फाइल तस्बिरः रासस
काठमाडौं उपत्यकामा खानेपानी हाहाकार तीब्र छ। उपत्यकामा खानेपानी आपूर्ति अहिले लगभग नभएकै अवस्था छ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले सातामा एक दिन वा दुई सातामा एक दिन बाँडिरहेको छ। यसरी आउने खानेपानीबाट राहत नमिलेपछि यहाँका जनता अहिले जारको पानी किनेर खाइरहेका छन्।
बहुचर्चित मेलम्ची खानेपानी आयोजना समयमै सम्पन्न हुन नसक्नुले पनि काठमाडौंको खानेपानी आपूर्तिलाई थप प्रभावित पारिरहेको छ। खुरुखुरु खन्न सके एक वर्षमा सुरुङ तयार हुने र अन्य सबै प्राविधिक कुरा मिलाउँदा अर्को एक वर्ष लाग्ने भएकाले अबको दुई वर्ष राजधानीबासीले मेलम्चीको पानी पर्खिनुपर्ने सम्बद्ध अधिकारीले जनाएका छन्।
केयुकेएलका अनुसार अहिले दैनिक ८ करोड लिटर खानेपानी वितरण भइरहेको छ। उपत्यकाको खानेपानी माग दैनिक ३७ करोड लिटर हो। केयुकेएलका प्रवक्ता मिलन शाक्यका अनुसार उत्पादन एकदमै कम र माग बढी भएकाले काठमाडौंको खानेपानी आपूर्ति एकदमै समस्याग्रस्त छ।
‘उत्पादन कम छ, मागको एक चौथाई मात्र उत्पादन भइरहेको छ,’ शाक्यले भने, ‘समय तालिका बनाएर पानी वितरण गरिरहेका छौं।’ उनका अनुसार सातौं र चौध दिनको समय तोकेर उपत्यकामा केयुकेएलले खानेपानी आपूर्ति गराइरहेको छ।
त्यसबाहेक कहिलेकाहीँ विकल्पको रुपमा ट्याङकरबाट पालो मिलाएर वितरण गर्ने गरेको छ। तर मान्छेको भीड थेग्न नसकेपछि ट्याङकरबाट पनि पानी आपूर्ति खासै हुन सकेको छैन।
‘सातौं दिन नभए चौध दिनमा एकपटक चाहिँ आउँछ,’ उनले भने। केयुकेएलका पैंतीस ठाउँमा पानीका स्रोत छन्, उपत्यकाभरि ५९ स्थानमा ट्युबेल छन्। केयुकेएलका अनुसार यतिले यहाँको माग धान्न सक्दैन।
‘हाम्रो स्रोतको उत्पादनको क्षमता नै त्यति हो,’ शाक्यले भने, ‘मेलम्ची खानेपानी आउन ढिलो भएका कारण पनि खानेपानी हाहाकार भएको हो।’
उनका अनुसार जमिनमुनिको पानी सुख्खा मौसममा घट्दै जाने भएका कारण ट्युबेलमा पनि पानी आउँदैन। पहिलेको तुलनामा जमिनमुनिबाट राजधानीमा पानी धेरै कम आउन थालेको शाक्य बताउँछन्।
ठूलो सहरमा प्रतिव्यक्ति २५० लिटर पानी हुनुपर्छ भन्ने सामान्य मान्यता छ। मेलम्ची खानेपानी नै आए पनि त्यो चाहिँ सम्भव छैन।
मेलम्ची खानेपानी आयोजना आइपुग्न अझै दुई वर्ष कुर्नुपर्ने छ। आयोजनाका अनुसार वैशाख मसान्तसम्म १६.३ किलोमिटर सुरुङ खन्ने काम सकिएको छ। मेलम्चीको सुरुङ जम्मा २७.५८३ किलोमिटर हो।
आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर राजेन्द्रप्रसाद पन्तका अनुसार मेलम्चीको सुरुङमात्रै खन्ने काम ४१ प्रतिशत बाँकी छ। ‘हामीले चैत र वैशाखमा जुन रफ्तारमा सुरुङ खनेका थियौं त्यही तरिकाले खन्ने हो भने एक वर्षजतिमा सकिन्छ,’ पन्तले भने, ‘बीचमा अप्ठेरो आइलाग्यो भने त भन्न सकिन्न।’
अन्डरग्राउन्ड कन्स्ट्रक्सनको भौगोलिक अवस्था फरक–फरक हुने भएकाले निर्माण कार्य सहज नरहेको पन्तले बताए। ‘एक वर्षमा हामी सुरुङ खनिसक्छौं,’ उनले भने, ‘अरु सबै प्राविधिक कुरा मिलाउँदा अर्को एक वर्ष चाहिँ लाग्छ।’
