आइतबार झापाको सताक्षीधाममा पुग्दा ठूलो आवाजमा स्वस्ती बाचन भइरहेको थियो। नजिकै पुगेर हेर्दा धोती र कुर्तामा सजिएका ब्राह्मण मस्त किताब घोकिरहेका थिए।
एक सातादेखि संस्कृत बिधाको पढाइ त्यहाँ भइरहेको रहेछ। यसअघि कोही कसैले सताक्षीधाममा संस्कृत बिधाको पढाइ हुन्छ भनेर सुनेका रहेनछन्। घाम–पानी छेक्ने जस्तापाताको छाना अनि आकर्षक डिजाइनमा बनाइएको भवनमा पाँच जना विद्यार्थी स्वर मिलाएर पढिरहेका थिए।
दुई वर्षअघिमात्र झापाको सताक्षीधाममा स्थापना भएको गोलोक गोर्वद्र्धन गौशालाले छोटो अवधिमै अतुलनीय काम गरेको स्थानिय बासी बताउँछन्। भारतका विभिन्न स्थानबाट आठ वटा गाई ल्याएर सुरू गरिएको गौशालामा यतिबेला नेपाललगायत भारतकै नागालयन, मद्रास, मणिपुर, बृन्दावन, हरियाणाका उन्नत तथा स्थानीय जातका गाई गौशालमा छन्। गोलोक गोवद्र्धन गौशालाका अनुसार १ सय ५० बढी गाई यहाँ छन्।
गाईलाई दानापानी लगायतका आहारा मागेकै पैसाले खर्च भइरहेको छ। कसैले पराल त कसैले नुन अनि चोकर। ‘यो स्थानीय सहयोग हो,’ गौशालाका संरक्षक आचार्य नन्दकिशोर भारध्वज भन्छन्, ‘गौशालाको सम्पूर्ण पूर्वाधार तयार भने भारतको दिल्ली र अन्य भारतीय सहरका दाताबाट भएको हो।’
दाताले दिएको पैसाले गौशालाका गाईको मात्र सेवा भएको छैन। गौ सेवाबाट बचेको पैसाले गौ अस्पताल पनि निर्माण भइरहेको छ। करिब आठ लाखको लागतमा निमाण हुँदै गरेको सो अस्पतालको अहिले ८० प्रतिशत काम सम्पन्न भइसकेको छ। एकपछि अर्को विकासे काममा लागिपरेको गौशालाले सताक्षीधाममा संस्कृत बिधाको पढाइ पनि सुरू गरेको छ।
शिवसताक्षी नगरको ७ नम्बर वडामा स्थापित गोलोक गोवद्र्धन गौशालाले एक कार्यक्रमको आयोजना गरी औपचारिक रुपमा कक्षा सञ्चालन गरेको हो। सञ्चालकका अनुसार चारैतिर जंगलले घेरिएको क्षेत्रमा पहिलोपटक सताक्षीधाममा गुरुकुल संस्कृत विद्यालयमा पढाइ सुरू भएको छ।
गोलोक गोवद्र्धन गौशालाले निर्माण गरेको श्री हरिवेद विद्यालयमा माध्यमिक तहसम्मको आवासीय संस्कृत बिधाको पढाइ सुरू भएको गोलोक गोवद्र्धन गौशालाका कोषाध्यक्ष पण्डित सोमनाथ सुवेदीले बताए।
सो विद्यालयमा पाँच जना विद्यार्थी अध्ययनरत छन्। झापा, संखुवासभा र भारतको कालिङपोङबाट विद्यार्थी आएको सो विद्यालयले जनाएको छ। ९४ वर्षीय बालबिधवा हरिमाताले एक कार्यक्रमका बिच सो विद्यालयको विधिवत उद्घाटन गरिन्। विद्यालयका अनुसार १५ जना विद्यार्थीलाई आवास, भोजन, पुस्तक र बस्त्रसहितको सुविधा प्रदान गरिने छ।
स्वस्ती बाचन, रुद्री , चण्डी, बेद, व्याकरण र ज्योतिषशास्त्रको अध्ययन अध्यापन यही विद्यालयमा गराइने पण्डित सुवेदीले बताए। पूर्वमध्यमादेखि आचार्यसम्मको अध्ययन भने श्री हरिवेद विद्यालयले भारतको सम्पूर्णानन्द विश्व विद्यालय बृन्दावनस्थित विद्यालयमा अध्ययन अध्यापन गराउने सो विद्यालयले जनाएको छ।
सताक्षीधाममा सञ्चालन भएको संस्कृत विद्यालयमा सबै जातजाति, भाषाभाषी र लिङ्गलाई समान रुपमा अध्ययन गराइने सञ्चालन समितिले बताएको छ। वैदिक अनुशासनमा रहने सबै जातजातिका विद्यार्थीलाई श्रीहरिवेद विद्यालय खुल्ला रहेको सम्भवत नेपालमा यो पहिलो भएको दाबी गरिएको छ।