सिन्धुपाल्चोक जिल्लाको पाङ्ग्रेटार गाविस–६ लामोसाँघुमा आज बिहान एक पुरुषको बेवारिसे शव फेला परेको छ ।
अरनिको राजमार्गबाट १०० मिटर तल कच्ची सडकमा सो शव फेला परेको हो ।
अन्दाजी ३०-३५ वर्ष जतिको देखिने पुरुषको टाउकोमा गहिरो चोट लागेको देखिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डेले बताए ।
उहाँका अनुसार घटनास्थलमा रगत लागेको दाउराको चिर्पट फेला परेकाले हत्या भएको हुनसक्ने अनुमान गरिएको छ ।
घटनामा संलग्न हुनसक्ने अनुमानमा एक महिलालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस