उडि उडि हिंड्छ मन चियाबारीमा
नाचि-नाचि डुल्छ मन चियाबारीमा
जेफाले डाँडाबाट चिहाउँदा हरियो बिछ्यौना ओछ्याएजस्तो देखियो चिया बगान। विशुद्ध हावाको वहाबले शरीरको अङ्ग–अङ्ग नै स्फ्रुटित भयो। शरीर डाँडामा भएपनि मन भने चियाबारीमा झुमिरहेको थियो। डा“डामाथिबाट हेरे हाबेचौर वस्ती सुन्दर लाग्यो। त्यसको अलि पर्तिर पनि चियाबारी। झनै नजर डुलाउँदै गए लमतन्न तराईका हरिया फाँटहरु। पल्लोपट्टीको डाँडाबाट पाथिभरा माताले आशिर्वाद प्रदान गरिरहेकी जस्तो लाग्ने। उत्तर हेर्दा बिशाल हिमश्रृंखला मुस्कुराउँदै स्वागत गरिरहेको देखिने।
मकालु, कुम्भकर्णलगायतका हिमालहरु मज्जाले देखियो। जेफाले यति सुन्दर पहाडी क्षेत्र। तर, पनि तराईको मोरङमा पर्ने। सिंहदेवी गाउँ विकास समितिअन्तर्गत पर्ने जेफालेमा सबेरै सूर्योदयको आनन्द लिन सकिन्छ। तर, त्यसका लागि भने दिन उघ्रिनु पर्दछ।
तराईमा प्रचण्ड गर्मी हु“दा पनि जेफालेमा बाक्लो कपडा लगाउनु पर्दछ। मुस्ताङ जत्तिकै हावा चल्दछ त्यहाँ। बिहान र बेलुका हावाको बेगले शरीर नै उडाउँला कि भन्ने पिर। पर्यटकीय गन्तव्यको रुपमा चर्चा बटुल्न थालेको छ जेफालेले। धरानबाट करिब १६ किलो मिटर उत्तरतर्फ भेडेटार छ। भेडेटार पूर्वको पर्यटकीयस्थलको रुपमा स्थापित भइसकेको छ। त्यहा“बाट नाम्जे, डाँडाबजार, राजारानी, मौनाबुधुक पार गर्दै मोरङको सिंहदेवी सिम्मुवा आइपुगिन्छ। सिम्मुवाबाट पैदल जाने हो भने २५ मिनेटमा पुग्न सकिन्छ हाबेचौर वस्ती। बाटो अलिक साघुँरो भएकाले ठूला बसहरु पुग्नलाई अप्ठ्यारो पर्दछ।
तर, साना गाडीहरु भने सजिलै वस्तीसम्म नै पुग्छन्। पर्यटन मौलाउनका लागि गन्तव्यसम्म पुग्न सहज यातायातको आवश्यकता पर्दछ। स्थानीयहरु वस्तीसम्म बाटो बनाउन लागि परेका छन्।
पर्यटन दिनप्रतिदिन परिमार्जित हुने क्षेत्र हो। धार्मिक यात्राबाट सुरु भएको पर्यटन। आधुनिक युगसम्म आइपुग्दा मनोरञ्जनका साथै सिकाइको रुपमा लिन थालिएको छ। घुम्नकै लागि समय र साधन छुट्याउने गरिन्छ। अहिले सबैजना द्रुत गतिमा कार्य गर्न रुचाउँछन्। केही समय आरामको आवश्यकता पर्दछ। मानिसलाई सधैंभन्दा फरकपनको आवश्यकता हुन थालेको छ। मानिसहरु दोहोर्याएर गइरहने गन्तव्यभन्दा नयाँ स्थानको खोजी गर्छन्। पूर्वमा पनि पर्यटनको लहर चल्न थालेको छ। यसैले आफ्नो वरिपरिको स्थानलाई पर्यटन क्षेत्र बनाउन लागि पर्नेको जमात बढ्दो छ। भर्खरै पर्यटकीय गन्तव्यको रुपमा परिचित हुँदैछ जेफाले।
