संसदीय समितिले फुटबलर विमल घर्तीमगरकी बहिनी मनिषाको हत्या वा आत्महत्या सम्बन्धमा यथार्थ जानकारी वाहिर ल्याउन चिकित्ससँग आग्रह गरेको छ ।
संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिले शुक्रबार अपरान्ह मनिषाको शव राखिएको शिक्षण अस्पताल महाराजगञ्ज पुगेर हत्या वा आत्महत्या सम्बन्धमा कसैको दवाबमा नपरी तथ्य वाहिर ल्याउन चिकित्सकको टोलीसँग आग्रह गरेको हो।
सांसद्हरुको टोलीले मनिषाको शव नियालेपछि पोष्टमार्टममा संलग्न हुने चिकित्सकहरुलाई तथ्यपूर्ण रिपोर्टका लागि आग्रह गरेको हो । सांसद्हरुका अनुसार नवलपरासीस्थित घरमा शंकास्पद मृत्युवरण गरेकी मनिषाको घाँटीमा दाग देखिएको छ ।
पोष्टमार्टममा संलग्न हुने चिकित्सकहरुले आफूहरुले कसैको दवाब र प्रभावमा परेर गलत रिपोर्ट नबनाउने बताए । उनीहरुले स्थानीय प्रहरीबाट मुचुल्का मगाइ समिति नै गठन घटनास्थलको बारेमा बुझी मृत्युको बारेमा वास्तविकता वाहिर ल्याउनेमा विश्वस्त हुन संसदीय समितिसमक्ष आग्रह गरे।
चिकित्सकहरुका अनुसार पोष्टमार्टम रिपोर्ट आउन दुई दिन लाग्ने छ । बहिनीको मृत्युको दुःखद खबरपछि फुटबलर बिमल बेल्जियमबाट शुक्रबार नेपाल आएका छन् । उनी बायाँ खुट्टाको उपचारका लागि गत वैशाख २९ गते बेल्जियम गएका थिए । बिमल त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट सोझै शिक्षण अस्पताल महाराजगञ्ज पुगेका थिए । संसदीय समितिले बिमल र उनकी आमालाई भेटेर सान्त्वना दिएको छ । बिमललाई सान्त्वना दिन केही फुटबलरहरु पनि अस्पताल पुगेका थिए ।