भेनेजुएलाबाट २ किलो ६ सय ८३ ग्राम कोकिन लिएर नेपाल प्रवेश गरेका तीन विदेसीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा भेनेजुएलाका एरिस कार्मेन नार्भाज, कोलकोत्ता बस्ने भारतीय नागरिक तुहिद खान, गिनिज नागरिक मोहम्मद लाम्ने डाबो र तनहुँका दिलबहादुर गुरूङ छन्।
उनीहरूलाई प्रहरीले क्षेत्रपाटीबाट विभिन्न मितिमा पक्राउ गरेको हो।
पक्राउ परेको कोकिनको बजार मूल्य ५ करोड, ३६ लाख ६० हजार हुन आउने प्रहरीले जनाएको छ।
लामो समयदेखि उनीहरूले नेपाललाई ट्रान्जिट बनाएर कोकिनको कारोबार गर्दै आएको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ।
नेपाल ट्रान्जिट गरे उनीहरूले २६ पटक भन्दा बढी थाइल्याण्ड र हङकङ सामान पठाउने गरेको प्रहरीले बताएको छ।
यस्तै उनीहरूले अफ्रिकी मुलुकहरूमा पनि नेपाल ट्रान्जिट भएर कोकिन पठाउने गरेको रहस्य पत्ता लगाएको छ।
उनीहरूलाई थप अनुसन्धान गरी कारबाही थालिने प्रहरीले जनाएको छ।