पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रामपुर-८ स्थित रुपनीमा बसको ठक्करबाट अाइतबार साँझ एक बालिकाको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छिन्।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा२ख ६५८० नम्बरको बसले सडकमा हिँडिरहेका पैदलयात्री रामपुर-८ निवासी हिरा थापा र निजकी तीन वर्षीया छोरी शिखालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बसको ठक्करबाट गम्भीर घाइते भएकी शिखाको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा बीचबाटोमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
सोही बसको ठक्करबाट गम्भीर घाइते हिरालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा पठाएको प्रहरीले जनाएको छ। रासस