मेलम्ची खानेपानी आयोजना काठमाडौं आए दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने विश्वास गरिएको छ। तर यसले पनि उपत्यकाको माग धान्दैन।
मेलम्चीले नै अर्को ३४ करोड लिटर खानेपानी उत्पादन गर्ने तयारी पनि थालेको जनाएको छ। यदि त्यो सम्भव भएको खण्डमा दैनिक ५१ करोड लिटर खानेपानी आपूर्ति हुन्छ। त्यति हुँदा चाहिँ उपभोक्ताले सहज तरिकाले पानी पाउँछन्।
पन्तका अनुसार मेलम्चीभन्दा अगाडि दुई वटा नदीमा सुरुङ खन्नका लागि आवश्यक अध्ययन भइरहेको छ। याङ्ग्री र लार्के नदीबाट ३४ करोड लिटर खानेपानी उत्पादन गर्ने लक्ष्य मेलम्चीको छ।
पन्तका अनुसार ३४ करोड लिटरको उक्त आयोजनाको यही वर्ष अध्ययन प्रतिवेदन तयार भएपछि कन्ट्र्याक्टको चरणमा जान्छ र काम थालिन्छ। यी दुई खोलामा ११ किलोमिटरका दुई सुरुङ खन्नुपर्छ।
एउटा खोलामा एक र अर्कोमा दस किलोमिटर सुरुङ खन्नुपर्ने छ। वर्षमा चार/पाँच किलोमिटर खन्न सके दुई वर्षभित्रमा सुरुङ खनिसक्ने अनुमान छ । ‘वर्षमा नौ किलोमिटर खन्ने लक्ष्य हुन्छ तर बीचमा विभिन्न अवरोध आइपर्छन्, भुइँचालोले पनि धेरै समस्या पारिरहेको छ,’ पन्तले भने।
मेलम्ची खानेपानी आयोजना २०६७/६८ मा सुरु हुने भनिएको थियो। तर चिनियाँ कम्पनीसँग भएको ठेक्का सम्झौता रद्द भएपछि इटालीको नयाँ कम्पनीले २०६९/७० बाट काम थालेको थियो।
मेलम्चीले अहिले साढे ८ करोड लिटर क्षमताको पानी प्रशोधन केन्द्र पनि सुन्दरीजलमा बनाइरहेको छ। यो सम्पन्न हुने क्रममा छ। ५१ करोड लिटर क्षमताको अर्को प्रशोधन केन्द्र पनि बनाउने तयारी रहेको पन्तले जानकारी दिए।
भूगर्भविदका अनुसार तीब्र सहरीकरण र पानीको अत्यधिक दोहनका कारण हिजोआज जमिनमुनिबाट पनि खानेपानी मुस्किल परिरहेको छ।
भूगर्भविद डा. सुरेश श्रेष्ठका अनुसार राजधानीको जमिनमुनिबाट खानेपानी निकाल्न अहिले धेरै गहिरो खन्नुपर्छ। कति गहिरो खन्ने भन्ने चाहिँ ठाउँ अनुसार फरक पर्ने उनी बताउँछन्।
उनका अनुसार तीस चालीस वर्षअगाडि घरैपिच्छे इनार खन्दा तीनदेखि छ फिटसम्ममा खानेपानी भेटिन्थ्यो। अहिले तीसदेखि चालीस फिट गहिरो खन्नुपर्छ। पानी परेको समयमा पनि १९/२० फिट गहिरो नखनी पानी आउँदैन।
‘यहाँको जमिनमुनि पानी नभेटिनुमा पानीको दोहन र जनसंख्या बृद्धि हो,’ उनले भने। श्रेष्ठका अनुसार परेको पानी नै जमिनमुनि पुग्ने हो। अहिले पक्की संरचनाका कारण जमिनमुनि पानी छिर्न पाउँदैन। कौसीमा झरेको पानी पनि ढलमा मिसाउने गरेका कारण जमिनमा पानी धेरै पुग्न नपाउने तर्क उनको छ।
श्रेष्ठका अनुसार बोरिङ गर्दा ३० मिटर गहिरो खनेर पानी निकाल्नु परिरहेको छ। त्यो पनि एक डेढ वर्ष पानी आएर बन्द हुने समस्या छ। साधारणतया चार महिना पानी पर्छ, त्यो पानीले आठ महिना धान्नुपर्ने अवस्था छ। तर हिजोआज पुरापुर चार महिना पानी नै पर्दैन, खडेरी र सुख्खायाम बढी छ।