सरकार परिवर्तनबारे सत्तारुढ नेकपा माओवादी केन्द्रसँग भद्र सहमति भए/नभएको बारेमा पार्टीका शीर्ष नेताहरूले नै विवादास्पद अभिव्यक्ति दिइरहेका बेला प्रमुख सत्तारुढ नेकपा एमालेको स्थायी कमिटीको बैठक सुरू भएको छ ।
शनिबार सुरू भएको बैठकमा माओवादी केन्द्रसँगको सहमतिलाई मुख्य एजेण्डाको रुपमा प्रस्तुत गरिएको छ । माओवादीले वैशाखको तेस्रो साता एकाएक आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने निर्णय गरेपछि एमालेले माओवादीसँग ९ बुँदे सहमति गरेको थियो।
९ बुँदे सहमति गरेर तत्कालका लागि सरकार जोगाउने क्रममा एमालेले बजेटपछि सरकार परिवर्तन गर्ने भद्र सहमति गरेको माओवादीका नेताहरूले बताउँदै आएका छन्। माओवादीका नेताहरूको भनाइमा सही थप्दै एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले पनि राष्ट्रिय सहमतिको सरकारमा जोड दिइरहेका बेला पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भने भद्र सहमतिका बारेमा आफूलाई जानकारी नरहेको भन्दै आफू नेतृत्वको सरकार संघीय संसद्को चुनाव नगराएसम्म कायम रहने बताउँदै आएका छन्।
नेताद्वय खनाल र नेपाल निकट मानिने पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले मुलुकको राजनीतिले सहमतिको आवश्यकता महसुस गरेको भन्दै बैठकमा यस बारेमा गम्भीरतापूर्वक छलफल हुने बताए।
वर्तमान राजनीतिक परिस्थितिबारे धारणा बनाउने बाहेक नेताहरूबीचको एकता, प्रदेश कमिटी गठन, पार्टीको केन्द्रीय निकायका रुपमा रहेको सल्लाहकार परिषद्मा सदस्य मनोनयन र जेष्ठ कम्युनिष्ट मञ्च गठन पनि बैठकका एजेण्डा रहेको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए। उनले केही एजेण्डा गम्भीर प्रकृतिका भएकाले बैठक केही दिन लम्बिने बताए।