डोटी जिल्लाको सरस्वतीनगर ७ का अधिकांश महिलाहरुलाई अचेल साँझ परेपछि लोग्नेको कुटाई खानुपर्छ कि भन्ने चिन्ता कम भएको छ। मदिराले लठ्ठ परेर आउने श्रीमानको कुटाइले आक्रान्त यो गाउँका धेरै जसो महिलाहरुको अनुहारमा अचेल खुसी छाएको छ।
उनीहरु अहिले साँझ परेपछि ढुक्क हुन थालेका छन्। श्रीमानको कुटाइ खानुपर्छ कि भन्ने डर छैन।
ईलाका प्रहरी कार्यालय जोरायलमा नयाँ प्रहरी नायव निरीक्षक रामचन्द्र पन्त आएपछि महिलाहरुको दैनिकीमा ठूलो परिवर्तन आएको हो। मदिरा नियन्त्रणमा गरेको कामका कारण उनी यो गाउँमा प्रसंसा पाउन थालेका छन्।
यो त्यस्तो ठाउँ हो जहाँ यस अघि आएका प्रहरीहरु स्थानीय पुरुषहरुसंग बसेर रक्सी खान्थे। होलीको दिन त संगै रक्सी खाँदै गर्दा स्थानीय र प्रहरी बीचै झगडा भयो। दुई जना स्थानीयबासी र एक जना प्रहरी घाईते भएका थिए।
‘यिनी सई साहेव आएपछि रक्सी वन्द भएको छ, अव यिनलाई सरुवा नगरिदिनुहोला।’ केही दिन अघि जोरायल पुगेका डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज बिष्टसंग धना नेपालीले अनुरोध गरिन्।
‘रक्सी खाएर निकै हो–हल्ला हुन्थ्यो,धेरैजसो घरमा लोग्नेहरु श्रीमति र छोराछोरीलाई कुट्ने गर्थे, रातभरी झगडा हुन्थ्यो,’ धनाले भनिन् ‘यि सर आएपछि शान्ति भएको छ ।’
उनी शान्ति सुरक्षा कायम गर्नमा पन्तले गरेको कामप्रति निकै प्रभावित छन । धना मात्रै होईन लक्ष्मीनगर र सरस्वतीनगरका अधिकांस महिलाहरुको साझा माग हो ‘पन्तको सरुवा हुँदै नहोस।’
पन्त जोरायल आएको ६४ दिनमात्रै भएको छ। तर यहाँका महिलाहरुलाई उनको सरुवा हुन्छ कि भन्ने पीर छ।
लक्ष्मीनगर–१ की यसोदा वोहरा भन्छिन् ‘हामीलाई शान्ति सुरक्षा चाहिन्छ, अहिलेसम्म आएका प्रहरीहरुले तास खेल्ने रक्सी खाने, झगडा गर्नेहरुलाई नै सहयोग गर्दै आएका थिए, उहाँ आईसकेपछि राम्रो भएको छ।’
स्थानीय महिलाहरुले जाँड रक्सी र जुवातासको विगविगी हटाउन कोसीस गर्दा प्रहरीको साथ पाएका थिएनन्। यस्तो ठाउँमा पन्त आएर आफ्नै काम गर्दा पनि लाख भएको महिलाहरुको अनुभव छ।
होलीको घटना पछि ईन्चार्ज प्रहरी नायव निरीक्षक धनवहादुर नाथ, प्रहरी जवान गोकर्ण वोहरा र अन्य तीन जना प्रहरी जवानलाई सरुवा गरिएको थियो। ईन्चार्ज नाथ र प्रहरी जवान बोहराले प्रहरी पोशाँकमै मदिरा सेवन गरेर स्थानीयवासीहरुसंग झगडा गरेकाले कारबाहिमा परिसकेका छन्।
‘एक त यहाँको समाज पनि यस्तै छ,त्यहाँ माथि प्रहरी नै मदिरामा मस्त हुन्थे,तर अहिले उहाँ आएपछि हामीलाई सहयोग भएको छ।’ यसोधा भन्छिन् ‘यता आउने बोलेरो जीपहरुमा लुकाएर ल्याईने रक्सीलाई पनि नियन्त्रण गर्नु भएको छ उहाँले ।’
स्थानीय जमुनाले थपिन् ‘सधैंभरी हामीले मदिराकै कारण कति हिंसा सहिराख्ने? हामी आफै वन्द गर्न तयार छौं, प्रहरीले पनि हामीलाई सहयोग गरिदिनु प¥यो।’ अहिलेका ईन्चार्ज राम्रो भएका कारण आफुहरुलाई काम गर्ने हौसला मिलेको महिलाहरु बताउँछन।
२२ वर्ष अगाडी प्रहरी जवानबाट सेवा प्रवेश गरेका पन्त यस क्षेत्रमा आएको जम्मा ६४ दिन मात्रै भएको छ । उनी जोरायल आएपछि हालसम्म ४१ जनालाई सामान्य कारवारी र नौ जनालाई जरिमाना गरेका छन । जरिमानाबाट आएको २७ हजार रुपैयाँ लक्ष्मीनगर र सरस्वतीनगरको संयुक्त मदिरा नियन्त्रण समितिमा राखिएको पन्त बताउँछन ।
कसरी भयो यस्तो सुधार?
पन्त भन्छन् ‘मैले त्यस्तो चमस्तकार त केही गरेको छैन, कानुन र संगठनले दिएको जिम्मेवारी पुरा गरेको हुँ ।’ स्थानीय महिलाहरुको सहयोगमा मदिरा नियन्त्रण गर्न सफल भएको उनको भनाई छ । ‘जिम्मेवारी पुरा गर्ने हो’ पन्त भन्छन् ‘आफु राम्रो भएपछि स्थानीयवासीहरुले त सहयोग गरिहाल्छन नि ।’
पन्तसंग जति स्थानीयवासीहरु खुशी छन उनका सहयोगी कर्मचारीहरु भने त्यति खुशी छैनन्। एक स्थानीय महिलाले भनिन् ‘पहिले पोशाँक पनि लाउदैनथे यहाँका प्रहरी कर्मचारीहरु, पन्त आएपछि ड्युटी गर्नु पर्ने भयो, त्यसैले उहाँलाई गाली गर्छन।’ आफै रक्सी खाएर हिडिराख्ने प्रहरी कर्मचारीहरु अहिले पन्त आएपछि सुध्रिएका ति महिलाले बताईन। उनी भन्छिन् ‘स्थानीयवासीहरुमा भने आश जगाएका छन पन्तले।’