पूर्वमा पर्यटन गन्तव्य र पूर्वाधारहरु मौलाउँदै गइरहेका छन्। अब दक्ष जनशक्तिको खाँचो छ। पूर्वका उच्च माविहरुले दक्ष जनशक्ति उत्पादनका लागि पर्यटनको विषय अध्यापन गराउँदै आएका छन्। ‘हस्पिटालिटी’ विषयलाई समावेश गरेको धरान उच्च मा.वि.मा म पनि अध्यापन गराउँदछु। विद्यार्थीलाई किताबी ज्ञानको साथै प्रयोगात्मक ज्ञानको पनि आवश्यकता पर्दछ। परीक्षामा सैद्धान्तिक पाटोबाट लेखाइ। अनि, प्रयोगात्मक पाटोबाट नयाँ गन्तव्यस्थलको विषयमा ‘प्रोजेक्ट’ तयार गर्नुपर्ने हुन्छ। यसैले विद्यार्थीलाई विभिन्न पर्यटकीय स्थान अवलोकन गराइ त्यहाँको अवस्था र समयसामयिक विषयमा ‘प्रोजेक्ट’ तयार गर्न लगाइन्छ। अघिल्लो वर्षका विद्यार्थीलाई पूर्वको परिचित पर्यटकीय गन्तव्य इलाम लगिएको थियो भने यसपटक जेफाले रोजियो। विद्यार्थीले गाउँले परिवेश, सामाजिक र पर्यावरणीय पर्यटनको प्रत्यक्ष अनुभव गरे जेफालेमा। आफ्ना पाहुनाको स्वागत गर्ने प्रचलन बनाएका रहेछन् हाबेचौरवासीले। प्रशस्तै लालीगुराँस फुलेका थिए। आफूसँग भएको चिजको सदुपयोग गर्दै लालीगुराँस र धुपीका साना–साना गुच्छा अबिरको साथै अर्गानिक ग्रीन टी पिलाएर स्वागत गरियो।
जेफाले पर्यटन प्रवद्र्धन समितिको सभाहलमा स्वागत कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरुलाई पर्यटन विकासका लागि सामुदायिक पहलका बारेमा गाउँलेले जानकारी गराए। हामी ३० जना थियौ। एकै घरमा अटाउन सम्भव थिएन। त्यहाँ पाँच घरमा घरवासको व्यवस्था शुरु गरिएको रहेछ। हामी बाँडफाँड भएर उहाँहरुको पछि–पछि लाग्यौं। तिनै पाँचवटै घरमा हामीलाई राखियो। घरधनीसँग होमस्टेले बनाएका नीति–नियम बारे चर्चा भयो।
हाम्रा शैक्षिक संस्थाहरुले आधुनिक शिक्षा प्रणाली अवलम्बन गरिरहेका छन्। आतिथ्यतालाई मूल विषयको रुपमा अध्ययन गरिरहेका विद्यार्थीले जेफालेमा परम्परागत शैलीको आतिथ्यता चाख्न पाए। आफूसँग भएका चिजलाई थोरै सजाएर मौलिकता दिन सके पर्यटन मौलाउने बुझे। जेफालेको आतिथ्यता र वातावरणले उनीहरुको मनमा डेरा जमाएछ। नयाँ वर्षको छुट्टीमा साथीभाइस“ग रमाइलो गर्न कहाँ घुम्न जाने भन्दा उनीहरुले जेफाले रोजे। वैशाख १ गते सबेरै उनीहरु जेफाले हुइ“किए। पुनः जेफालेवासीको स्वागत र सत्कारको मज्जा लिए। कलेज आएर उनीहरुले त्यस कुराको तारिफ गर्न भने भुलेनन्।
