प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटपछि सरकार परिवर्तन गर्नेबारेमा सत्तारुढ नेकपा माओवादी केन्द्रसँग कुनै सम्झौता नभएको दाबी गर्दै त्यस्तो सम्झौता देखाउन माओवादी केन्द्रलाई चुनौती दिएका छन्।
सरकार परिवर्तनका विषयमा भएको भनिएको भद्र सम्झौताको विषयलाई लिएर प्रमुख दुई सत्तारुढ दलबीचको सम्बन्धमा चिसोपना देखिन थालेका बेला प्रधानमन्त्री ओलीले बिहीबार सार्वजनिक रुपमा नै माओवादी केन्द्रलाई सम्झौताको प्रति देखाउन चुनौती दिएका हुन्।
राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नामक संस्थाको आयोजनामा काठमाडौंमा सुरु भएको दुई दिने कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल सक्रिय रहेको आरोपसमेत लगाए।
उनले खनाल र नेपालले माओवादीसँगको सम्झौताको साक्षीका रुपमा सरकारलाई काम गर्न असहज अवस्था तुल्याउने र सरकारप्रति अविश्वास बढाउने गतिविधि गरिरहेको आरोप लगाए। प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रले भद्र सम्झौता भनेको र पार्टीभित्रका केही नेताले सहमतीय सरकारको नाममा हटाउन खोजे पनि २०७४ सालको मंसिर महिनामा संसदको निर्वाचन नगराएसम्म आफू पदमा बहाल रहिरहने दाबी गरे।
प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रले उठाएको सरकार परिवर्तन गर्ने भद्र सम्झौताको प्रसङ्ग ‘ब्राम्हणले रिस उठेका बेला सराप दिन्छु भनेर देखाउने घुर्की एउटै’ भएको बताए। उनले माओवादी केन्द्रको घुर्कीबाट आफू नतर्सिने बताए।
प्रधानमन्त्री ओलीले मुलुकको हित हुने सर्तमा आफू प्रधानमन्त्री भएको भन्दै पदमात्र नभई धर्ती नै छोड्न तयार रहेको बताए। उनले भद्र सम्झौताको नाममा सरकार परिवर्तन गर्ने राजनीतिक दाउपेच गर्नुको साटो आफूसँग छलफल गर्न आग्रह गर्दै मुलुकको हित गर्ने प्रतिबद्धता जनाए। जन्मिँदा प्रधानमन्त्रीको पद बोकेर नल्याएका कारण त्याग्न समस्या नरहेको तर घुर्की र राजनीतिक दाउपेचका सामु भने नझुक्ने उनको भनाइ छ।
प्रधानमन्त्री ओलीले आफूले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि मधेस शान्त भएको र भारतले पनि नाकाबन्दी हटाएको भन्दै मुलुकको आर्थिक विकासलाई अब कसैले पनि रोक्न नसक्ने बताए। उनले आर्थिक विकासलाई केन्द्रविन्दुमा राखेर सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको तर विरोध गर्ने ठाउँ नदेखेर प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले वितरणमुखी भनेर आलोचना गरेको बताए।