प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसको विरोधका वाबजुद् काठमाडौ-तराई फास्ट ट्रयाक सरकारको लगानीमा बनाउन बताए।
मंगलबार काठमाडौमा अखिल नेपाल महिला संघको राष्ट्रिय परिषद्को पहिलो बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले फास्ट ट्याक मात्र होइन केही वर्षभित्र पानीजहाजसमेत चलाएर देखाउने दाबी गरेका छन्।
‘आफूले फास्ट ट्रयाक र रेलको योजना अघि सार्दा विपक्षीहरु आत्तिए पनि सरकार आफ्ना उद्देश्यतिर केन्द्रित भइरहेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘चीनसँग कुन बन्दरगाह चलाउने भन्ने निर्णय भएको छैन, यद्यपी नेपाली पानी जहाज चलाएरै देखाउने छौ।’
आफ्नै पानी जहाज किन्ने बताउँदै प्रधानमन्त्रीले भने, ‘पानीजहाज प्रयोग भएको बन्दरगाह प्रयोग गर्नेमात्र होइन, नेपालले आफ्नो पानीजहाज प्रशान्त र हिन्द महासागरमा चलाउनु हुँदैन भन्ने केही छैन आफ्नै पानी जहाजमा हामी सामान ल्याउँछौ र आफ्नै रेलमा सामान तीन दिनमा काठमाडौं आइपुग्छ।’
उनले समुद्रमा नेपाली झण्डा अंकित पानी जहाज चलाउने बताउँदै भने, ‘हिन्द महासागर र प्रशान्त महासागरमा नेपाली झण्डा गाडेका पानी जहाज चल्छन्, अरुले गाड्छन् गाड्दैनन् हामी गाड्छौं,’ उनले भने, ‘पानी भएपछि पानी जहाज चलाउन किन नहुने के छ ?
यस्तै ओलीले आगामी आर्थिक वर्ष ६ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेर देखाउने दाबी गरेका छन्।
चालु आर्थिक वर्षको वृद्धि १ प्रतिशत भन्दा तल खुम्चिने अनुमान गरिएकामा प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्ष कम्तिमा ६ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि हासिल गरेर देखाउने दाबी गरे।
प्रधानमन्त्री ओलीले मंगलबार काठमाडौमा अखिल नेपाल महिला संघको राष्ट्रिय परिषद्को पहिलो बैठकको उद्घाटन गर्दै कम्तिमा ६ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्नका लागि सरकारले घरघरमा रोजगारी सिर्जना गर्ने गरी बजेट ल्याउने तयारी गरिरहेको बताए।
उनले आगामी आर्थिक वर्षलाई आर्थिक समृद्धि र उन्नतिको प्रस्थान वर्ष बनाइने बताए।
प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले बजेटमार्फत वाहीवाही बटुल्ने कार्यक्रम ल्याउने सुईंको पाएर प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस सरकार ढाल्ने प्रयासमा लागेको बताए। उनले नीति तथा कार्यक्रममा आलोचना गर्ने ठाउँ फेला नपारेर काँग्रेसले महत्वाकांक्षी कार्यक्रम भनेर विरोध गरेको भन्दै सरकार ढाल्ने काँग्रेसका प्रयासलाई सफल हुन नदिने बताए।
प्रधानमन्त्री ओलीले आफूले पार्टीको प्रमुख तथा मुलुकको प्रमुख कार्यकारीको जिम्मेवारी सम्हालेपछि राष्ट्रिय स्वाभिमानमा कसैले पनि प्रश्न उठाउने नसक्ने अवस्था सिर्जना भएको भन्दै गुटगत भेला गरेर असहयोग नगर्न माधव नेपाल पक्षीय नेताहरुसँग आग्रह गरे। अखिल नेपाल महिला संघको राष्ट्रिय परिषद्को पहिलो बैठक बुधबारसम्म चल्ने छ।