सरकारले नेपालको निजामती कर्मचारी प्रशासनभित्र दलीय राजनीतिलाई संस्थागत गर्न बाटो खोलिदिएको छ। औपचारिक विदा दिएरै निजामती कर्मचारीका ट्रेड युनियनलाई चुनावका लागि वातावरण निर्माण गरिदिएपछि नेपालको निजामती प्रशासनभित्र राजनीतिलाई संस्थागत स्वागत गरिएको हो।
निजामती कर्मचारीको निष्पक्षताका निम्ति कर्मचारीभित्र दलीय आबद्धता खारेजको आवाज उठिरहेको बेला सरकारले बुधबार देशैभरिका निजामती कर्मचारीलाई चुनावका लागि विदा दिएको हो। एउटै निजामती कर्मचारी युनियन गठनपछि पहिलोपटक आज चुनाव हुँदैछ।
देशभरका ५५ हजार निजामती कर्मचारी मतदान सहभागी हुँदैछन्, यही चुनावका लागि देशभरका ८२ हजार कर्मचारीले विदा पाएका छन्।
गृह प्रवक्ता यादव कोइरालाका अनुसार पहिले सार्वजनिक विदा दिने भन्ने निर्णय थियो। मंगलबारको मन्त्रिपरिषद बैठकले त्यसलाई सच्याएर निजामती कर्मचारीका लागिमात्र विदा दिने निर्णय हो। ‘सरकारका कर्मचारीको चुनाव हुने भएकाले मन्त्रिपरिषदबाट निर्णय गरेर विदा दिइएको हो,’ कोइरालाले भने।
दलीय ट्रेड युनियनले ल्याउने प्रतिशतको आधारमा यो चुनावबाट नेतृत्व छानिने छन्। कुन–कुन राजनीतिक दलनिकट संगठनले कति मत ल्याउँछन् त्यसको आधारमा पद बाँडफाँट हुने छ। जसअनुसार पहिलो स्थान ल्याउने दलको संगठनले अध्यक्ष र कोषाध्यक्ष, दोस्रो मत ल्याउने संगठनले महासचिव, तेस्रो ल्याउनेले उपाध्यक्ष, चौथोले सचिव र बाँकी १६ केन्द्रीय सदस्यको पद प्रतिशतका आधारमा निर्धारण हुने छ।
चुनावमा नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन संघ, एमालेको नेपाल निजामती कर्मचारी संगठन, एमाओवादी निकट नेपाल कर्मचारी संगठन (निजामती), मधेसी कर्मचारी मञ्च र मोहन वैद्य समूहको राष्ट्रिय कर्मचारी संगठन सहभागी हुँदैछन्।
निजामती ऐनअनुसार कर्मचारीले आफ्नो निष्पक्षता कायम गर्न राजनीतिक दलभित्र आवद्ध हुन पाउँदैनन्। विभिन्न बहानामा निजामती प्रशासनभित्र राजनीति छिराइएपछि त्यसले नेपालको प्रशासनभित्र विकृति धेरै बढाएको गुनासो बढेको थियो।
पूर्व मुख्यसचिव लीलामणि पौडेलका अनुसार यस्तो प्रकारको निजामती सेवाबाट जनताले सुशासनको प्रत्याभूति पाउँदैनन्। खारेल गर्नुपर्ने कर्मचारी युनियनलाई चुनावका निम्ति वातावरण तयार गरिदिएर सरकारले नेपालको कर्मचारीतन्त्रभित्र दलीय प्रवेशलाई संस्थागत, वैधानिक गराइदिएको पौडेलले बताए।
‘दलीय आधारमा गरिएको चुनावले निजामती सेवाबाट दलगत राजनीति संस्थागत भयो, यसले सुशासनलाई टेवा पुर्याउँदैन,’ पौडेलले सेतोपाटीसँग भने, ‘राजनीति गर्ने निजामती कर्मचारीको चुनाव हैन, पदबाट निकाल्ने व्यवस्था गरिनुपर्छ।’
