पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहानमा मंगलबार राति तीन वटा मोटरसाइकल एक अर्कासँग ठोक्किँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते रहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।
लहान नगरपालिका-१२ स्थित राजमार्गमा राति सवा ९ बजेतिर स२प ६७, स३प १६० र स३प ९२०८ नम्बरको मोटरसाइकलहरु एक आपसमा ठोक्किएका थिए।
लहान नगरपालिका-८ की ४५ वर्षीय नुजा सदाय, सिरहा असनपुर-७ का ३५ वर्षीय रामआसिस पासवान, गोलबजार नगरपालिका-६ का १८ को विवेश सिंह र सप्तरी बरमपुर-३ का ५५ वर्षीय लक्षमण रामको उपचारका क्रममा लहान अस्पतालमा राति १० बजे मृत्यु भएको लहानका डिएसपी राजकुमार केसीले जनाए।
सप्तरी बेलकवा-४ बस्ने ३५ वर्षीय सर्वेस गोश्वामीको अवस्था गम्भीर छ। उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको प्रहरीले जनाएको छ।
डिएसपी केसीका अनुसार पूर्व-पश्चिम राजमार्गको भुटिया टोलमा पहिला दुई मोटरसाइकल जुधेका थिए। पछाडिबाट आइरहेको मोटरसाइकल दुर्घटना भएकै मोटरसाइकलमा जुधेपछि थप क्षति भएको केसीले बताए।
तराईमा मंगलबार राति हावाहुरीपछि पानी परेको थियो। उनका अनुसार हावाहुरी रोकिएपछि सडकमा मोटरसाइकल हुइँकिएका थिए। तीब्र गतिमा रहेका तीन वटै मोटरसाइकल जुध्न पुगेका थिए। ‘हावाहुरी रोकिएको मौकामा तीब्र गतिमा दौडिएका दुई मोटरसाइकल अनियन्त्रित भएर जुधेको देखिन्छ,’ केसीले भने, ‘पछाडिबाट आइरहेको अर्को मोटरसाइकल पनि त्यसैमाथि जुधेको हो।’