बाबरी फूलको बासनाऽऽऽ नबोले पनि हाँसि राखन.....
सोई सोई ला है हुर्रा हा.. हा... को भाकाँ हालेर किरात राई जातिका युवा पुस्ताहरु पनि साकेला नाँच्दै गरेको भेटिन्छ यतिबेला। युवा पुस्ता साकेलामा रम्न थालेको धेरै भएको छैन्।
बुढापाकाहरु साकेलामा यस्तै भाँका हालेर शिली नाँचेका देखेका युवा पुस्तामा पनि संस्कृति प्रतिको मोह जाग्दै गएको आभाष उभौली र उद्यौलीमा राम्रैसँग देख्न सकिन्छ। बैसाख पूर्णिमादेखि सुरु हुने उभौलीको १५ दिन युवा पुस्ताहरु पनि आफ्नो जातिको पहिरनमा सजिएर टोलटोलमा भेटिन्छन्। र, साकेला शिली नाँच्दै गरेका भेटिन्छन्।
कक्षा ५ मा पढ्दै गर्दा धरान–१६ की प्रियंका राईले साकेला नाँच्न सिकेकी हुन्। अहिले एसएसली दिएर बसेकी प्रियंका भानुचौकमा आइतबार भाँका हाल्दै साकेला शिली नाँचिरहेकी थिइन्। खुट्टा उचाल्दै सोई सोई ला है, हुर्रा हा हा को भाँकामा शिली नाँच्दा संस्कारप्रतिको मोह उनमा प्रष्ट झल्किन्थ्यो। ‘संस्कार जोगाइराख्नु पर्छ भन्ने लागेर पनि साकेला नाँच्न सिकेकी हुँ,' प्रियंका भन्छिन्।
प्रारम्भिक कार्य समिति धरान नगरले आइतबार भानुचौकको खुल्ला स्थानमा गरेको साकेला नाँचमा धरान–१३ का सनम राई पनि चम्मर हल्लाउँदै नाँचिरहेका थिए। उनी पनि ६ वर्षदेखि साकेलामा खुट्टा हल्लाउन थालेका हुन्। ‘गाउँघरमा दाईहरु नाँचेको देखेर सिकियो,’ उनी भन्छन्। पितापूर्खाले धानिरहेको संस्कृतिलाई धान्न पाउँदा रमाइलो लागिरहेको अनुभूति बाडे। उनी चाहान्छन् उनी पछिको पूस्ताले पनि साकेला संस्कृतिलाई बचाइरहोस्।
उनीजस्ता सचेत युवा मध्येका धरान–१५ का राकेश राई पनि साकेलामा असिनपसिन हुँदै खुट्टा हल्लाइरहेका थिए। प्रचण्ड गर्मीमा पनि उनी आफ्नो संस्कृतिलाई बचाइ राख्नको लागि दौरासुरुवाल र टोपीमा सजिएर शिली नाचिरहेका थिए। १९ वर्षे युवामा भए पनि उनलाई ७ वटा भन्दा बढी शिलीको ज्ञान रहेछ। ‘बाजेहरु नाँचेको देखेरै सिकियो।' उनी भन्छन् ‘आफ्नो संस्कृति बचाइराख्न पाउँदा रमाइलो लाग्छ। उनको सोचमा सबै युवाहरु लाग्नु पर्ने बताउँछन्।
युवाहरुको भिडमा धरान–१७ की गीता राई पनि साकेला नाँचिरहेकी थिइन्। उनले साकेला सिकेको ५–६ वर्ष भयो रे। शिलीप्रति ज्ञान नभए पनि संस्कृतिप्रतिको चेतना उनमा प्रसस्त थियो। भन्छिन् ‘आफ्नो परम्परा जोगाउन हामीले नथाले कस्ले थाल्छ। साथीहरुबाटै साकेला सिकेकी थिएँ।' युवाहरुको साकेलाप्रति चासो बढ्न थालेपछि बुढापाकाहरुसमेत खुसी छन्। किरात राई यायोक्खाले साकेलाको ७५ वटा शिलीको पहिचान गरेको छ। तर, सबै शिलीहरु नाँच्नसक्ने बुढापाकाहरु छैनन्।
युवा पुस्ताहरुमा संस्कार, परम्पराहरुप्रति सचेत हुँदै गएकोमा किरायाले युवा पुस्ताहरुलाई लक्षित गर्दै सार्वजनिक रुपमा कार्यक्रम गरिरहेको बताएका छन्।