पौडेलका अनुसार अहिले गर्न खोजिएको ट्रेड युनियनको चुनावले कर्मचारीभित्र दलीय प्रवेशलाई झन् बढाउँछ किनभने अहिले हरेक प्रतिशतका आधारमा पद बाँडफाँट गर्ने तयारीसाथ चुनाव हुँदैछ। ‘गैरराजनीतिक पेशागत संघ गठनका लागि अधिकार दिइनुपर्छ र दलगत आधारमा गठन गर्ने प्रवृत्तिले कर्मचारीको निष्पक्षता सकियो,’ उनले भने।
प्रत्येक मन्त्रालयमा चुनाव हुने कार्यतालिका बनाइएको छ। पाँच बजेभित्रमा मतदान सकेर मतगणना पनि मन्त्रालयमै गर्ने तयारी गरिएको छ। कर्मचारी प्रशासनभित्र यसरी गरिने चुनावले निजामती प्रशासनमा सुधार आई सेवाग्राहीको सकारात्मक दृष्टिकोण अगाडि बढ्ने दाबी सम्बद्ध संगठनले गरेका छन्।
‘यो निजामती प्रशासनको समृद्धिको प्रस्थानविन्दु हो, ट्रेड यु्नियनको मूल्य मान्यता संस्कारयुक्त बनाउने हो,’ एमाले निकट कर्मचारी संगठनका अध्यक्ष पुण्य ढकालले भने, ‘सरकारका नीति कार्यक्रम योजनालाई व्यवस्थित, मर्यादित र प्रक्रियामा लिएर जाने अभियानको थालनी यो निर्वाचन पछाडि हुनेछ।’
नेपालको इतिहासमा २०४६ सालको आन्दोलनपछि कर्मचारीतन्त्रभित्र राजनीति छिरेको हो। त्यसअघि कर्मचारीले राजनीति गर्न पाउँदैनथे। पञ्चायती व्यवस्थाले राजनीति गरेको थाहा पाए जागिरबाट निकालिदिन्थ्यो।
पूर्व अर्थसचिव रामेश्वर खनालले राजनीतिमा लाग्ने कर्मचारीलाई कामबाट निकाल्ने व्यवस्था गर्नुपर्ने बताए। ‘अहिलेको सन्दर्भमा यस्ता कर्मचारी संगठन राखेर असल शासन, सुशासन दिन्छु, जनतालाई सेवा दिन्छु भन्ने भ्रम नपाले हुन्छ,’ खनालले भने।
खनालका अनुसार राजनीति गर्ने कर्मचारीहरू कामबाट उन्मुक्ति लिएर बस्छन्। केन्द्रीय संगठनमा बस्नेले कामै गर्दैनन्। २४ घन्टै आफ्नो संगठनमा व्यस्त रहन्छन्, सरकारको तलब–भत्ता खाएबापत जनताको काम गर्दैनन्।
२०४६ सालमा त्रिभुवन विश्वविद्यालयको भवनमा निजामती कर्मचारीको भेला हुँदा दल फरक भए पनि एउटैमात्र संगठन बनाउनुपर्छ भन्ने परिकल्पना थियो। नेकपा माले एमाले भएपछि गिरिजाप्रसाद कोइरालाको बहुमतप्राप्त सरकार गिराउनुपर्छ भनेर काठमाडौंमा ठूलो आन्दोल चलाएको थियो, त्यसपछि कर्मचारीहरूबीचमै विभाजन आएर दलगत आधारमा कर्मचारी संगठन गठन सुरू भए।
२०६२–०६३ आन्दोलनपछि लहड चल्यो। माओवादी सरकारमा गएपछि उसैको कर्मचारी संगठन गठन भयो, मधेसवादी दल सरकारमा आए, उनीहरूले पनि बनाए।
याे पनि हेर्नुहोस् :
निजामती कर्मचारी भएकोमा लाज लागेको दिन
‘बाहुबली’ कर्मचारी युनियन
अरु देशमा कर्मचारी युनियन नचाहिने, नेपालमा किन चाहिने?