प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र नेपालमा नै पेट्रोल उत्पादन गरेर देखाउने दाबी गरेका छन्।
प्रधानमन्त्री ओलीले नेकपा एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारीको ८ औं राष्ट्रिय अधिवेशनको विहिवार काठमाडौमा उद्घाटन गर्दै दक्षिणबाट पेट्रोल ल्याउँदा हैरान भएकाले दुई वर्षभित्र नेपालले आफैं पेट्रोल उत्पादन गरेर देखाउने बताए।
भारतले नाकाबन्दी लगाएपछि सरकारले चीनबाट इन्धन ल्याउने प्रक्रिया अगाडि बढाएकामा प्रधानमन्त्री ओलीले अब चीनबाट पेट्रोल ल्याउने इच्छा नगर्ने बरु नीति र कार्यक्रमसहित योजनाबद्ध रुपमा दुई वर्षभित्र नेपालमा नै पेट्रोल उत्पादन गर्ने बताए।
प्रधानमन्त्री ओलीले पेट्रोल उत्पादनका लागि दैलेखमा सर्वेक्षणको काम सुरु भइसकेको बताए। उनले रेल चलाउने, पाइपलाइनमार्फत ग्याँस बाँड्ने तथा सडक चौडा पार्ने लगायतका विकास निर्माणका कुरा गर्दा बुद्धिजिवीहरूले आफ्नो आलोचना गरेको गुनासो गरे। उनले आफू अहिले आम जनताबाट भन्दा केही तथाकथित बुद्धिजिवीको आलोचनाबट हैरान भएको बताए। प्रधानमन्त्री ओलीले नेपालले आफ्नै पानीजहाज चलाउने भनेर आफूले गरेको घोषणाको आलोचना भएकाप्रति गुनासो गरे।
उनले समुद्रसँग नजोडिएका संसारका धेरै मुलुकले पानीजहाज चलाइरहेको भन्दै भारत र चीनसँग पारवहन सम्झौता गरेका नाताले नेपालले पनि आफ्नै पानीजहाज चलाएर सामान ढुवानी गर्न सक्ने बताए।
कार्यक्रममा लोकगायक बद्री पंगेनीले गीतमार्फत सिगात्सेको रेल र चीनको इन्धन कहिले आउँछ भनेर प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका थिए।
लोकगायक पंगेनीले श्रमजिवी पत्रकारले सरकारले तोकेको न्युनतम पारिश्रमिक १९ हजार ५ सय रुपैयाँ कहिलेबाट पाउँछन् भनेर समेत प्रश्न गरेकामा प्रधानमन्त्री ओलीले महिना मरेपछि भनेर जवाफ दिए।
कार्यक्रममा प्रेस चौतारीले नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेलाई हृदयचन्द्र सिंह पत्रकारिता पुरस्कार, देवराज अर्याललाई अग्नी शिखा स्मृति पत्रकारिता पुरस्कार, दिलिपकुमार सिंहलाई वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार तथा यज्ञराज थापालाई डेकेन्द्रराज थापा स्मृति पत्रकारिता पुरस्कार प्रदान गरेको थियो।
प्रेस चौतारीको अधिवेशन तीन दिनसम्म चल्ने छ । नयाँ नेतृत्व चयन गर्ने अधिवेशनमा ७ सय भन्दा बढी पत्रकार सहभागी छन् ।