चीनको गोन्सु प्रान्तको राजधानी लाञ्झाउबाट रेलमार्फत सिगात्सेसम्म सामान ल्याउने कामले निरन्तरता पाएमा यसले नेपाल-चीन ब्यापारले फड्को मार्ने व्यवसायीहरु बताउँछन्। तर यो रेल लाञ्झाउबाट नियमित आउन लागेको हो कि होइन भन्नेमा धेरै मानिस अलमलमा छन्।
हिमाल सीमापार वाणिज्य संघका महासचिव अर्जुनप्रसाद गौतमका अनुसार केरूङमा नेपालका लागि मात्रै भनेर गेलुङ पोर्टमा छुट्टै यार्डको निर्माण गरेको छ। यसरी छुट्टै यार्ड निर्माण भएसँगै चीनले अब निरन्तर रुपमा नेपालको सामान लाञ्झाउ हुँदै रेलमार्फत सिगात्सेसम्म आउने व्यापारीहरूको विश्वास छ। यो रेलसेवा चालु हुनुभन्दा अघि यात्रुबाहक रेल मार्फत तिब्बतको ल्हासा हुँदै नेपालमा सामान भित्रने गर्थ्यो। अघिल्लो हप्ता लाञ्झाउबाट सिगात्सेसम्म मुलत: मालबाहक रेल आएको थियो। यो रेलमा यात्रु पनि बोक्न मिल्थ्यो।
तर यो रेलसेवा कति कति दिनमा लाञ्झाउबाट सिगात्से आउँछ भन्ने बारेमा भने अझै निर्क्यौल भइनसकेको गौतमले बताए। यसको प्रभावकारिताको अध्ययन पश्चात मात्रै कति कति दिनमा रेल आउँछ थाहा हुने उनले जानकारी दिए।
‘चिनियाँ पक्षले यसको प्रभावकारिताको अध्ययन गर्दैछ, यसपछि मात्रै कति-कति दिनमा रेल छुट्छ भन्ने थाहा हुन्छ’, उनले भने।
वाणिज्य मन्त्रालयका प्रवक्ता रविशंकर सैजुले भने यो रेलसेवा परीक्षण मात्रै भएको बताए। परीक्षण पश्चात मात्रै नियमति रेलमार्फत नेपालमा सामान आउँछ या आउँदैन भन्ने बारेमा टुंगो लाग्ने उनले बताए।
उनले भने ‘यो एकपटकका लागि मात्रै परीक्षण गरेको हो,नियमित आउँछ भन्नेबारे हामीलाई केही कुनै जानकारी आएको छैन।’
चिनियाँ रेलबारे सरकारी अधिकारीहरूको धारणा नै फरक फरक छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले अब रेलमार्फत सिगात्सेसम्म नियमित सामान आउने बताए। ‘यसको प्रभावकारिता परीक्षण होला तर यो नियमित रूपमा नै सञ्चालन हुन्छ यसमा हामी ढुक्क हुनपर्छ।’
नेपाल चेम्बर अफ कमर्सका महासचिव कमलेश कुमार अग्रवालले चीनको सिगात्सेबाट रेलमार्फत सामान नेपालमा भित्र्याए यसले भारततर्फको निर्भरतामा कमी ल्याउने बताए।
साथै उनले अब नियमित रुपमा चीनबाट रेलमा नेपाल सामान आउने जानकारी दिए। चीनले सन् २०२० सम्ममा केरुङसम्म रेल ल्याउने तयारी गरिरहेको छ।
काठमाडौं र लाञ्झाउ भगिनी शहर घोषणा भएको उपलक्ष्यमा सामान बोकेको रेल त्यहाँबाट सिगात्से आएको हो। यो रेल आउने कुरा नेपालका अधिकारीलाई थाहा थिएन। भगिनी शहर घोषणा भएको समारोहमा भाग लिन लाञ्झाउ पुगेका काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले नेपाल लक्षित रेलसेवा पनि त्यही दिन शुरु हुने कुरा आफूले त्यहीँ गएर थाहा पाएको सेतोपाटीलाई बताए।
गत बिहिबार लाञ्झाउबाट सिगात्सेसम्म कन्टेनरमा आएका सामान बुधबार बेलुका चीनकै ट्रक मार्फत केरुङ नाकामा आएको थियो। त्यसमध्ये १० वटा कन्टेनरको सामान नेपालको ट्रकमा लोड गरिसकिएको र चिनको भन्सार नाकामा कर सम्बद्ध काम भइरहेको केरूङ भन्सार कार्यालयका प्रमुख केदार प्रसाद पनेरुले जानकारी दिएका छन्।
सिगात्सेसम्म दुई हजार दुई सय किलोमिटर, त्यसपछि ५ सय ४० किमी सडक मार्ग हुँदै सिगात्सेबाट केरूङसम्म र केरूङबाट १६० किमी दुरी पार गर्दै चीनबाट आएका सामान काठमाडौँसम्म आइपुग्छन्। यसरी सामान ढुवानी गर्दा चीनबाट भारतको बाटो हुँदै समुद्रबाट ल्याइने समयभन्दा ३५ दिन छिटो आइपुग्ने व्यवसायीहरु बताउँछन्। यो रेलले एकपटकमा ४३ वटा कार र ८६ वटा कार्गो कन्टेनर बोक्न सक्छ।