स्याङजाको सिरुबारीबाट २०५४ सालमा सुरु भएको होमस्टे पर्यटन देशभर फैलिएको छ। देशका सयौं गाउँमा होमस्टे सुविधा पाइन्छ।
पर्यटकीय गतिविधि, अतिथि सत्कार र कुशल व्यवस्थापनका हिसाबले केही गाउँ नमुना बनेका छन्।
आन्तरिक पर्यटन प्रबर्धन गर्न नेपाल पर्यटन बोर्डले २०७३ साललाई घुमफिर वर्ष घोषणा गरेको छ। त्यसैले होमस्टे सुविधा भएका गाउँ भ्रमण गर्दा सस्तो, रमाइलो र ज्ञानबर्धक हुन्छ।
देशका बिभिन्न जिल्लामा रहेका होम स्टेहरुको अनुगमन गरिरहेको पर्यटन व्यवसायीहरुको संस्था गाउँ पर्यटन प्रबर्धन मञ्च (भिटोफ) नेपालले पश्चिम नेपालका पाँच वटा गाउं प्रर्वद्धन गर्ने भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको नवलपरासीको अमलटारी, बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र डल्ला, शुक्लाफांटा बन्यजन्तु आरक्षसंगैको रानाथारु गाउं, कैलालीको भादा र बांके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको गाभर भ्याली प्रर्बद्धन गर्न भिटोफले अभियान चलाउने भएको हो ।
सोही अभियान सफल बनाउन भिटोफ नेपालले महासचिव राजकुमार थापाको नेतृत्वमा हालै पश्चिम नेपालमा अध्ययन तथा अवलोकन भ्रमण समेत गरिएको छ। बिशेष गरी पश्चिम नेपालका नवलपरासी, बर्दिया, बांके र सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका थारु होम स्टेहरुमा अवलोकन गरिएको हो ।
लमजुको काउलेपानी, कास्कीको ह्याजाकोट, तनहुंको तनहुसुर लगायतका होमस्टेहरुमा सहयोग गर्दै आएको भिटोफले पश्चिम नेपालका थारु होमस्टेहरु उतकृष्ट गन्तव्य भएको जनाएको छ । महासचिव राजकुमार थापाले अबको गन्तव्य भनेको पश्चिम नेपाल रहेकोले सबै क्षेत्रबाट यसको प्रचारमा जुट्नुपर्ने बताए ।
भिटोफले आफ्ना सदस्यहरु मर्फत प्याकेज बनाएर स्वदेश तथा विदेशका पर्यटकहरुलाई ती क्षेत्रहरुमा घुमाउने प्रतिबद्धता समेत जनाएको छ ।
नवलपरासीको अमलटारी
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्र नवलपरासिको बाघखोरमा सञ्चालित अमलटारी होमस्टेमा पर्यटकको चपा बढ्दै गएको छ। अमलटारीको बाघखोरमा थारु र बोटे समुदायका २१ घरमा होमस्टे सुविधा छ।
कावासोती नगरपालिका–१५ मा अबस्थित होमस्टे विसं ०७० जेठ ५ गते सुरु गरिएको थियो। ‘दिनदिनै पर्यटक बढिरहेका छन्', सामुदायिक होमस्टेका अध्यक्ष प्रेम शंकर मर्दनिया थारु भन्छन्, ‘अहिलेसम्म करिब २१ हजार जनाले अमलटारीमा रात विताइसकेका छन्।'
तीनमा करिब एक हजार भन्दा बढी विदेशी छन्, बाँकी नेपाली हुन्। विदेशीमा अबमेरिका, थाइलेण्ड, अष्टे्रलिया, क्यानडा, चीन लगायत देशका छन्।
जैबिक विविधता संरक्षणसँगै आय आर्जन बढाउन होमस्टे सुरु गरिएको थियो। हरेकले दुई दुई कोठे होमस्टे भवन बनाएका छन्। होमस्टे सञ्चालकले मासिक १५ देखि ३० हजार रुपैयाँ आम्दानी गर्छन।
गाउँमा आइपुग्ने पर्यटकले थारु, बोटे र मुसहर संस्कृतिका साथै जंगल सफारी, बोटिङ र बयल गाडामा गाउँ भ्रमण गर्न पाउँछन्। पर्यटक बढ्दै गएकाले थप ४ वटा घरमा होमस्टेको तयारी भैरहेको छ।
सेप्टेम्बर २७ विश्व पर्यटन दिवसका अबसरमा सरकारले गाउँ गन्तव्य घोषणा गरेका तीन वटा गाउँ मध्ये अमलटारी एउटा हो। बाँकी दुई गाउँमा म्याग्दीको टोड्के र कास्कीको हयाङजाकोट छन्।
गाउँ पर्यटन प्रबर्धन मञ्च (भिटोफ) नेपालको सिफारिसमा सरकारले गाउँ गन्तव्य घोषणा गरेको थियो।
कस्तो छ सुविधा
प्याकेजमा स्वागत, सांस्कृतिक कार्यक्रम, सामुदायिक वनमा हात्ती सफारी, नारायणीमा बोटिङ, थारू संग्रहालय भ्रमण, पोखरीमा फिसिङ, बर्ड वाचिङ र खाना तथा बास हुन्छ।
कसरी पुग्ने?
