले नेपालमा आयोजना गरिने विमस्टेकको चौथो शिखर सम्मेलनका सम्बन्धमा विभिन्न सञ्चार माध्यमबाट हालै प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
'सन् २०१४ मार्चमा म्यानमारको ने पि तोमा सम्पन्न तेस्रो शिखर सम्मेलन पश्चात नेपालले विमस्टेकको अध्यक्षता ग्रहण गरेको र अध्यक्ष राष्ट्रका हैसियतले आगामी चौथो शिखर सम्मेलनको आयोजना नेपालले गर्ने छ' विज्ञप्तिमा भनिएको छ- 'यसै सिलसिलामा नेपालले विमस्टेकको चौथो शिखर सम्मेलन आयोजना गर्ने विषय आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश भईसकेको सन्दर्भमा नेपाल सरकारले उक्त सम्मेलन आयोजना गर्न नसक्ने अर्थ लाग्ने गरी प्रकाशित भएका समाचार प्रति नेपाल सरकार खेद प्रकट गर्दछ।'
विज्ञप्तिमा नेपाल सरकार उक्त शिखर सम्मेलन समयमै सम्पन्न गर्न प्रतिवद्ब एवं सक्षम रहेको उल्लेख गर्दै सदस्य राष्ट्रहरुसँग परामर्श गरी शिखर सम्मेलनको मिति घोषणा गरिनेछ उल्लेख छ।