सत्ता साझेदार दुई ठूला दलका प्रमुखहरूबीच सरकार परिवर्तनका सम्बन्धमा भएको भनिएको ‘भद्र सहमति’ लागू हुनुपर्ने नपर्नेमा सतारूढ दलनै विभाजित भएका छन्। कतिपयले अहिलेको संविधान अनुसार प्रधानमन्त्री केपी ओलीले सरकारको नेतृत्व छोडेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेतृत्व लिन यो संविधान अनुसार सम्भव छैन भन्ने तर्क गरेका छन्।
माओवादी केन्द्रसँग नजिक अधिवक्ता रमण श्रेष्ठले भने नयाँ सरकार गठनका गर्न संविधानले बाधा नपुर्याउने बताए।
‘अहिलेको सरकार परिवर्तन गर्न मिल्दैन भन्ने तर्क त मान्छे कहिलै मर्दैन भन्या जस्तै हो,’ उनले सेतोपाटीसँग भने। संविधानको अक्षरश: व्याख्या गरेर यसको मर्मलाई भुल्नेहरुले सरकार परिवर्तनमा संविधान बाधक बन्छ भन्ने गरेको उनले टिप्पणी समेत गरे।
‘अविश्वासको मतले सरकार कामचलाउमा परिणत हुने अनि नयाँ सरकार गठन हुदै नहुँने भन्ने पनि हुन्छ?,’ उनले प्रश्न गरे, ‘भोलि प्रधानमन्त्रीले राजीनामा दिए रे लौ अनि के हुन्छ नि? संविधानमा लेख्या छैन भनेर सरकार गठनै नगर्ने?’
धारा २९८ को उपधारा २ को ‘सात दिन भित्र नयाँ सरकारका गठनका लागि आह्वान गर्ने’ भन्ने व्यवस्था अन्तर्गत अहिलेको सरकार गठन भए पनि, त्यसपछि सरकार परिवर्तन गर्नै नमिल्ने भनेर संविधानमा कतै नलेखेको उनको भनाइ छ।
संविधानको संक्रमणकालिन व्यवस्थाले नै सरकार परिवर्तनको पनि परिकल्पना गरेको उनले बताए।
उनका अनुसार, धारा २९८ कै उपधारा ८ मा प्रधानमन्त्री पदमुक्त हुन सक्ने अवस्था उल्लेख गरिएको छ। र त्यही धाराको उपधारा १० ले भनेको छ, ‘उपधारा ८ बमोजिम प्रधानमन्त्री आफ्नो पदबाट मुक्त भए पनि अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषदले कार्यसञ्चालन गरिरहने छ।’ त्यस्तै उपधारा ११ ले भनेको छ, ‘यस धारा बमोजिम नियुक्त प्रधानमन्त्रीको मृत्यु भएमा अर्को प्रधानमन्त्रीको चयन नभएसम्मका लागि उप-प्रधानमन्त्री वा वरिष्ठतम मन्त्रीले प्रधानमन्त्रीको रूपमा कार्य सञ्चालन गर्ने छन्।’
‘यिनै व्यवस्थाले सरकार परिवर्तन गर्न सकिन्छ भन्ने परिकल्पना गरेको छन्,’ उनले भने, ‘सरकार परिवर्तन गर्न पाइने छ वा पाइने छैन भनेर स्पष्ट अक्षरमा लेखिरहने कुरानै होइन। प्रधानमन्त्री पदमुक्त हुन सक्छ भन्ने व्यवस्थाले नै नयाँ गठन पनि हुन्छ भनेर मान्ने हो। यो मर्मले नै बोलेको छ।’
उनले संक्रमणकालिन व्यवस्थामै यति लेखेपछि र चुनाव नहुन्जेल संसदले गर्ने सबै काम यसले गर्ने भन्ने भएपछि संविधानको अक्षर अक्षरमा गएर हेर्नु नपर्ने तर्क गरे।