धनुषाको ग्रामिण क्षेत्र र सहरी क्षेत्रका सामुदायिक विद्यालयमा शिक्षक दरबन्दीमा ठूलो विभेद् भेटिएको छ। दरबन्दीको विभेदका कारण ग्रामिण क्षेत्रका विद्यालयमा सिकाइ उपलब्धि २० प्रतिशत भन्दा कम देखिएको छ भने सहरी क्षेत्रका शिक्षकहरुले विद्यार्थीको अभावमा हाजिर मात्र गरेर तलब खाने सुविधा पाएका छन्।
उपजिल्ला शिक्षा अधिकारी दानीकान्त झा कक्षा कोठामा प्रवेश गर्दा नेपाली शिक्षक विद्यार्थीहरुलाई पढाइरहेका थिए । शिक्षकलाई एकछिन रोकेर उपजिल्ला शिक्षा अधिकारी झा विद्यार्थीहरुलाई अनेकन प्रश्न सोध्नतिर लागे। एक सय भन्दा बढी विद्यार्थी अपरिचित व्यक्तिले कक्षा कोठामा प्रवेश गरेर प्रश्न सोध्न थालेपछि मुखामुख गर्न थाले । झाले सुरुमा विज्ञानको प्रश्न गरे । पानीको रासायनिक नाम के हो ? भनेर सोधे ।
पाँचमध्ये एक विद्यार्थीले मात्र मिलाए । त्यसपछि उनले विद्यार्थीहरुलाई सर्वनाम, विशेषण र क्रियापद्हितको वाक्य बनाउन विद्यार्थीहरुलाई भने । कक्षामा नेपाली विषयमा सबैभन्दा जान्ने ठहरिएका धनञ्जय मण्डल मार्कर बोकेर बोर्डमा पुगे । तर सकेनन् । सबैभन्दा जान्ने विद्यार्थीले नै नसकेपछि झाले आफैं वाक्य लेखे । र, पाँच विद्यार्थीलाई सर्वनाम र विशेषण छुट्याउन भने । तर एक छात्रा मात्र झाको परीक्षामा उत्तीर्ण भइन् । उप जिल्ला शिक्षा अधिकारी झाले विद्यार्थीहरुलाई पालैपालो उभ्याएर प्रश्न सोध्न सोधिरहँदा विद्यालयका शिक्षकहरु झ्यालबाट चियाइरहेका थिए । सदरमुकाम जनकपुरबाट ६ किलोमिटर दक्षिणपूर्वमा पर्ने बहुअर्वा गाविसस्थित बासुदेव उच्चमाविको कक्षा १० का विद्यार्थीको सिकाइ उपलब्धी जाँच गरेपछि धनुषाका उप जिल्ला शिक्षा अधिकारी झा निराश देखिए । उनले विद्यार्थीको सिकाइ उपलब्धी २० प्रतिशत भन्दा कम रहेको सुनाए।
पूर्व शिक्षामन्त्री एवं नेपाली काँग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिको क्षेत्रमा पर्ने बासुदेव उच्चमाविमा १ हजार ५ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । ६ देखि ८ कक्षामा विद्यार्थीको उच्च चाप छ । डेढ सयदेखि २ सय विद्यार्थी एउटै कक्षामा कोच्चिएर पढ्छन् । विद्यार्थीको संख्या धेरै भएपनि विद्यालयमा शिक्षकको संख्या भने कम छ । प्राविमा ८, निमाविमा ३ र माविका ६ जना शिक्षकको दरबन्दी रहेको विद्यालयले विद्यार्थीको अनुपातमा शिक्षक नभएका कारण शिक्षा नियमावलीले गरेको व्यवस्था अनुसार सेक्सन छुट्याउन सकेको छैन । नियमावलीले तराई क्षेत्रमा एउटा कक्षामा ५० जना विद्यार्थी तोकेको छ । तर शिक्षकको अभावमा सेक्सन छुट्याउन नसकेको र एउटै कक्षामा धेरै विद्यार्थी राख्नुपर्ने वाध्यताले सिकाइ उपलब्धी कमजोर भएको विद्यालयका प्रधानाध्यापक तपेश्वरकुमार मल्लिकले बताए ।
वासुदेव उच्चमाविले शिक्षकको चरम अभाव झेलिरहेका बेला सदरमुकाम जनकपुरस्थित राजर्षि जनक राष्ट्रिय प्राथमिक विद्यालयको दृष्य भने विल्कुलै भिन्न छ । ८ भन्दा बढी विद्यार्थी कुनै कक्षामा पनि छैनन् । सबैजसो कक्षा कोठाका वेञ्च विद्यार्थीको अभावमा खाली छन् । विद्यालयका प्रधानाध्यापक योगनारायण झाले गरिबका छोराछोरी अध्ययन गर्ने विद्यालय भएकाले विद्यार्थी कम भएको बताए ।
३० जना विद्यार्थी अध्ययनरत राजर्षि जनकमा १३ जना शिक्षक छन् । दरबन्दीका ८ शिक्षक नै बेकामे भइरहेको अवस्थामा जिल्ला शिक्षा कार्यालयले राहतका चार शिक्षक तथा काजका एक शिक्षक पनि प्रसिद्ध गंगासागरको किनारमा रहेको राजर्षि जनकलाई नै उपलब्ध गराएको छ ।
१५ सय भन्दा बढी विद्यार्थी रहेको विद्यालयले शिक्षकको अभाव झेलिरहेका बेला ३० विद्यार्थी रहेको राजर्षि जनकलाई किन राहत कोटा दिएको ? सरकारले बजेटमार्फत सात वर्ष पहिले घोषणा गरेको दरबन्दी मिलानको काम किन नगरेको ? लगायतका प्रश्न गर्दा उपजिल्ला शिक्षा अधिकारी झाले यसमा राजनीतिक दल र ती दल सम्बद्ध शिक्षक संघ संगठनलाई दोष दिए । उनले राजनीतिक दल र शिक्षक संघ संगठनले आफ्ना आसेपासे र पहुँचवालालाई सदरमुकामकै विद्यालयमा राख्ने होडबाजी गरेको परिणाम विद्यार्थीको चाप रहेका ग्रामिण क्षेत्रका विद्यालयले शिक्षकको अभाव झेल्नुपरेको र सदरमुकामका विद्यालयका शिक्षकले भने हाजिर मात्र गरेका भरमा तलब पकाइरहेको बताए ।
धनुषा जिल्लामा ४ सय २६ वटा सामुदायिक विद्यालय छन् । र, ती विद्यालयमा दरबन्दीका १७ सय ७२ तथा राहत कोटाका ५ सय ५ जना शिक्षक छन् । तीमध्ये कम्तिमा ५ प्रतिशत शिक्षकहरुले राजनीतिक तथा प्रशासनिक पहुँच प्रयोग गरेर कक्षा कोठामा नै नपुगि तलब खाने गरेका कारण धनुषाको शैक्षिकस्तर अनेक प्रयासका वाबजुद् माथि उठ्न नसकेको स्वयं जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरु नै बताउँछन् ।