सरकारले नेपाली सेनाका बहाल तथा अवकाशप्राप्त व्यक्तिहरूलाई सैनिक ऐन र नियमावलीको प्रतिकूल हुने गरी कुनै पनि पुस्तक÷लेख प्रकाशित नगर्न नगराउन निर्देशन दिएको छ।
जेठ १२ गते नेपाली सेनाको सैनिक मुख्यालयमा चार बुँदे निर्देशन पठाउँदै रक्षा मन्त्रालयले सेवा निवृत्त तथा बहालवाला पदाधिकारीले पुस्तक/लेख प्रकाशन गर्ने विषयमा मन्त्रालयलको ध्यानाकर्षण भएको बताएको छ।
मन्त्रालयले पठाएको अति गोप्य निर्देशनको चौथो बुँदामा सेवा निवृत्त पदाधिकारी वा व्यक्तिहरूले आफू पदमा बहाल रहँदा सैनिक ऐन २०६३ त्यससँग सम्बन्धित नियमावली बमोजिम लिएको पद तथा गोपनियताको सपथ विपरीत कुनै काम गरेमा ऐन बमोजिम कारबाही हुने चेतावनी दिएको छ।
नेपाली सेनाका अवकाशप्राप्त प्रधानसेनापतिहरूले एकपछि अर्को गर्दै आत्मकथा लेख्ने नाममा सेनाका कतिपय गोप्य सूचना प्रकाशित गर्ने क्रम बढ्दै गएपछि रक्षा मन्त्रालयले सैनिक निर्देशनालयलाई यस्तो निर्देशन दिएको हो।
रक्षा मन्त्रालयले पठाएको निर्देशनमा यसअघि सैनिक ऐन २०६३ को प्रावधान विपरीत आत्मकथामार्फत सेनाको विषयमा गोप्य सूचना बाहिर ल्याएका व्यक्तिहरूमाथि के कस्तो कारबाही हुन सक्छ वा कारबाहीको दायरामा पर्ने नपर्ने विषयमा स्पष्ट उल्लेख छैन।
मन्त्रालयको निर्देशनबारे स्पष्टिकरण दिँदै रक्षा मन्त्रालयका प्रवक्ता शिवप्रसाद सिम्खडाले मन्त्रालयद्वारा जारी निर्देशन विगतभन्दा पनि भविष्यलाई ध्यानमा राखी दिइएको बताए।
‘यदि विगतमा कोही कसैले ऐनविपरीत कार्यगरी राष्ट्रिय अखण्डता, मुलुकको सार्वभौमसत्ता र नेपाली सेनाको छविमा आँच आउने कार्य गरेको भन्ने पुष्टि भएमा उनीहरूमाथि पनि संविधान, ऐन र नियमावली अनुसार कारबाही हुन सक्छ,’ सिम्खडाले भने। सैनिक ऐनको दफा ३५ अनुसार सेवामा रहेका वा सेवा निवृत्त व्यक्तिले ऐनविपरीत कार्य गरेमा सेनाबाट पाउने सेवा सुविधा बञ्चित गराउन सक्ने छ।
पूर्व प्रधानसेनापति रुकमाङग्द कटवालले करिब दुई वर्षअघि आत्मकथामार्फत २०६६ वैशाखमा तत्कालीन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेको अनुशासन कारबाही र त्यसपछिका गोप्य घटनाक्रमको विषयमा सार्वजनिक गरेका थिए। जसमा त्यतिबेलाको सरकारले कटवालविरुद्ध अनुशासनको कारबाहीस्वरुप पदच्यूत गर्ने निर्णयदेखि तत्कालीन राष्ट्रपति, सरकार र राजनीतिक दलका नेता लगायत देशभित्र र बाहिरका व्यक्तिसँग गरेका गोप्य भेटघाट र कुराकानीलाई आत्मकथामार्फत बाहिर ल्याएका थिए।
त्यसैगरी कटवालपछि प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका छत्रमानसिंह गुरुङले अवकाश लिएपछि ‘जनताको छोरो’ नामक आत्मकथामार्फत कतिपय सूचना समेटी पुस्तक प्रकाशित गरेका थिए।
कटवाल र गुरुङले आत्मकथामार्फत बाहिर ल्याएका कतिपय सूचनाबारे फरक मत राख्ने सेनाका अर्का जर्नेल कुलबहादुर खड्काले पनि आफ्नो आत्मकथा प्रकाशन गर्ने तयारीमा रहेको जानकारी सञ्चारमाध्यमबाट दिएका छन्।
