सरकारले कालोबजारी र शैक्षिक माफियालाई संरक्षण गरेको आरोप लगाउँदै नेपाल विद्यार्थी सङ्घ काठमाडौँले आज प्रधानमन्त्री निवास बालुवाटार अगाडि विरोध प्रदर्शन गरेको छ ।
प्रदर्शनकारीले ‘उखान टुक्काले चुलो बलेन’, ‘जनतालाई बाँच्न गाह्रो भो’लगायत नारा लगाउँदै एलपी ग्यासको खाली सिलिण्डर, खाली जार र भाँडाकुँडासहित प्रदर्शन गरेका थिए ।
कोणसभालाई सम्बोधन गर्दै नेवि सङ्घका नेता दीपक भट्टराईले कालोबजारी, महँगी र शैक्षिक माफियालाई नियन्त्रण गर्न सरकारले चासो नदिएको भन्दै सरकारको आलोचना गरे।
अर्को नेता लिलाबल्लभ दाहाल (काका)ले कालाबजारीको संरक्षणमा सरकार लागेको भन्दै विद्यार्थी नै बजारको अनुगमनमा जाने बताए। उनले सरकारले भूकम्पपीडित जनताको नाममा केही गर्न नसकेको आरोप लगाए।
नेवि सङ्घ काठमाडौंका अध्यक्ष मनोज वैद्यले सरकारले आफ्ना माग नसुने देशव्यापी आन्दोलन गर्ने बताए।