रुघाखोकी बच्चामा देखिने प्रमुख स्वास्थ्य समस्या हो। बाल्यकालमा रुघाखोकी नलागी हुर्किने व्यक्ति सायदै कोही होला। भाइरसले नाक, साइनस र घाँटी संक्रमण हुँदा रुघाखोकी लाग्ने गर्छl दुई वर्षको उमेर पुग्दा एउटा बच्चा सरदर ८ देखि १० पटक रुघाखोकीले ग्रसित हुनेगर्छ।
एउटा भाइरसले संक्रमण गराएपछि त्यसविरुद्ध उसको शरीरले प्रतिरोध गर्ने क्षमता त विकास गर्छ। तर झन्डै सयभन्दा बढी प्रकारका भाइरसले रुघाखोकी गराउन सक्ने भएकाले रुघाखोकीले बच्चालाई बारम्बार समातिरहन्छ।
रुघाखोकीको समस्या प्राय: चिसो मौसममा देखिन्छ। तर अरुबेला बच्चालाई उक्त समस्या हुँदैन भन्ने होइन। धेरै मानिस एउटै कोठामा रहँदा एकअर्कामा सजिलै सर्छ। परिवारका सदस्यबाट पानी बच्चालाई सजिलै सर्छ। सानै उमेरमा स्कुल वा शिशु स्याहार केन्द्रमा राखेका नानीहरुमा रुघा खोकी बढी देखिन सक्छ। प्राय कीटाणुहरु सर्ने भनेको हातबाट हो। कहिलेकाहीँ खोक्दा, हाछ्युँ गर्दा वा सिगानबाट एकअर्कामा सर्छ। यदाकदा कीटाणु रुमाल, टावेल, खेलौना आदिबाट पनि सर्न सक्छ।
जब बच्चालाई रुघाखोकी सुरु हुन्छ, सिगान बग्ने र विस्तारै नाक बन्द हुन्छ। हाछ्युँ आउने, खोकी लाग्ने, घाँटी दुख्ने र टाउको दुख्ने यसका मुख्य लक्ष्यण हुन्। ज्वरो आउनु, शरीर गल्नु र खेल्न मन नगर्नु, खाना नरुच्नु, पखाला लग्नु, वाकवाकी आउनु, डाबर आउनु र मुखमा घाउ हुनु भाइरल संक्रमणका लक्षणहरु हुन्। कहिलेकाहीँ सास फेर्न पनि गम्भीर समस्या हुनसक्छ।
दुर्भाग्य नै भन्नुपर्छ, रुघाखोकी निको पार्ने कुनै औषधि नै छैन। उसो भए रुघाखोकी लाग्दा के गर्नुपर्छ त? त्यसका निम्ति रुघाखोकीका कुन लक्षणले बच्चालाई असहज बनाएको छ र त्यसबाट बच्चालाई कसरी राहत दिने भन्नेबारे बुझ्नुपर्ने हुन्छ।
रुघाखोकीले सबैभन्दा बढी दु:ख दिने भनेको नाक बन्द भएर हो। त्यसका निम्ति नाक खुलाउनुपर्छ। १-२ थोपा नुन पानी नाकको दुबै प्वालमा पालैपालो राखेर नाक सफा गर्न सकिन्छ। नुनपानी भएको घोल औषधिका रुपमा किन्न पनि पाइन्छ, जुन स्प्रे गर्ने वा थोपा चुहाउने तरिकाले प्रयोग गर्न सकिन्छ।
नाकमा राख्ने औषधियुक्त झोल पनि पाइन्छ जसले केही मात्रामा सिगान कम त गराउँछ, तर लगाउन छोडे पछि झन् बढी सिगान आउनेलगायत अन्य असर देखापर्छ। सकेसम्म यस्तो औषधि प्रयोग नगर्नु नै राम्रो हो र प्रयोग गरे पनि धेरै दिनसम्म लगाउनु हुँदैन।
शिशुहरुमा नाक बन्द भएको खुलाउन हातले थिचेर थोरै बल प्रयोग गरी सिगान निकाल्ने ‘बल्ब सक्सन’ प्रयोग गर्न पानि सकिन्छ। ठूला बच्चामा त्यसरी नाक सफा गरिदिन अलि गाह्रो हुन्छ, तर नुनपानीको थोपा राखेर पुछिदिन भने सकिन्छ।
बन्द नाक खुलाउन नाकभित्र कटकटिएर बसेको फोहोर पगाली दिनुपर्छ। त्यसका निम्ति अर्को प्रभावकारी उपाए भनेको पानीको वाफ हो। तर तातोपानीको वाफले बच्चालाई नपोलोस भनेर ध्यान दिनुपर्छ। सुविधा छ भने ‘ह्युमिडीफाएर मेशिन’ प्रयोग गरेर चिसो पानीको वाफ निकाल्न सकिन्छ।