यसअघि २०६५ सालमा तत्कालिन राजदरबारका सैनिक सचिव विवेक शाहले ‘मैले देखेको दरबार’ नामक पुस्तकमार्फत २०५८ जेठ १९ गतेको राजदरबार हत्याकाण्डलगायत नेपालको तत्कालीन राजनीतिक घटनाक्रमबारे सार्वजनिक गरेका थिए।
उनीहरूको गतिविधिका कारण सुरक्षा निकायमा पर्नसक्ने नकारात्मक प्रभावबारे गम्भीर हँुदै जेठ १० गते उपप्रधानमन्त्री एवं रक्षामन्त्री भीमबहादुर रावलले सैनिक ऐनविपरीत भइरहेका गतिविधि नियन्त्रणबारे सरकारले चाँडै कदम चाल्ने बताएका थिए।
सेतोपाटीसँगको कुराकानीका क्रममा उपप्रधानमन्त्री रावलले नेपाली सेनामा महत्वपूर्ण जिम्मेवारी सम्हालेका पूर्व पदाधिकारीहरूले आत्मकथामार्फत सेनासम्बन्धि महत्वपूर्ण सूचना प्रकाशित गर्नु सैनिक ऐन २०६३ को दफा ९ को उपदफा (२) र १६ बमोजिम अनुसूची २ को व्यवस्था विपरीत कार्य भएको दाबी गरेका थिए।
मन्त्रालयबाट निर्देशन जारी भएलगत्तै जेठ १२ गते प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सेनाको कुनै पनि महत्वपूर्ण सूचना लेख रचनामार्फत सार्वजनिक नगर्न सेवा निवृत्त तथा बहालवाला सेनाका व्यक्तिहरूलाई निर्देशन दिएका थिए।
सैनिक ऐनको अनुसूची २ मा उल्लेखित सपथ ग्रहणको अन्तिम चार हरफमा भनिएको छ, ‘आफ्नो कर्तव्य पालनाको सिलसिलामा आफूलाई जानकारीमा आएका कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा कानुन पालना गर्दाबाहेक कुनै किसिमबाट प्रकट वा संकेट गर्ने छैन।’
तर सेनाका पूर्व पदाधिकारीमध्ये गुरुङले आफूले आत्कथामार्फत आफू कार्यरत संस्था र त्यसमा संलग्न राष्ट्रसेवकहरूको प्रतिरक्षा गरेको दाबी गरेका थिए भने कटवालले आफ्नो आत्मकथाले संविधान र ऐनको कुन प्रावधानको उल्लंघन गरेको भन्ने नहेरी प्रतिक्रिया दिन नसक्ने जानकारी केही दिनअघि सेतोपाटीलाई दिएका थिए। त्यसैगरी शाहले आफू सैनिक ऐन बमोजिम नियुक्त नभएको भन्दै आफूले इतिहास भइसकेको राजदरबार र राजसंस्थाको विषयमा जनतालाई सुसूचित गरेको दाबी गरेका थिए।
रक्षामन्त्रालयबाट सैनिक मुख्यालयमा पठाइएको निर्देशनको पहिलो बुँदामा नेपाली सेनामा बहाल वा सेवा निवृत्त व्यक्तिले सैनिक ऐन २०६३ र नियमावलीको प्रतिकूल हुनेगरी कुनै पनि लेख रचना प्रकाशित नगर्न नगराउन निर्देशन दिएको छ।
यदि सेनामा बहालवाला व्यक्तिले लेख रचना प्रकाशित गर्दा विभागीय स्वीकृति लिनुपर्ने मन्त्रालयलद्वारा पठाइएको निर्देशनको दोस्रो बुँदामा उल्लेख छ।
त्यसैगरी तेस्रो बुँदामा निजामती सेवा ऐन वा सैनिक ऐन बमोजिम नेपाली सेनामा कार्यरत पदाधिकारीदेखि सबै तहका व्यक्तिहरूले आफू सेवामा बहाल रहँदा प्राप्त गोप्य सूचना सम्बन्धित ऐन र नियम अनुसार पद तथा गोपनियताको सपथ लिए बमोजिम गोप्य राख्नुपर्ने व्यवस्थाको सबैलाई स्मरण गराउन मुख्यालयलाई निर्देशन दिएको छ।