माओवादी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका पूर्वनेता बाबुराम भट्टराईलाई ‘नयाँ शक्ति’ छोडेर एकता प्रक्रिया पछि बनेको नयाँ माओवादीमा आउन आव्हान गरेका छन्।
बिहीबार राजधानीमा भएको एकता कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘आज यसै मञ्चबाट बाबुरामजीलाई पनि एकतामा आउन आव्हान गर्छु। उहाँ अलग्गै रहेर सुख पाउने स्थिति पनि छैन,’ प्रचण्डले भने, ‘नयाँ शक्ति छाड्नुहोस् र नयाँ माओवादीमा आउनुहोस्।’
प्रचण्डले मोहन वैद्य एकता प्रक्रियामा नआउनु दुखद भएको भन्दै उनलाई पनि ढिलो चाँडो एकतामा आउन अनुरोध गरेका थिए।
अब एकता प्रक्रिया सँगै माओवादी बलियो भएको बताए। ‘पराजयका दिन सकिए, विजयका दिन सुरू भए,’ उनले भने, ‘माओवादीलाई कमजोर पारेर राजतन्त्र फर्काउन सपना देख्नेका निम्ति मृत्युको दिन सुरू भयो।’
नयाँ गठन भएको पार्टीको नाम नेकपा माओवादी केन्द्र राखिएको छ। एकतामा एमाओवादी, मोहन वैद्यबाट फुटेका राम बहादुर थापा समूह, मात्रिका यादव समूह र मणि थापा समूहसहित १० वटा माओवादी पार्टीको सहभागिता छ। नयाँ पार्टीको केन्द्रीय समिति ६९९ जना हुनेछन्।