रुघाखोकीले दिने अर्को समस्या भनेको खोकी हो। खोकी वास्तवमा सास मार्गबाट फोहोर निकाल्न शरीरले देखाउने प्रतिक्रिया हो जुन फाइदाजनक हुन्छ। खोकीलाई रोक्न खोज्नु भनेको स्वासप्रश्वासको संक्रमणविरुद्ध शरीरले देखाएको स्वाभाविक र राम्रो प्रतिक्रियालाई रोक्न खोज्नु हो। त्यसकारण रुगाखोकीको उपचारमा खोकी दबाउने औषधि प्रयोग गर्नु सर्वथा अनुचित र अनावश्यक उपचार हो। अझ खोकी रोक्न प्रयोग गरिने औषधिले बच्चालाई बेहोस वा सुस्त गराउन सक्ने ‘साइड इफेक्ट’समेत हुन्छ। यस्ता कतिपय औषधि त लागुऔषधका रुपमा पनि दुरुपयोग हुने गरेको पाइन्छ। त्यसैकारण बाल उपचारका निर्देशिकाले बालबालिकामा खोकी दबाउन प्रयोग गरिनेत्यस्ता औषधि प्रयोग गर्न निषेध नै गरेको छ। तर बच्चालाई रुघाखोकी लाग्दा त्यस्ता औषधि अझै प्रयोग भएको पाइन्छ, जुन दु:खद कुरा हो।
लगातार धेरै बेरसम्म खोकी लागि रहँदा पक्कै पनि हामीलाई चिन्ता लाग्छ। बच्चा खोकी रहेको देख्दा र अझ बच्चाले खोक्दाखोक्दै वान्ता गर्दा वा सास अड्केझैँ गरेको देख्दा आफैं ठीक हुन्छ भनेर सम्झाउन डाक्टरलाई समेत गाह्रो हुने गरेको देखेको छु। खोकी कम गर्ने केही साधारण उपाए प्रयोग गर्दा बच्चालाई अलि सजिलो हुन्छ र हामीलाई पनि केही गर्दै छौं भन्ने ढाडस मिल्छ।
मह खोकी लागेको एक वर्षभन्दा बढी उमेरका बच्चालाई दिन सकिने सुरक्षित उपाय हो। १ देखि ५ वर्षसम्मका बच्चालाई आधा चम्चा, ६ देखि ११ वर्ष सम्मकालाई १ चम्चा र १२ वा त्यो भन्दाबढी उमेरकालाई २ चम्चा सुत्ने बेलामा दिने हो भने खोकी कम हुनुका साथै खोक्दा पनि सजिलो हुन्छ। महलाई कागती, तुलसी आदिसँग पानीमा राखेर दिन पनि सकिन्छ। त्यस्तै कुराहरु राखेको झोल औषधि पनि बजारमा उपलब्ध छ। ठूला बच्चालाई कहिलकाहीँ डाक्टरले दिएको सुरक्षित डोजमा केही दिन खोकीको औषधि प्रयोग गर्न भने सकिन्छ। त्यस्तो औषधि अवस्था हेरेर निश्चित प्रयोजनका लागि दिने गरिन्छ।
रुघाखोकीका कारण कहिलेकाहीँ ज्वरो पनि आउन सक्छ। धेरैजसो अलिअलि मात्र ज्वरो आउने भए पनि कहिलेकाहीँ सिगान बग्न थाल्दा चर्को ज्वरो समेत आउँछ, जुन केही दिनसम्म रहन सक्छ। त्यसका निम्ति ज्वरो कम गर्ने औषधि पारासिटामोल खुवाउनुपर्छ। ६ महिना भन्दाबढी उमेरका बच्चालाई पारासिटामोल मात्र प्रयोग गर्दा ज्वरो कम भएन भने कहिलेकाहीँ ‘आइबूप्रोफेन’ थप गरेर केही दिन खुवाउन सकिन्छ। तर ‘स्पिरिन’ भनिने ज्वरोको औषधि भने रुघाखोकी लागेका बच्चालाई कहिल्यै दिन हुँदैन।
बच्चालाई उसको तौलअनुसार दिएको डोज राम्ररी यकिन गर्न भुल्नु हुँदैन। खोकी रोक्न वा रुघा कम गर्ने भनेर दिइने (तर दिन नहुने) कतिपय औषधिमा ज्वरोको लागि पारासिटामोल पनि थपिने हुँदा डोज दुई गुणा पर्न सक्ने कुरामा पनि सावधान हुनुपर्छ।
रुघाखोकी लागेका बच्चामा दिने गरेको औषधिमध्ये हामीले ‘एन्टिबायोटिक्स’ पनि देख्ने गरेका छौं। यो ब्याक्टेरियाले गर्ने संक्रमणको लागि उपयुक्त हुन्छ तर भाइरसले गर्ने रुघाखोकीको लागि होइन।
सामान्य रुघाखोकी लागेको बच्चालाई केही खाने कुरा बार्नु पर्दैन। बरु रुचीअनुसार पटक-पटक गरेर पोषिलो आहार दिनुपर्छ। आमाको दुध चुस्ने बच्चालाई साबिकको भन्दा बढी दुध चुसाउनुपर्छ। रुघाखोकी लागेका बच्चालाई पर्याप्त आराम दिनुपर्छ र प्रशस्त मात्रामा झोल कुरा खुवाउनु पर्छ।