अमलटारी पुग्न बुटवल–नारायणगढ सडक खण्ड अर्न्तगत पर्ने कावासोती नगरपालिकाको डण्डा बजारबाट करिब १२ किमि भित्र जानु पर्छ।
सम्पर्कः अमलटारी होमस्टे : प्रेम शंकर थारु(अध्यक्ष) – ९८०२६३७८२५
कैलालीको भादा गाँउ
कैलालीको भादा गाउँमा थारू होमस्टे छ। थारूको खानपिन, जीवनशैली, संस्कृति हेर्न पर्यटक आउँछन्। उर्मा गाविस–८ भादामा १८६ घर छन्। १९ घरमा पाहुना राखिन्छ। ०६७ पुसदेखि होमस्टे चलाइएको हो।
पाहुनालाई थारु परिकार चिँचर, लोकल कुखुरा, माछा र रक्सी आदि खुवाइन्छ। साँझ सखिया, हुर्दङवा, झुमरा र मघौटा, लट्ठी नाच देखाइन्छ। लहरुमा गाउँ डुल्न सकिन्छ। भादाबाट ५ किमि दुरीमा बेहडाबाबा मन्दिर छ। गाउँबाट लिन र पुर्यानउन धनगढी, झिल र राजीपुरसम्म लहरु (गोरु गाडा) आउँछन्।
कस्तो छ प्याकेज
१ रातको ६ सय रुपैयाँ। यति रकमले बास, लन्च, डिनर र ब्रेकफास्ट पाइन्छ। साँस्कृतिक कार्यक्रम हेर्न छुट्टै तिर्नु पर्छ।
कसरी पुग्ने :
काठमाडौं–धनगढी ६७५ किमि। धनगढीबाट बेली हुँदै भादागाउँ पुग्न १७ किलोमिटर। पूर्वपश्चिम राजमार्गको चौमाला खण्डको राजीपुरबाट ७ किमि र झिलबाट १२ किमि पर्छ।
सम्पर्क : लक्ष्मीनारायण चौधरी–९७४९०२८००४
रानाथारु गाउँ
नेपालमै पहिलो पटक रानाथारू समुदायले कञ्चनपुरमा राना थारु सामुदायिक होमस्टे शुरु गरेका छन्। राना संस्कृति र परम्परा जोगाउन तथा त्यसको माध्यमबाट आर्थिक उन्नति गर्न भीमदत्त नगरपालिका वडा नम्बर १४ र १६ नयाँ बस्तीका राना समुदायले होमस्टे संचालनमा ल्याएका हुन् ।
बारसिंगाको बथानका लागि दक्षिण एशियामै प्रख्यात शुक्लाफांटा वन्यजन्तु आरक्षको किनारामै राना समुदायले होमस्टे शुरु गरेपछि पर्यटन गतिविधि बढेको छ । २०७२ मंसिरको अन्तिम साता उद्घाटन भएको नयां शैलीको होमस्टे अवलोकन र भ्रममणका लागि ६ महिनाको अवधिमा पांच सयभन्दा बढी टोली आइसकेको राना थारु सामुदायिक होमस्टेका अध्यक्ष सुमन रानाले बताए ।
यहाँ आउने पर्यटकका लागि स्थानीयहरुले राना समुदायको संकृति झल्कने नाचहरु समेत देखाउने गरेका छन् । गाउंको चारैतिर पर्यटकहरु रमाउने प्रशस्त ठाउं र सदरमुकाम महेन्द्रनगरबाट करिब ३ किलोमिटरको दुरिमा राना थारु सामुदायिक होमस्टे भएकाले नयां बस्तीको राना होमस्टे चर्चित बन्दैछ ।
होमस्टेले तिन दिनको प्याकेज बनाएर पर्यटकलाई घुमाउने योजना पनि बनाएको छ । होमस्टे संचालनका लागि सहयोग गरेका महेन्द्रनगरका होटल व्यवसायी परमानन्द भण्डारीले दोधारा चांदनीको झोलुङ्गे पुल, शुक्लाफांटा, रानीताल, पिपरैयाको हात्तीसार, हिरापुरको कृष्णसार संरक्षण केन्द्र, बेदकोट ताल, झिलमिला ताल, बाबाताल, सिंहपाल मन्दिर जस्ता पर्यटकीय ठाउँहरु रहेको बताए । यहां अहिले ८ घरमा होमस्टे संचालनमा छन् ।