जेफाले डाँडामा आगन्तुकको फाट्टफुट्ट आवागमन हुन थालेको छ। सुरु–सुरुमा वस्तीमा नै घरको पाहुनाको रुपमा स्वागत गरिन्थ्यो आगन्तुकलाई। सरकारले देशको आर्थिक मेरुदण्ड पर्यटनलाई बनाउने नीति लिएको छ। सबैतिर पर्यटनको चासो जाग्न थालेपछि। हाबेचौरवासीहरुले पनि यसलाई सामाजिक साथै व्यवसायिक हिसाबले लैजादा छिटो विकास गर्न सकिन्छ भन्ने बुझेको भान भयो। घरवासको सुरुवात गरेर गाउँलेले पाहुनालाई सेवा दिनका साथै आफ्नो पनि आयआर्जनको बाटो बनाएका छन्। समितिले नै घरवासमा एकैनासको दररेट तयार गरेर पाहुनाले देख्ने ठाउँमा टाँगेर राखेका छन्। समय र अवस्था हेरेर कहिलेकाहीँ पाहुनालाई छुट दिने व्यवस्था पनि रहेको समितिले।
सैद्धान्तिक रुपमा हेर्ने हो भने पनि पर्यटनमा आकर्षण, पहुँच, खाना वा वास र सुविधालाई जोड दिइएको पाइन्छ। विज्ञको सल्लाहबमोजिम गाउँलेले आकर्षणको रुपमा ‘भ्यु टावर’ को निर्माण गरेका छन्। करिब २ सय ५० रोपनी जग्गामा ‘भ्यु टावर’ साथै पार्क बनाउने योजनाका साथ अघि बढेको छन्। उक्त भ्यु टावर तयार भएको रहेछ। पार्कहरु भने निर्माणाधीन अवस्थामै थियो। सहज पहुँचका लागि बाटो निर्माण कार्य पनि अघि बढाइरहेका छन्। पूर्वका आगन्तुकलाई सहजताका लागि केराबारीबाट पनि सडक बाटो छ। केराबारीबाट करिब २६ किलोमिटर मात्र पर्दछ जेफाले। पाहुनालाई खाना–बस्न सहज बनाउनका लागि जिविस र वस्तीको सहकार्यमा होमस्टेको सुरुवात गरेका छन्। होटेल तथा रिसोर्टको योजना पनि रहेछ। जेफाले पर्यटन समितिको अगुवाइमा करिब ३० जनाले घरवासको तालिम लिएका थिए। पाँचवटा घरमा एक पटकमा करिब ३० जनालाई होमस्टेको सेवा प्रदान गर्न सक्ने रहेछ ।
पूर्वमा पनि घुम्नका लागि प्याकेजको अवधारणा भित्रिरहेको छ। जेफाले होमस्टेले प्याकेज विकास गर्ने योजना बनाउनु पर्छ। गाउँसम्म आएका पाहुनालाई दोहोर्याएर आउनु आकर्षित गर्नका लागि प्याकेज बनाउँदा विज्ञहरुसँग छलफल गरेर प्रचारप्रसार गर्नुपर्छ। साँझ बसेका पाहुनालाई बिहान जेफाले भ्यु पोइण्टलगायत गाउँ घुमाउने व्यवस्था गरिनु पर्दछ।
जेफाले ‘भर्जिन डेस्टिनेसन’ हो। यसको प्रचारप्रसार गर्न सके पूर्वमा पर्यटकीय गहना थपिन्छ। पर्यटनलाई दिगो बनाउन एउटा क्षेत्रलाई मात्र पर्यटकीय गन्तव्यको विकास गरेर हुँदैन। त्यसका वरिपरि रहेका अन्य क्षेत्रलाई पनि जगेर्ना गरेर सहायक गन्तव्य तयार पार्नु पर्दछ। यसले एक गन्तव्यमा नभएको स्वाद अर्को गन्तव्यमा दिन सकिन्छ। यसो हँदा यस क्षेत्रमा भित्रिने पर्यटक लामो समयसम्म अल्मलिन सक्दछन्।