रुघाखोकी लाग्दा केही दिनपछि खोकी आफैं हराएर जान्छ। कति दिनसम्ममा खोकी ठीक हुन्छ भनेर यकिन गरेर भन्न गाह्रो छ, तर सामान्यतया एक हप्तामा खोकी कम हुँदै हराएर जान्छ। विभिन्न खालका भाइरसले फरक-फरक बच्चामा फरक अवधिसम्म खोकी लाग्ने भएकाले खोकीको कारण खासै डराउनु पर्दैन। तर रुघाखोकी लागेको बच्चामा कुनै सुधार भइरहेको छैन, एक-दुई हप्ताभित्र पूरै ठीक भएको छैन वा अरु कुनै नयाँ लक्षण देखिएको छ भने तपाईंले बच्चालाई फेरि डाक्टरलाई देखाउनुपर्ने हुन्छ।
खोकीसँगै सास छिटो-छिटो फेर्ने, सास फेर्न गाह्रो हुने, कोखा हान्ने, घ्यारघ्यार गर्ने, नीलो हुने वा सास फेर्दा अस्वाभाविक आवाज आउने, ज्वरो आउनेजस्ता समस्या देखिएका छन् भने त्यो साधारण रुघा खोकी होइन। निमोनियाँ, दम, क्रुप, क्षयरोग, मुटुको समस्या, सर्काउने समस्या आदि खोकी लागेको बच्चामा देखिन सकिने केही गम्भीर रोगहरु हुन् र त्यसका निम्ति थप उपचार चाहिने हुन्छ।
सामान्य ज्वोरो आउँदैमा र रुघाखोकी लाग्दैमा बच्चाको नियमित खोप छुटाउनु हुँदैन। खोप लगाउँदा सामान्य ज्वरो आउनसक्ने भए पनि त्यसका लागि पारासिटामोल दिएर ठीक गर्न सकिन्छ। खोप छुट्यो भने गम्भीर खालका रोगहरु लाग्न सक्छन् जुन रुघाखोकी लागेका बेला अझ बढी मात्रमा देखिने हुन्छ।
रुघाखोकी विभिन्न प्रकारका भाइरसले गर्नसक्छ जसका विरुद्ध खोप छैन। तर इन्फ्लुएन्जा भाइरसले रुघाखोकी वा ज्वरो आउनबाट बचाउन खोप लगाउन सकिन्छ। उक्त खोप नियमित खोप कार्यक्रम अन्तर्गत नपर्ने भएकाले किनेर लगाउनुपर्ने हुन्छ। छ महिना माथिका बच्चालाई उक्त खोप दिन सकिन्छ। तर वर्षैपिच्छे इन्फ्लुएन्जा भाइरस नयाँ-नयाँ तरिकाले देखिने हुँदा उक्त खोप वर्षेनि लगाउनुपर्ने हुन्छ। मुटुको समस्या, दमजस्ता दीर्घ समस्या भएका बालबालिकाहरुको लागि यो खोप बढी उपयोगी हुनसक्छ।
आफ्नो बच्चालाई पटक-पटक रुघाखोकी लाग्नबाट बचाउन तपाई आफैं चनाखो हुनुपर्छ। हात धुनु बच्चालाई रुघाखोकी सर्नबाट बचाउने सबैभन्दा राम्रो उपाए हो। खोक्दा, हाछ्युँ गर्दा, नाक पुछ्दा वा बिरामी बच्चाको स्याहार गर्दा तपाईंको हातमा कीटाणु लागेका हुन्छन् जुन अर्को बच्चामा तुरुन्त सर्नसक्छ। त्यस्तो बेला साबुन पानीले हात धुनु भयो भने रोग सर्न पाउँदैन। साबुन-पानीको सट्टा हात सफा गर्ने औषधि भएको झोल प्रयोग गर्न सकिन्छ।
साना दीर्घ रोगी बच्चालाई सामान्य रुघाखोकीले पनि धेरै दु:ख दिन सक्ने भएकाले संक्रमित व्यक्तिबाट सधै टाढा राख्नुपर्छ। बच्चालाई पनि सिगान पुछ्ने र खोक्दा मुख छोप्ने तरिका सिकाउनुपर्छ। बिरामी बच्चाले प्रयोग गरेका रुमाल, खेलौना र खुवाउने भाडा राम्ररी सफा नगरी अरुले प्रयोग गर्नु हुँदैन। रुघाखोकी लागेका बच्चालाई पूरै ठीक नभइकन स्कुल वा स्याहार केन्द्रमा पठाउनु हुँदैन।
(बाल रोग विशेषज्ञ डाक्टर धरेल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपप्राध्यापक हुन्।)