पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले माओवादीसँगको सहमति राष्ट्रिय सहमतिका लागि भएको बताएका छन्।
प्रेस चौतारी नेपालद्वारा सोमबार यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले संविधानको कार्यान्वयन, राष्ट्रिय आवश्यकता एवम् चुनौतीको सामना गर्न राष्ट्रिय सहमतिको विकल्प नभएको र त्यसका लागि नेकपा (एमाले) तयार रहेको बताए। सङ्क्रमणकालीन अवस्थामा राष्ट्रिय सहमतिबाटै अघि बढ्नुपर्नेमा उनको जोड थियो।
सरकारले प्रस्तुत गरेको बजेट जनमुखी भएको उल्लेख गर्दै उहाँले यसले नेपाली जनतामा आशा जगाएको बताए। कृषि, ऊर्जा र औषधोपचारलाई बजेटमा प्राथमिकता दिइएको बताउँदै पूर्व प्रधानमन्त्री नेपालले देशको समग्र विकासका लागि एकद्वार नीतिलाई अवलम्बन गरी अघि बढ्नुपर्ने धारणा राखे।
सांसद विकास कोषका लागि विनियोजित रकम भने आवश्यक नभएको उनको तर्क छ। राष्ट्रिय परिचयपत्र र गरिब पहिचान परिचयपत्र वितरण कार्यलाई अघि बढाउन सके त्यसले राष्ट्रियतालाई थप मजबुत बनाउने र नागरिकताको विवाद अन्त्य गर्ने उनको भनाइ छ।
सरकारलाई स्वतन्त्र रुपमा काम गर्ने वातावरण तयार गरिनुपर्ने बताउँदै उनले काममा कसैले बदमासी गर्छ भने त्यसलाई कारबाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता औँल्याए।
राजनीतिक क्रान्तिको अगुवाइ गरेको नेकपा (एमाले)ले आर्थिक क्रान्तिको पनि अगुवाइ गर्नसक्ने बताउँदै उनले योग्यता क्षमताको मूल्याङ्कन गर्दै पार्टीमा अधिकतम सल्लाह गरी अघि बढ्नुपर्ने धारणा राखे। रासस