यस्तो छ प्याकेज
राना थारु होम स्टेमा सादा खाना १ सय ३०, मासु खाना साढे दुई सय र बासको प्रतिकोठा ४ सय तिर्नुपर्छ । राना थारू संस्कृति देखाइन्छ।
कसरी पुग्ने :
काठमाडौं–महेन्द्रनगर–सात सय किमि। साँझ काठमाडौंबाट महेन्द्रनगर जाने बस छुट्छन्। महेन्द्रनगर–शुक्लाफाँटा ६ किमि।
सम्पर्क: चेतराम राना थारु(सचिव) – ९८४८७०५४४७
गाँभर भ्याली सामुदायिक होमस्टे
बाघ संरक्षणका उदेश्यले स्थापित बांके राष्ट्रिय निकुञ्ज तथा चुरे पहाडले घेरेको भावर क्षेत्रमा पर्ने गाभर भ्याली पर्यटकीय आकर्षणको केन्द्र बिन्दु हो । बांके जिल्लाको कोहलपुर चौराहदेखि ७ किलो मिटर उत्तर सुर्खेत रोडमा पर्ने चिसापानी गाविसको वडा नम्बर ९ मा अवस्थित गाभर भ्याली जैबिक बिबिधताले भरिपूर्ण छ । यस क्षेत्रमा दुर्लभ बन्य जन्तु पाटे बाघ, चौसिंघा, हात्ती, बाह्र सिंगे, निल गाई लगायतका वन्यजन्तुको बासस्थान रहेको छ ।
कसरी पुग्ने
यहांसम्म पुग्न काठमाडौंबाट चिसापानी चोकसम्म गाडीमा र चिसापानी चोकबाट गाभर भ्यालीसम्म डेढ किलो मिटर पैदल यात्रा गर्न सकिन्छ ।
कस्तो छ सुविधाः
यहां थारु नाच, डेउडा नाच, पञ्चेवाजा, ढाल तरबार नाचको मज्जा लिन पाइन्छ । गाभर भ्यालीमा पांच वटा घरमा होमस्टे संचालन गरिएको छ ।
सम्पर्क : कृष्णलाल चौधरी(अध्यक्ष) –९८५८०२६५१७, ९८४८०९२०३२
डल्ला
बर्दिया राष्ट्रिय निकञ्जको मध्यवर्ती क्षेत्र डल्लामा होमस्टे सुविधा छ। सूर्यपटुवा–४ डल्लाका २२ थारू घरमा। १ घर कुमालको हो भने बाँकी थारूका। साँझ सामुदायिक भवनमा सांस्कृतिक कार्यक्रम देखाइन्छ। झुमरा, लठ्ठी, मजिरा र छोकरा नृत्य।
शिव सामुदायिक वनका उपभोक्ताले संरक्षणसँगै पर्यटनबाट आम्दानी लिन ०६७ फागुनबाट होमस्टे चलाइएको हो। बर्दिया राष्ट्रिय निकुञ्जको सन् २०१२ को तथ्याङक भन्छ, बर्दियामा ५० बयस्क बाघ र २९ गैंडा छन्। होमस्टेमा बसेर सामुदायिक वनमा सफारी गर्दा गैंडा लगायत जनावर देखिन्छ। निकुञ्ज हेडक्वार्टर ठाकुरद्वारामा गोही प्रजनन, थारु संग्रहालय र ठाकुरबाबा मन्दिर छन्।
कस्तो छ प्याकेज
१३ सय रुपैयाँको प्याकेजमा डिनर, ब्रेकफास्ट, बास र स्वागत सुविधा हुन्छ। दालभात, तरकारी, अचारदेखि थारू खाना घोंगी, चिँचर, माछा, लोकल कुखुरा, मुसाको पकुवा, महुवाको रक्सी आदि पाइन्छ।
कसरी पुग्ने:
काठमाडौंबाट–ठाकुरद्वारा बसमा १४ घन्टा। पूर्व–पश्चिम राजमार्गको अम्बासाबाट १३ किमिमा ठाकुरद्वारा। ठाकुरद्वारा–डल्ला ५ किमि। नेपालगन्ज–ठाकुरद्वारा ९० किलोमिटर।
सम्पर्क : परशुराम चौधरी –९८४४८२३३०८, मंगल थारु(अध्यक्ष) – ९८४८२५४८३६