भूकम्पपीडितको तथ्याङ्क सङ्कलन गर्न गोरखाको पालुङ्टार नगरपालिकास्थित च्याङ्ली गाउँमा खटिनुभएका इञ्जिनियर अर्जुन शाहले भूकम्पपीडितसँग आफूले घुस नमागेको प्रस्ट पारेका छन्।
विसं २०७३ जेठ २ गते प्रकाशित ‘इञ्जिनियरले घुस मागे, नदिएपछि नाम छुटाइदिए भूकम्पपीडित’ शीर्षकको समाचारको खण्डन गर्दै इञ्जिनियर शाहले भने, ‘अरुले आरोप लगाएको भरमा सत्यतथ्य नखोजी समाचार लेखिँदा कसरी प्रताडित भइँदोरहेछ भन्ने मैले अहिले भौग्दै छु।’
‘च्याङ्लीका भूकम्पपीडित होमनाथ पाण्डेले भत्केको गोठलाई भत्केको घरका रुपमा सर्वेक्षण गर्न दबाब दिनुभएको हो जुन मैले स्वीकार गरिनँ। त्यसपछि उहाँले आफन्तमार्फत विभिन्न प्रलोभन पनि दिनुभयो। तर एउटा इमान्दार परिवारको सदस्य अनि आफ्नो भविष्य बनाउन तथा राष्ट्र निर्माणका लागि प्रतिबद्ध भएर फिल्डमा खटेर आएको एक युवा इमान्दार विद्यार्थीले त्यस्ता प्रलोभन स्वीकार गर्ने कुरा नै भएन। म लगायतका साथीहरू त्यो क्षेत्रबाट चैत १४ गते नै फर्किएर काठमाडौँमा आ–आफ्नो काममा लाग्यौँ । अहिले डेढ महिनापछि मैले घुस मागेको कुरा कहाँबाट आयो म चकित र स्तब्ध छु,’ उनले भनेका छन्।
समाचारमा उल्लिखित अर्का भूकम्पपीडित रत्नराज कँडेल २०३५ सालदेखि नै काठमाडौँतिर बस्दै आए पनि स्थायी बासिन्दाले पाउने कार्ड माग्नुभएको शाहले दाबी गरेका छन्। ‘जहाँसम्म रत्नराज कँडेलको कुरा छ, उहाँ आफ्नो घर छाडेर २०३५ सालमा नै काठमाडौँतिर बस्नुहुँदो रहेछ, र उहाँको घरमा अन्य परिवार नै बस्नु हुन्छ तर कँडेलजीले स्थायी बासिन्दाले पाउने कार्ड माग्नुभएको थियो, जुन नियमअनुसार नमिल्ने भएपछि दिएनौँ । त्यसपछि उहाँ रुष्ट हुनुभएको हो’ – खण्डनमा भनिएको छ ।
साथै सर्वेक्षकको काम इन्जिनियरले मात्र नगर्ने बताउँदै शाहले सामाजिक परिचालक स्थानीय विद्यालयका प्रधानाध्यापक बाबुराम देवकोटा साथै रहेको जानकारी पनि दिए।
तर, च्याङ्लीका भूकम्पपीडित होमनाथ पाण्डे, कृष्ण पाण्डे र रत्नराज कँडेलले नभत्किएका घरलाई अनुदान पाउन योग्य बनाई सर्वेक्षण गरेको र आफूहरुको भत्किएको, चर्किएको घरलाई अनुदान पाउन अयोग्यका रुपमा सर्वेक्षण गरिएको भन्दै आपत्ति जनाएका छन्।
‘मेरो घर भत्किएको हो, होइन जस्तो लाग्छ भने अनुगमन गर्न आए हुन्छ, गोठलाई घरका रुपमा सर्वेक्षण गर्न लगाएको होइन, घर नै भत्किएको छ,’ होमनाथले भने,‘ढुङ्गाले छाएको भुइँतलासमेत गरी तीन तले मेरो घर चर्केर बस्न नमिल्ने भएको छ ।’
“हाम्रो वडामा मेरो र भतिजा (कृष्ण) को लाभग्राहीको सूचीमा नाम निस्किएन,” उनले भने – “इञ्जिनियरले नियतबश हाम्रो भत्किएको घरलाई छुटाइदिनुभयो ।” लाभग्राहीको सूचीमा आफूहरुको नाम छुटेपछि प्रमुख जिल्ला अधिकारी समक्ष गएर गुनासो गरेको उनले बताए।
अर्का भूकम्पपीडित रत्नराजले आफ्नो नाउँमा च्याङ्लीबाहेक अन्यत्र घर, घडेरी नभएको बताए।
‘इञ्जिनियर साबले रत्नराज २०३५ सालमा गाउँ छाडेर काठमाडौँतिर बस्नुभएको भन्नुभएको रहेछ, त्यस्तो होइन, म २०३३ (नागरिकतामा २०३०) सालमा जन्मेको मान्छे हुँ, त्यति सानोमा म किन घर छाडेर हिँड्ने?’ उनले भने– ‘२०६८ सालदेखि मलेखुमा कोठा भाडा लिएर व्यापार गर्दै आएको छु । भुइँचालोले घर चर्केपछि बुबाआमाले गाउँ छाड्नुभएको हो ।” केही समयअघि भाउजूको निधन हुँदा च्याङ्लीकै घरमा गएर काजकिरिया गरिएको उनले बताए।
भूकम्पले घर चर्केपछि सरकारले दिएको रु २५ हजार राहत पाएको उनले जानकारी दिए। तर लाभग्राहीको सूचीमा नाम नपरेको उनको भनाइ छ। पालुङ्टार नपा १, २ र ३ वडाका भूकम्पपीडितहरु आफ्नो नाम लाभग्राहीको सूचीमा प्रकाशित नभएपछि गाडी रिजर्भ गरेर प्रजिअ नारायणप्रसाद भट्ट समक्ष गुनासो गर्न आएका थिए। सोही क्रममा उनीहरुले इञ्जिनियरले वास्तविक पीडितको नाम सर्वेक्षणमा छुटाएको आरोप लगाएका हुन्।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले लाभग्राहीको सूचीमा नाम छुटेकाहरुले प्रमाणसहित निवेदन दिनसक्ने बताए। रासस