नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले हालै राष्ट्रिय युवा परिषद गठन गरेको छ। परिषद गठनपछि मन्त्रालयले विभिन्न राजनीतिक दल सम्वद्ध भ्रातृ संगठनहरूसँग युवा नीति तथा दृष्टिकोणका विषयमा छलफल गरिरहेको छ।
आजको युगमा मुलुकको आशा र भरोसाको केन्द्र शक्तिको रुपमा युवालाई लिने गरिन्छ। यथार्थमा युवा जोसिला, आँटिला र साहसिक हुन्छन््। नेपाल सरकारले १६ देखि ४० वर्ष उमेर समूहलाई युवाको रुपमा स्वीकारेको छ। यो उमेर समूहका युवा नयाँ–नयाँ विषयको खोज, आविष्कार गरेर परिवर्तनतर्फ लम्किरहेका हुन्छन्। वास्तवमा युवालाई ‘एक्साभेटर’को रुपमा लिन सकिन्छ। जसले छिनभरमा उथल–पुथल ल्याइदिन्छ।
युवाका सम्भावना र जिम्मेवारीहरूलाई सरकारले अहिलेसम्म सही ढंगले पहिचान गर्न सकेको छैन। न युवालाई परिचालन नै गर्न सकेको छ। उचित जिम्मेवारी दिएर परिचालन गर्न नसक्दा नै दिनप्रतिदिन हजारौंको संख्यामा युवा विदेशिन बाध्य छन्। परिवर्तनका संवाहक युवाकै कारण आन्दोलनमार्फत मुलुकमा ठूल्ठूला परिवर्तन सम्भव भएको छ। तर हरेक परिवर्तनपछि शासकको नजरमा युवा उपेक्षित हुँदै आएका छन्। मुलुकमा रोजगारीको अवसर नपाउने तर विदेशमा अर्काको माटो सिञ्चित गरिरहने हो भने नेपाल कहिल्यै विकासतर्फ लम्कन सक्दैन।
कुमालेले काँचो माटोले बनाउदै गरेको भाँडो जस्तै हुन् युवा। जसलाई विभिन्न आकार दिएर नयाँ सिर्जना गर्न सकिन्छ। परिवर्तनका संवाहक युवालाई राज्यले जिम्मेवारी दिन सकेन भने कसरी मुलुकको विकास सम्भव होला? कागजमा युवा नीति बनाउने तर व्यवहारमा कार्यान्वयन नगर्ने हो भने त्यसको के अर्थ? सपना मात्र देखाउने तर युवालाई ठीक ढंगले परिचालन नगर्ने हो भने जस्तोसुकै राम्रो नीति भए पनि त्यसको अर्थ रहँदैन। राज्यले यस्तो नीति बनाउनु पर्यो कि त्यसले युवालाई स्वदेशमा केही गर्न वातावरण तय गरोस्। युवालाई स्वदेशमै काम गर्ने अवसर दिँदै अन्य मुलुकका कामदारलाई ल्याएर रोजगारी सिर्जना गर्न सके नयाँ नेपाल धेरै टाढा छैन।
देश निर्माण गर्ने मुख्य जनशक्तिलाई विदेश जान बाध्य पारिरहने हो भने राष्ट्र कहिल्यै विकास हुन सक्दैन। आमयुवालाई राज्यले रचनात्मक तथा सिर्जनात्मक कार्यतर्फ डोर्याउन जरुरी छ। मुलुकमै केही गर्ने हिम्मत दिलाउन आवश्यक छ। मुलुकमा साहसिक युवाको खाँचो छ। नेपाली युवा विदेशी भूमिमा विद्वान कहलिएका छन्। विश्वमा उदाहरणीय कार्य गरेका छन्। मुलुकले त्यस्ता युवालाई चिन्न सकेको छैन। जुनसुकै दल सत्तामा पुगे पनि प्रष्ट युवा नीति बन्न सकेको छैन। केही नीति बने पनि कार्यान्वयन हुन सकेको छैन। युवालाई सपना बाँड्ने काम मात्र भइरहेको छ। चाहिएको बेला युवालाई हातमा लिन स्वार्थसिद्ध भएपछि बेवास्ता गर्ने द्वैधचरित्र शासकमा हावी भइरहेको छ। त्यसो त एकजना विदेशी पाहुनालाई सात दिन स्वदेशमा राख्ने वातावरण तय गर्न नसक्ने सरकारले युवालाई कसरी मुलुकमै राख्न सकोस्!
नेपाल प्राकृतिक रुपले सुन्दर, सम्पन्न र धनी मुलुक हो। बुद्ध, हिमाल र संस्कृतिले विश्वभर परिचित मुलुक हो। स्वदेशी पहिचानलाई मुलुकले नै चिन्न सकेको छैन। विभिन्न प्रजातिका जडिबुटी विनाउपयोग खेर गइरहेको छ। त्यस्ता जडिबुटीले कौडीको भाउ नपाउँदा हामी डलरमा औषधि आयात गरिरहेका छौँ। सरकार किन चाहँदैन स्वदेशमै औषधि उत्पादन गर्न? आमनागरिकले उत्तर पाइरहेका छैनन्। मुलुक परनिर्भर हुँदै गइरहेको छ। हामी कतिसम्म परनिर्भर छौँ भन्ने सत्य हालैमात्र भारतले लगाएको अघोषित नाकाबन्दीले प्रष्ट्याइसकेको छ। भारतले एक दिन नाकाबन्दी गर्दैमा हामी भोकै बस्नुपर्ने?
युवा राज्यको शक्ति हुन्। मुलुकको सच्चा पहरेदार र विकासका स्रोत हुन्। यिनको परिचालन बिना मुलुकको समृद्धि सम्भव छैन। यतिबेला नेपाली युवाहरू विदेशी भूमिमा भौँतारिरहेका छन्। अकालमा ज्यान गुमाएर दिनानुदिन बाकसमा शव बनेर आइरहेका छन्। तर सरकार अलिकति पनि चिन्तित देखिँदैन। राज्यले युवा राष्ट्रको मेरुदण्ड हो भन्ने कुरा भाषणमा मात्र सीमित राखेको छ। अब त्यस्तो हुनुहुन्न। सुहाउँदो युवा नीति बनाएर उनीहरुलाई स्वदेशमै काम र रोजगारीको अवसर दिइनुपर्छ। तब मात्र नयाँ नेपाल सम्भव रहन्छ।