पाँचथर सदरमुकाम फिदिमस्थित मेची बोर्डिङ स्कुलमा सोमबार शिक्षक र बिद्यार्थीविच कुटाकुट भएको छ। विद्यालय प्रशासनले त्यहाँ कार्यरत नेपाली शिक्षक बलराम कोइरालालाई हटाएर बिज्ञान शिक्षक जिमी याख्खाकी श्रीमती माया राईलाई भर्ना गरेको विषयमा विद्यार्थीले असन्तुष्टि पोखेपछि चुलिएको बिबाद साम्य नहुँदा कुटा–कुटसम्मको स्थिति सिर्जना भएको हो।
केही दिनअघि विद्यालय प्रशासनले नेपाली शिक्षक कोइरालालाई हटाएर बिज्ञान शिक्षक याख्खाकी श्रीमती माया राईलाई नियुक्ती गरेको थियो। सोही विषयमा कक्षा १० का छात्र–छात्राले पुराना शिक्षक हटाउँदा पठन पाठनमा समस्या हुने भन्दै हटाउन नमिल्ने भनेपछि बिवाद मिलाउन सोमवार बिहान विद्यालय प्रशासन र शिक्षक स्टाफहरूको बैठक बोलाइएको थियो।
बैठक चलिरहेकै बेला बिद्यार्थीहरुले शैक्षिक सत्र चलिरहेका अवस्थामा शिक्षक परिवर्तत गर्दा समस्या हुने विषयमा जोड दिएपछि बिज्ञान शिक्षक जिमी याक्खाले कक्षा १० का बिद्यार्थी डेनिस विष्टलाई लखेटेर कुटपीट गरेको प्रत्यक्षदर्शीको भनाई छ। उता विद्यालय प्रशासनले भने विष्ट सहितका केही विद्यार्थीहरुले याख्खा सरलाई ट्वाइलेट गएको मौका पारी हातपात गर्न खोजेपछि समस्या भएको बताएको छ।
ती शिक्षकले डेनिससहित थप २ जना विद्यार्थीलाई कुटपिट गर्नुका साथै लात्तीले हानेपछि अन्य विद्यार्थीहरु समेत भई शिक्षक याख्खाबिरुद्ध प्रतिकार गर्दा विद्यालय क्षेत्र तनावग्रस्त भएको थियो। तनाव बढेपछि बिद्यालय प्रशासनले स्कुल नै बिदा गरेर मिलाउन कोशिश गरेको थियो। घट्नापछि विद्यालय पुगेका अभिभावक समक्ष शिक्षक याख्खासहित विद्यालय प्रशासनले गल्ती भएको स्वीकार्दै माफी मागेको थियो।
विवाद टुंगोमा भने नपुगेको बिद्यालयका सहायक प्रिन्सिपल कुलराज लिम्बूले जानकारी दिए। शिक्षककै गल्तीका कारण यस्तो घट्ना भएको उनको भनाई छ । विद्यालयकी प्रिन्सिपल सीता सेलिङ भने पूर्ण समय माग्दा शिक्षक कोइरालाले समय दिन नसकेपछि विद्यार्थीको हितमा अर्को दक्ष एम.एस.सी. शिक्षकको व्यवस्था गरिएको बताइन्। कोइराला पाँचथर क्याम्पसका सहप्रध्यापक समेत हुन्।